आर्थिक सुस्तीबीच बैंकहरूको कमाइमा चमत्कार, असोजसम्म अधिकांशको नाफामा उछाल
बजारमा देखिएको सुस्तताका बीच चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको समग्र नाफामा लोभलाग्दो छलाङ आएको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा देशको बैंकिङ क्षेत्रले उत्साहजनक नतिजा बाहिर ल्याएको छ। लामो समयदेखि बजारमा देखिएको सुस्तता र शिथिलताका कारण चौतर्फी चिन्ता व्यक्त भइरहेका बेला असोज मसान्तसम्म बैंकहरूले निकालेको वित्तीय विवरणले भने अर्थतन्त्रमा नयाँ उर्जा थपिएको संकेत गरेको छ।
पछिल्लो त्रैमासमा वाणिज्य बैंकहरूको समग्र नाफामा उल्लेख्य वृद्धि देखिएको छ, जसले व्यावसायिक गतिविधि चलायमान बन्दै गएको स्पष्ट पार्छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म आइपुग्दा नेपालका वाणिज्य बैंकहरूले कुल मिलाएर १९ अर्ब रुपैयाँ हाराहारीमा खुद नाफा कमाउन सफल भएका छन्। गत वर्षको यही अवधिमा बैंकहरूको समग्र नाफा १३ अर्ब रुपैयाँको आसपासमा मात्र सीमित थियो।
यस हिसाबले हेर्दा एक वर्षको अन्तरालमा बैंकहरूको नाफामा करिब ६ अर्ब रुपैयाँले वृद्धि भएको छ। बजारमा तरलताको सहजता र कर्जा प्रवाहमा देखिएको केही सुधार यसको मुख्य आधार बनेको अर्थतन्त्रका जानकारहरू बताउँछन्।
नाफाको दौडमा कसले मारे बाजी ?
समीक्षा अवधिमा अधिकांश बैंकहरूले आफ्नो आम्दानी दोहोरो अंकभन्दा बढीले बढाएका छन्। कतिपय बैंकहरूको नाफामा त कल्पनाभन्दा बाहिरको वृद्धि देखिएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यसपटक सबैभन्दा उच्च प्रतिशतमा नाफा बढाएर वित्तीय बजारलाई नै चकित पारेको छ।
गत वर्षको पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको यो बैंकले यसपालि २५२२ प्रतिशतभन्दा बढीको छलाङ मार्दै १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि १७५ प्रतिशतभन्दा बढीले उक्लिँदै १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। सिद्धार्थ बैंकको नाफा १६२ प्रतिशतले बढेर ८५ करोड रुपैयाँ नाघेको छ भने सानिमा बैंकले पनि १३१ प्रतिशतको फड्को मार्दै १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ।
लक्ष्मी सनराइज बैंकको नाफा पनि ९६ प्रतिशतले बढेर ६५ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
कसको कमाइ कति?
परिमाणको हिसाबले यसपटक नबिल बैंकले सबैभन्दा धेरै खुद नाफा कमाउने बैंकको रूपमा आफूलाई उभ्याएको छ। नबिलले समीक्षा अवधिमा २ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ४५ प्रतिशत बढी हो।
उता, ग्लोबल आइएमई बैंकले पनि २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाउँदै आफ्नो बलियो उपस्थिति देखाएको छ।
यसैगरी, नेपाल बैंकको नाफा ४१ प्रतिशतले बढेर ८३ करोड रुपैयाँ पुगेको छ भने माछापुच्छ्रे बैंकको ३१ प्रतिशतले बढेर ५५ करोड रुपैयाँ र एनएमबि बैंकको २७ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
नेपाल एसबिआई बैंकको नाफा ५५ करोड, प्रभु बैंकको ६० करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। एनआइसी एशिया बैंकले १२ करोड ७४ लाख र कुमारी बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।
सिटिजन्स बैंक भने अघिल्लो वर्ष २२ करोड रुपैयाँभन्दा बढीको नोक्सानीमा रहेकोमा यसपटक १० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाउँदै सकारात्मक लयमा फर्किएको छ।
समग्रमा अधिकांश बैंकहरूको वित्तीय अवस्था उकालो लागे पनि सबै बैंकको कथा भने एकनास छैन। केही बैंकहरूको नाफामा सामान्य गिरावट पनि आएको देखिएको छ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा २ प्रतिशतले घटेर ६७ करोड रुपैयाँमा सीमित भएको छ। यस्तै, प्राइम बैंकको नाफा ५ प्रतिशतभन्दा बढीले घटेर १ अर्ब १८ करोड रुपैयाँ र हिमालयन बैंकको नाफा करिब ७ प्रतिशतले घटेर ६५ करोड रुपैयाँमा झरेको छ।















