ग्यास बिक्रीमा निगमको नयाँ प्रस्ताव: ३० प्रतिशत ग्यास अनिवार्य व्यावसायिक मूल्यमा बेच्नुपर्ने
काठमाडाैं । नेपाल आयल निगमले घरायसी र व्यावसायिक प्रयोजनमा प्रयोग हुने एलपी ग्यासको दर तथा आपूर्तिलाई व्यवस्थित नयाँ रणनीति अघि सारेको छ।
ग्यास उद्योगहरूले पाउने मासिक कुल कोटाको ३० प्रतिशत भाग अनिवार्य रूपमा व्यावसायिक मूल्यमा खरिद-बिक्री गराउने गरी निगमले नयाँ प्रस्ताव ल्याएको हो।
शुक्रबार आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूबीच भएको छलफलमा निगमले यस्ताे प्रस्ताव राखेकाे हाे ।
प्रस्तावअनुसार व्यावसायिक प्रयोजनका लागि छुट्टै नाप वा क्षमताका सिलिन्डर बजारमा नआउञ्जेलसम्म उद्योगहरूले ३० प्रतिशत कोटा निगमबाटै व्यावसायिक दररेटमा उठाउनुपर्नेछ। त्यसरी उठाइएको ग्यास अनिवार्य रूपमा व्यावसायिक क्षेत्रमै खपत गराउनुपर्ने वा तोकिएको ब्रान्डमार्फत मात्र बिक्री-वितरणको प्रबन्ध मिलाउनुपर्ने सर्त राखिएको छ।
निगमको यस प्रस्तावमाथि ग्यास उद्योगीहरूले एकापसमा आन्तरिक छलफल गरी एक साताभित्र आफ्नो आधिकारिक धारणा निगमलाई जानकारी गराउने सहमति भएको छ।
बैठकमा ग्यास उद्योगहरूको सञ्चालन खर्च कटौती गर्ने, बजारलाई पारदर्शी बनाउन उद्योगहरूलाई ‘मर्जर’ (गाभ्ने) प्रक्रियामा लैजाने र देशभर ‘सिंगल लोगो’ (एउटै चिह्न) बाट ग्यास सिलिन्डर बिक्री-वितरण गर्ने एजेन्डामा समेत गम्भीर छलफल भएको छ।















