कृत्रिम बौद्धिकताको युगमा किन खस्कँदै छ मानव बौद्धिक क्षमता?
जसरी एआई एजेन्टहरूले जटिल बौद्धिक कामहरू सम्हालिरहेका छन्, ठीक त्यसैगरी ती कामहरू गर्ने हाम्रो आफ्नै क्षमता भने कमजोर बन्दै गएको छ। नयाँ अध्ययनहरूले एआईले बौद्धिक संलग्नतालाई कम गर्न सक्ने देखाएका छन्, जसमा एआईको सहायतामा काम गर्दा आलोचनात्मक सोच कम हुने र स्नायु प्रणालीको आपसी सम्बन्ध कमजोर बन्ने पाइएको छ।
आधुनिक इतिहासमा कृत्रिम बौद्धिकता (एआई) जति तीव्र गतिमा फैलियो, त्यति छिटो अरू कुनै पनि प्रविधि फैलिएको थिएन। च्याटजीपीटी सार्वजनिक भएको तीन वर्षभित्रै विश्वको ५३ प्रतिशत जनसंख्याले जेनेरेटिभ एआई प्रयोग गर्न थाले, जुन व्यक्तिगत कम्प्युटर र इन्टरनेटको दाँजोमा धेरै छिटो हो।
त्यस्तै, गत वर्ष संगठित क्षेत्रमा यसको प्रयोग ८८ प्रतिशत पुग्यो। एआईमा भइरहेको विश्वव्यापी कर्पोरेट लगानी दोब्बरभन्दा बढीले बढेको छ, जसको ठूलो हिस्सा डाटा सेन्टर र पावर ग्रिडजस्ता भौतिक पूर्वाधारमा खर्च भइरहेको छ।
तर, एआईप्रतिको शंका पनि उत्तिकै तीव्र गतिमा बढ्दै गएको छ। एस.एन्ड.पी. ग्लोबलको एक सर्वेक्षणअनुसार सन् २०२५ मा ४२ प्रतिशत कम्पनीले आफ्ना अधिकांश एआई परियोजनाहरू बन्द गरे, जुन अघिल्लो वर्ष १७ प्रतिशत मात्र थियो।
त्यस्तै, पिडब्ल्युसीको हालैको एक जनमत सर्वेक्षणमा ५६ प्रतिशत प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरूले एआईले आफ्ना कम्पनीहरूलाई कुनै पनि उल्लेखनीय फाइदा नपुर्याएको बताएका छन्। मानिसहरू आफ्नो टोल-छिमेकमा डाटा सेन्टर राख्न नदिन संगठित भइरहेका छन् भने एआईबाट पुग्ने हानिका घटनाहरू गत वर्ष ५५ प्रतिशतभन्दा बढीले बढेका छन्।
यद्यपि, सरकारहरूले अझै मूल्य आँकलन गर्न नसकेको यस प्रविधिका आधारमा आफ्ना औद्योगिक रणनीतिहरू फेरि लेखिरहेका छन् र डट-कम बूमको झल्को दिने गरी लगानीकर्ताहरूले यसैमा जोड दिइरहेका छन्। यस्तो बेलामा जिम्मेवार र नैतिक एआईको माग झन् चर्को बन्दै गएको छ।
आउँदो दिनमा जुनसुकै परिस्थिति आए पनि त्यसलाई जित्ने आशामा सबैले एआईको भविष्य पत्ता लगाउने प्रयास गरिरहेका छन्।
तर अति-आशावादी र अति-निराशावादी दुवै पक्ष एउटै किसिमको अल्पदृष्टिको शिकार भएका छन्। मानवताको भविष्य मुख्यतया, वा शायद पूर्ण रूपमा, एआईकै भविष्यमा निर्भर छ भन्ने दुवैको बुझाइ छ। तर वास्तविकता त्यस्तो छैन।
एकातिर आशावादी र निराशावादीहरू एआईको विकासतर्फ मात्र केन्द्रित हुँदा, उनीहरूले मस्तिष्क स्वास्थ्य र बौद्धिक सीपहरूमा आएको तीव्र गिरावटलाई भने पूरै बेवास्ता गरेका छन्।
मस्तिष्कको यो गिरावटले मानव क्षमतालाई कमजोर बनाउँदै लगेको छ, जसमाथि एआई लगायतका सबै प्रणालीहरू निर्भर छन्। मानसिक तथा स्नायुसम्बन्धी समस्याहरू, दुर्व्यवहारजन्य विकार, पक्षघात र आत्महत्याका घटनाहरूले हाल विश्वव्यापी रोगको भारको करिब एक चौथाइ हिस्सा ओगटेका छन्।
सन् १९९१ मा १८ करोड ७० लाख रहेको ६५ वर्षभन्दा माथिका डिमेन्सिया पीडित वृद्धवृद्धाको संख्या सन् २०२१ मा ४९ करोड पुग्यो र यो क्रम बढिरहेको छ। विश्व स्वास्थ्य संगठनले सन् २०२३ मा एक्लोपनलाई स्वास्थ्यको गम्भीर खतरा भनेर घोषणा गरे तापनि सरकारहरूले आफ्नो स्वास्थ्य बजेटको जम्मा दुई प्रतिशत मात्र मानसिक स्वास्थ्यमा छुट्याउने गरेका छन्।
