सेयर बजार र घरजग्गालाई टक्कर दिँदै पुराना क्लासिक कार: किन बनिरहेका छन् धनाढ्यहरूको लगानीको आकर्षण ?
काठमाडाैं । तपाईंलाई अचम्म लाग्न सक्छ, तर यो सत्य हो- आजको मितिमा सेयर बजारका सेतो-रातो अंकहरू र करोडौं पर्ने घरजग्गाको लगानीले पनि दिन नसक्ने ‘रिटर्न’ (नाफा) एउटा पुरानो, खिया लागेको र ग्यारेजमा थन्किएको कारले दिइरहेको छ!
शोरुमबाट नयाँ कार किनेर सडकमा गुडाउने बित्तिकै त्यसको मूल्य स्वतः घट्छ, हाे सामान्यतया बजारको नियमले यहि भन्छ । तर अटोमोबाइल संसारको एउटा अर्को पनि पाटो छ, जहाँ समयको धूलले पुरिएका पुराना र विन्टेज गाडीहरू खिया लाग्नुको साटो सुनझैँ चम्किरहेका छन्। तिनै पुराना धातुका टुक्राहरूको मूल्य आज घरजग्गा र सेयर बजारलाई समेत पछि पार्दै आकाशिएका छन्।
साधारण उत्पादनहरू किन्दा मूल्य घट्छ भन्ने मान्यता क्लासिक कारहरूको दुनियाँमा आएर पूर्ण रूपमा बदलिन्छ। जब कुनै कार पुराना मोडेलमा परिणत हुन्छ वा सिमित उत्पादन (लिमिटेड एडीशन) भएर इतिहासको पानामा सीमित हुन्छ, तब त्यसको माग बजारमा अनपेक्षित रूपमा बढ्न थाल्छ।
संसारभरका धनाढ्य, सेलिब्रेटी र संकलनकर्ताहरूका लागि यी कारहरू अब मात्र यात्राको साधन रहेनन्, यो त सामाजिक प्रतिष्ठा र सुरक्षित लगानीको प्रतिक बनेका छन्।
विश्वका धनाढ्यहरूको सम्पत्ति र लगानी क्षेत्रको अध्ययन गर्ने प्रतिष्ठित संस्था ‘नाइट फ्रेङ्कको लक्जरी इन्भेस्टमेन्ट इन्डेक्स’ हेर्ने हाे भने क्लासिक कारहरूको बजार कति शक्तिशाली छ भन्ने स्पष्ट देखिन्छ।
तथ्याङ्कलाई हेर्दा, कला, महँगो वाइन र घडीहरू जस्ता विलासी वस्तुहरूको बजार तलमाथि भइरहँदा पनि क्लासिक कारको मूल्य पछिल्लो पाँच वर्षमा १७.४ प्रतिशत र एक दशकमा ३१.३ प्रतिशतले बढेको छ।
यदि कसैले सही समयमा सही भिन्टेज कारमा लगानी गरेको छ भने त्यसले परम्परागत सेयर बजारभन्दा कैयौं गुणा बढी ‘रिटर्न’ दिएको अर्थशास्त्रीहरू बताउँछन् ।
करोडौँ डलरमा बिक्री भएका कार
क्लासिक कारको मूल्य कति माथिसम्म पुग्न सक्छ भन्ने उदाहरण विश्वका ठूला लिलामी गृहहरूमा देख्न सकिन्छ। आरएम सोथबीज र क्रिस्टिजजस्ता संस्थामार्फत हुने लिलामीमा दुर्लभ कारका लागि विश्वभरका संग्राहकबीच प्रतिस्पर्धा हुने गरेको छ।
यसको सबैभन्दा चर्चित उदाहरण सन् १९५५ मा निर्मित मर्सिडिज बेन्ज ३०० एसएलआर उह्लनहूट कुपे हो। सन् २०२२ मे ५ मा जर्मनीको स्टुटगार्टस्थित मर्सिडिज बेन्ज म्युजियममा आरएम सोथबीजले आयोजना गरेको विशेष लिलामीमा यो कार १३ करोड ५० लाख युरो अर्थात् त्यतिबेलाको विनिमय दरअनुसार करिब १४ करोड ३० लाख अमेरिकी डलरमा बिक्री भएको थियो। यसले सार्वजनिक लिलामीमा बिक्री भएको सबैभन्दा महँगो कारको विश्व कीर्तिमान कायम गरेको छ।
यस कारको मूल्य असाधारण हुनुको प्रमुख कारण यसको दुर्लभता पनि हो। मर्सिडिज बेन्जले यसका दुईवटा प्रोटोटाइप मात्र निर्माण गरेको थियो। कारका डिजाइनर तथा प्रमुख इन्जिनियर रुडोल्फ उह्लनहूटको नामबाट यसको नामकरण गरिएको हो। यसले तत्कालीन समयको उत्कृष्ट रेसिङ प्रविधि र इन्जिनियरिङको प्रतिनिधित्व गर्छ।
