भारतले चिनी निर्यात रोकेपछि नेपाली उद्योगलाई लाभः एभरेष्ट सुगर मिलले एकै वर्षमा गर्यो ३ अर्बमाथिकाे व्यापार
काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रत्यक्ष लाभ नेपाली चिनी उद्योगले पाएका छन्।
यही अवसरको फाइदा उठाउँदै व्यवसायी शशिकान्त अग्रवाल र सर्राफ परिवारको स्वामित्वमा रहेको एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिजले एक वर्षमै आफ्नो व्यापार ४० प्रतिशतले बढाएको छ।
कम्पनीले आर्थिक वर्ष २०२६ मा ३ अर्ब २ करोड रुपैयाँको व्यापार गरेको छ। यसअघि आर्थिक वर्ष २०२५ मा २ अर्ब १५ करोड रुपैयाँ, आर्थिक वर्ष २०२४ मा ३ अर्ब ३२ करोड रुपैयाँ र आर्थिक वर्ष २०२३ मा १ अर्ब ३२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो।
भारतले सन् २०२६ को मे महिनादेखि चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी चिनीको माग बढेको थियो। त्यसले कम्पनीको बिक्री परिमाण बढाउन सहयोग पुर्याएको देखिन्छ। यसका साथै आर्थिक वर्ष २०२६ को पहिलो त्रैमासमा बिक्री हुने चिनीका लागि ग्राहकबाटै अग्रिम रकम सङ्कलन भएकाले पनि व्यापार विस्तारमा योगदान पुगेको हो।
तर, व्यापार बढेको अनुपातमा कम्पनीको नाफा भने बढ्न सकेको छैन। बजारमा चिनीको उच्च प्रतिस्पर्धा र उखुजस्ता कच्चा पदार्थको मूल्य वृद्धिले उत्पादन लागत बढाउँदा कम्पनीको सञ्चालन नाफा दर घटेको छ।
आर्थिक वर्ष २०२६ मा कम्पनीको सञ्चालन नाफा दर ११.४० प्रतिशतमा सीमित भएको छ। जबकि आर्थिक वर्ष २०२५ मा यस्तो दर १९.७५ प्रतिशत, २०२४ मा २१.४८ प्रतिशत र २०२३ मा १७.५८ प्रतिशत थियो। अर्थात्, अघिल्ला वर्षको तुलनामा कम्पनीले व्यापारबाट कम नाफा कमाउन थालेको छ।
यस्तै, ब्याज खर्च बढ्नु र सञ्चालन नाफा घट्नुको असर खुद नाफामा पनि परेको छ। आर्थिक वर्ष २०२५ मा १२.९४ प्रतिशत रहेको कम्पनीको खुद नाफा दर आर्थिक वर्ष २०२६ मा घटेर ६.४६ प्रतिशतमा झरेको छ। यसले कम्पनीको व्यापार बढे पनि अन्तिममा हात पर्ने नाफा भने उल्लेख्य रूपमा घटेको देखाउँछ।
नाफामा आएको गिरावटसँगै कम्पनीको कर्जा भुक्तानी क्षमतामा पनि अघिल्लो वर्षको तुलनामा केही कमजोरी देखिएको छ। यद्यपि, कर्जाको ब्याज र किस्ता तिर्न सक्ने क्षमता अझै सन्तोषजनक रहेको इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले जनाएको छ।
कम्पनीको ब्याज भुक्तानी क्षमता मापन गर्ने ब्याज कभरेज अनुपात आर्थिक वर्ष २०२५ मा ९.५८ गुणा रहेकोमा आर्थिक वर्ष २०२६ मा घटेर ६.०४ गुणामा झरेको छ। यसको अर्थ कम्पनीले ब्याज तिर्नुअघि कमाएको सञ्चालन नाफा ब्याज खर्चभन्दा ६.०४ गुणा बढी छ। अघिल्लो वर्ष यस्तो अनुपात ९.५८ गुणा रहेकाले ब्याज तिर्ने क्षमतामा केही कमी आएको देखिन्छ। तर, ब्याज खर्च धान्न पर्याप्त आम्दानी रहेकाले कम्पनीको अवस्था अझै सहज मानिएको छ।