बौद्धिक सीपहरू पनि तीव्र गतिमा खस्कँदै छन्। सीप तालिम दिने कम्पनी ‘जेनेरल एसेम्बली’ले सन् २०२५ मा गरेको सर्वेक्षणमा अधिकांश व्यावसायिक नेताहरूले प्रवेश तहका कर्मचारीहरू पाँच वर्ष अगाडिको तुलनामा आफ्नो कामका लागि कम तयार रहेको बताए, विशेष गरी नरम सीपको मामिलामा।
त्यस्तै, ओईसीडीको सन् २०२४ को वयस्क सीपसम्बन्धी सर्वेक्षणले (जुन वयस्कहरूको बौद्धिक क्षमताको अहिलेसम्मकै ठूलो प्रत्यक्ष मूल्यांकन हो) अधिकांश सहभागी देशहरूमा साक्षरता घटिरहेको वा स्थिर रहेको रेकर्ड गरेको छ। ओईसीडी देशहरूका करिब १८ प्रतिशत वयस्कहरूमा साक्षरता, अंकगणित र समस्या समाधानसम्बन्धी आधारभूत दक्षताको कमी छ।
विश्वविद्यालयको शिक्षा लिएका वयस्कहरूमा पनि अधिकांश सर्वेक्षण गरिएका देशहरूमा दक्षता घटेको वा स्थिर रहेको पाइएको छ। अन्तर्राष्ट्रिय विद्यार्थी मूल्यांकन कार्यक्रमको नयाँ तथ्याङ्कले पठन, गणित र विज्ञानमा विद्यार्थीहरूको प्रदर्शन ओईसीडीभरि नै घट्दै गएको देखाएको छ।
एआईले यी प्रवृत्तिहरूलाई झन् बढावा दिइरहेको छ।
एआईकाे जाेखिम
नयाँ अध्ययनहरूले एआईले बौद्धिक संलग्नतालाई कम गर्न सक्ने देखाएका छन्, जसमा एआईको सहायतामा काम गर्दा आलोचनात्मक सोच कम हुने र स्नायु प्रणालीको आपसी सम्बन्ध कमजोर बन्ने पाइएको छ। यसले प्रयोगकर्ताहरूलाई अत्यधिक भर पर्न पनि प्रेरित गर्छ, किनकि विरोधी प्रमाण वा आफ्नै विवेक हुँदाहुँदै पनि मानिसहरूले बेलाबेलामा गलत एआई आउटपुटहरू स्वीकार गर्ने गरेका छन्।
यसको अर्थ के हो, गम्भीर भएर सोच्नुपर्छ। जसरी मानव जातिले जटिल बौद्धिक कार्यहरू गर्न सक्ने मेशिनहरू विकास गर्यो, ती कार्यहरू गर्ने मानिसहरूको आफ्नै क्षमता भने कमजोर बन्दै गएको छ। बौद्धिक स्वास्थ्य र सम्बन्धित सीपहरू मापन गर्ने ‘ग्लोबल ब्रेन क्यापिटल इन्डेक्स’ ले के देखाउँछ भने, एआई पूर्वाधारमा खर्बौं डलर खर्च भइरहेको बेला मस्तिष्कको पुँजी घट्दै गएको छ ।
तर ती लगानीहरूले के हासिल गर्नुपर्छ भन्ने स्पष्ट खाका छैन। म्याकिन्से हेल्थ इन्स्टिच्युटको हालैको विश्लेषणअनुसार संयुक्त राज्य अमेरिकाले शिक्षादेखि स्नायुसम्बन्धी हेरचाहसम्म मस्तिष्क पुँजीमा वार्षिक करिब २६ खर्ब डलर खर्च गर्छ, तर त्यस खर्चको एक प्रतिशतभन्दा कम हिस्सा मात्र रोग रोकथाममा जान्छ। प्रारम्भिक हस्तक्षेप र अनुसन्धानमा पनि कम लगानी गरिएको छ।
प्रविधिको विकास मात्रले मानिसलाई स्वस्थ वा सक्षम बनाउँदैन। एआईको यो होडबाजीले जसरी परिणाम ल्याए पनि मस्तिष्क स्वास्थ्य र बौद्धिक सीपहरूलाई पुनर्संरचना गर्ने किसिमको सभ्यताव्यापी प्रयासबिना मानवताको भविष्य राम्रो हुने छैन।
यदि एआई यसका समर्थकहरूले दाबी गरेजस्तै शक्तिशाली बन्दै गयो भने मानव बुद्धिमत्ताको मूल्य झन् बढ्नेछ। जब एआई एजेन्टहरूले नियमित बौद्धिक कामहरू आफ्नो हातमा लिन्छन्, तब मानव श्रमको मूल्य यस्ता गुणहरूमा निर्भर हुनेछ जुन मेशिनले नक्कल गर्न सक्दैनन्; जस्तै कि विवेक, नैतिक तर्क, समानुभूति र जिज्ञासा।
विश्व आर्थिक मञ्चको सन् २०२५ को रोजगारदाता सर्वेक्षणले देखाए अनुसार, यी मानवीय गुणहरूमध्ये धेरैजसो हाल सबैभन्दा बढी माग भएका गुणहरू हुन् र सन् २०३० सम्म पनि यिनैको माग रहने अपेक्षा गरिएको छ। उक्त सर्वेक्षणले ५९ प्रतिशत कामदारहरूलाई पुनः तालिमको आवश्यकता पर्ने पनि औंल्याएको छ, जसले एआईमा आधारित अर्थतन्त्रमा मानव कामदारहरूलाई मूल्यवान राखिराख्न प्राकृतिक बुद्धिमत्तामा लगानी गर्नु अनिवार्य बनाउँछ।
अतिआशक्तिभन्दा माथि
हालको बहस मुख्यतया एआईले मानवतालाई बचाउँछ वा नष्ट गर्छ भन्नेमा केन्द्रित छ। तर यो अर्को एउटा प्राविधिक फेसन पनि साबित हुन सक्छ। यदि सन् २०२२ को मेटाभर्स क्रेजजस्तै एआईप्रतिको यो अति-उत्साह पनि सेलाएर गयो भने सामाजिक र आर्थिक प्रगति मस्तिष्क पुँजीको पुनर्संरचनामै निर्भर रहनेछ।
हामीले शून्यबाट सुरु गर्नुपर्दैन। यसका लागि पहिल्यैदेखि भइरहेको खर्बौं डलरको लगानीका कारण आवश्यक अधिकांश पूर्वाधारहरू पहिले नै उपलब्ध छन्। मुख्य चुनौती भनेको त्यस्ता लगानीहरूलाई बृहत् प्रणालीको एक हिस्साको रूपमा लिनु हो। आज उपलब्ध हस्तक्षेपहरूलाई व्यापक बनाउँदा सन् २०५० सम्ममा विश्वभरका मानिसहरूले थप २६ करोड ७० लाख वर्षको स्वस्थ जीवन प्राप्त गर्न सक्नेछन् र विश्वव्यापी कुल गार्हस्थ उत्पादन (जीडिपी) मा ६२ खर्ब डलरसम्म थपिन सक्नेछ।
गुणस्तरीय बाल्यकाल कार्यक्रमहरूले वार्षिक ७ देखि १३ प्रतिशतसम्म प्रतिफल दिन सक्छन् भने कर्मचारीको स्वास्थ्यमा हुने सक्रिय लगानीले विश्वव्यापी जीडिपीलाई १२ प्रतिशतसम्म बढाउन सक्छ।
यसको अर्थ आमा र बाल्यकालको विकासमा लगानी गर्नु हो र जीवनको उत्तरार्धमा हुने स्नायु तथा मानसिक विकारहरूलाई रोक्नतर्फ प्राथमिक स्वास्थ्य सेवालाई मोड्नु हो।
बौद्धिक सीपहरूलाई कमजोर नबनाई कार्यस्थलले मानसिक स्वास्थ्यको रक्षा गर्न सक्छ, जबकि शिक्षा र व्यावसायिक तालिमलाई जीवनपर्यन्त सिकाइलाई बढावा दिन सक्ने गरी परिमार्जन गर्न सकिन्छ। यी कुनै असम्भव कुरा होइनन् र यिनले काम गर्छन् भन्ने कुराको थुप्रै प्रमाणहरू उपलब्ध छन्।
एआई आफैं पनि यसको समाधानको एक हिस्सा बन्न सक्छ। यसले मस्तिष्क विकारहरूको प्रारम्भिक निदान गर्न र औषधि अनुसन्धानलाई तीव्रता दिन सक्छ। ज्ञानलाई सबैको पहुँचमा पुर्याएर यसले जिज्ञासा जगाउन र जीवनपर्यन्त सिकाइलाई सजिलो बनाउन पनि मद्दत गर्न सक्छ।
मस्तिष्क पुँजीको प्रतिफल एआई उद्योगको भविष्यमा निर्भर हुँदैन। आउँदो दशकमा जुनसुकै प्रविधि हावी भए पनि मानव सिर्जनात्मकताको आर्थिक मूल्य सधैं रहन्छ। यसमा गरिएको लगानी सधैं जित्ने खालको बाजी हो, किनकि यो नै त्यस्तो प्रविधि हो जुन कहिल्यै पनि पुरानो वा काम नलाग्ने हुने छैन।
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमका पूर्व प्रमुख आर्थिक तथा व्यावसायिक सल्लाहकार लेनी मेन्डोनका 'म्याकिन्से एन्ड कम्पनी' का वरिष्ठ साझेदार (एमेरिटस) हुन् । त्यस्तै, ह्यारिस आयर 'ग्लोबल ब्रेन इकोनोमी इनिसिएटिभ'का कार्यकारी निर्देशक हुन् भने रेमिङ्टन टोनार 'कार्ट डटकम' का सह-संस्थापक हुनुहुन्छ। याे लेख हामीले प्राेजेक्ट सिण्डिकेटबाट अनाैपचारिक भावानुवाद गरेका हाैँ ।