त्यस्तै, कम्पनीको ऋण सेवा कभरेज अनुपात ३.१६ गुणा कायम भएको छ। अघिल्लो वर्ष ४.१४ गुणा रहेको यो अनुपात घटेको भए पनि कम्पनीले ऋणको साँवा र ब्याज भुक्तानी गर्न आवश्यक आम्दानीभन्दा बढी रकम जुटाउन सक्ने अवस्था रहेको देखाउँछ।
कम्पनीको समग्र गियरिङ अनुपात भने सुधार भएको छ। आर्थिक वर्ष २०२५ मा १.२६ गुणा रहेको यस्तो अनुपात आर्थिक वर्ष २०२६ मा घटेर १.१९ गुणामा झरेको छ। यो अनुपात घट्नु कम्पनीको कुल ऋणको तुलनामा आफ्नै पुँजीको अवस्था सुधार भएको सङ्केत हो।
तर, कुल बाह्य दायित्व र खुद सम्पत्तिको अनुपात भने बढेको छ। आर्थिक वर्ष २०२५ मा १.४० गुणा रहेको यस्तो अनुपात आर्थिक वर्ष २०२६ मा १.५७ गुणा पुगेको छ।
यसैगरी, कम्पनीको चालु सम्पत्ति अनुपात १.०६ गुणा रहेको छ। यसको अर्थ कम्पनीसँग तत्काल भुक्तानी गर्नुपर्ने दायित्वभन्दा ६ प्रतिशत बढी चालु सम्पत्ति छ। यो अनुपात एक गुणाभन्दा माथि हुनु सामान्यतः सकारात्मक मानिन्छ। तर, एकदमै नजिक रहेकाले कम्पनीसँग अल्पकालीन दायित्व भुक्तानीका लागि उपलब्ध सम्पत्तिको अतिरिक्त सुरक्षा भने धेरै छैन।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिने कर्जा सुविधाका लागि कुल २ अर्ब ८९ करोड ८५ लाख रुपैयाँ बराबरको मूल्याङ्कन गराएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको उक्त कर्जा सुविधाको मूल्याङ्कन गर्दै यसअघिकै स्तरको रेटिङलाई निरन्तरता दिएको छ।
रेटिङअनुसार दीर्घकालीन बैंक कर्जा सुविधाअन्तर्गत ८५ लाख रुपैयाँका लागि ‘त्रिपल बी माइनस’ र अल्पकालीन बैंक कर्जा सुविधाअन्तर्गत १ अर्ब ८६ करोड रुपैयाँका लागि ‘ए थ्री’ रेटिङ दिइएको छ।
त्यस्तै, दीर्घकालीन तथा अल्पकालीन दुवै प्रकृतिका बैंक सुविधाअन्तर्गत पर्ने बैंक जमानतका लागि १ अर्ब ३ करोड रुपैयाँ बराबरको ‘त्रिपल बी माइनस/ए थ्री’ रेटिङ प्रदान गरिएको छ।
सन् १९९४ मा स्थापना भएको एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज सार्वजनिक लिमिटेड कम्पनी हो। यसको कर्पोरेट कार्यालय धनुषाको जनकपुरमा र उत्पादन इकाई महोत्तरीको गौशालामा रहेको छ।
कम्पनीको उद्योगले दैनिक ५ हजार ५ सय टन उखु पेल्ने क्षमता राख्छ। यसले सामान्य चिनीको सट्टा सल्फररहित दोहोरो प्रशोधित चिनी उत्पादन गर्दै आएको छ। कम्पनीले सन् २०२१ देखि आफ्नो उत्पादनलाई सामान्य चिनीबाट सल्फररहित दोहोरो प्रशोधित चिनीमा परिवर्तन गरेको हो।
चिनी उत्पादनसँगै कम्पनीले उखु पेलेपछि बाँकी रहने खोस्टाबाट विद्युत् पनि उत्पादन गर्दै आएको छ। यसका लागि कम्पनीले ९ मेगावाट क्षमताको सहउत्पादन विद्युत् गृह सञ्चालन गरेको छ। उत्पादित विद्युत्मध्ये ३ मेगावाट नेपाल विद्युत् प्राधिकरणलाई बिक्री हुँदै आएको छ। यसका लागि प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरिएको छ भने बाँकी विद्युत् कम्पनीले आफ्नै उद्योगमा प्रयोग गर्दै आएको छ।