त्यस्तै, सन् २०२५ फेब्रुअरीमा सन् १९५४ को मर्सिडिज बेन्ज डब्लू १९६ आर स्ट्रोमलिनेनवागेन आरएम सोथबीजको लिलामीमा ५ करोड ३९ लाख १७ हजार ३७० अमेरिकी डलरमा बिक्री भयो। यो ग्रान्ड प्रिक्स रेसिङ कार लिलामीमा बिक्री भएको सबैभन्दा महँगो कार बनेको थियो। यसअघि रेसिङका दिग्गज चालक जुआन म्यानुएल फाङ्गियो र स्टर्लिङ मोसले प्रयोग गरेको यस कारको ऐतिहासिक पृष्ठभूमिले पनि यसको मूल्य बढाएको थियो।
फेरारीका दुर्लभ मोडलहरू पनि लिलामी बजारमा अत्यन्त महँगो मूल्यमा बिक्री हुँदै आएका छन्। सन् १९६२ को फेरारी ३३० एलएम/२५० जीटीओ सन् २०२३ मा आरएम सोथबीजमार्फत ५ करोड १७ लाख ५० हजार अमेरिकी डलरमा बिक्री भएको थियो। सन् १९६२ कै अर्को फेरारी २५० जीटीओ सन् २०१८ मा ४ करोड ८४ लाख ५ हजार अमेरिकी डलरमा बिक्री भएको थियो।
नाइट फ्र्याङ्कको सन् २०२६ को प्रतिवेदनले पछिल्लो समय क्लासिक कारको बजारमा नयाँ पुस्ताका मोडल पनि प्रवेश गरिरहेको देखाएको छ। सन् १९८० को दशकको अन्त्यदेखि सन् २००० को सुरुवातसम्म उत्पादन भएका कारहरू पनि संग्राहकको रोजाइमा पर्न थालेका छन्। परम्परागत क्लासिक कारलाई समेत उछिन्ने मूल्य प्राप्त गर्न थालेका यी मोडलले बजारको स्वरूप परिवर्तन गरिरहेका छन्।
सन् २०२५ अगस्टमा अमेरिकाको मोन्टेरे कार विकमा सन् १९९५ को फेरारी एफ५० ९२ लाख अमेरिकी डलरमा बिक्री हुनु यसको उदाहरण हो। त्यस्तै, सन् २०२६ जनवरीमा फ्रान्सको पेरिसमा भएको लिलामीमा पुनर्स्थापना नगरिएको सन् १९५६ को मर्सिडिज बेन्ज ३०० एसएल गुलविङ ५० लाख अमेरिकी डलरमा बिक्री भएको थियो।
किन बढिरहेको छ क्लासिक कारको मूल्य?
क्लासिक कारको मूल्य बढ्नुको प्रमुख कारण दुर्लभता हो। कम्पनीहरूले उत्पादनको सुरुवातमै सीमित संख्यामा निर्माण गरेका कारमध्ये समय बित्दै जाँदा धेरै दुर्घटना, बिग्रिएर प्रयोगविहीन हुने वा अन्य कारणले नष्ट भइसकेका हुन्छन्। फलस्वरूप, बजारमा उपलब्ध कारको संख्या घट्दै जान्छ। तर अर्कोतर्फ, यस्ता कारप्रति संग्राहक र लगानीकर्ताको आकर्षण बढिरहेको हुन्छ। सीमित आपूर्ति र उच्च मागले यस्ता कारको मूल्य बढाउन मद्दत गर्छ।
अर्को महत्त्वपूर्ण पक्ष कारसँग जोडिएको इतिहास हो। कुनै कारले प्रतिष्ठित अन्तर्राष्ट्रिय रेस जितेको छ, प्रसिद्ध रेसिङ चालकले चलाएको छ वा चर्चित व्यक्तिको स्वामित्वमा रहेको छ भने त्यसको मूल्य सामान्य कारको तुलनामा धेरै माथि पुग्न सक्छ। यस्ता कार केवल यातायातको साधन नभई मोटरस्पोर्ट्सको इतिहास, प्रविधि र डिजाइनको विरासत बनेका हुन्छन्। कारको मौलिक अवस्था, स्वामित्वको प्रमाण, मर्मत तथा पुनर्स्थापनाको अभिलेख र ऐतिहासिक घटनासँगको सम्बन्धले पनि मूल्य निर्धारणमा ठूलो भूमिका खेल्छ।
यसका साथै, क्लासिक कारलाई धनाढ्यहरूले सम्पत्ति विविधीकरणको माध्यमका रूपमा पनि हेर्ने गरेका छन्। आर्थिक अनिश्चितता र मुद्रास्फीतिको जोखिमबाट आफ्नो सम्पत्तिलाई जोगाउन उनीहरू सुन, घरजग्गा, कलाकृति र अन्य दुर्लभ वस्तुसँगै क्लासिक कारमा पनि लगानी गर्छन्। विशेषगरी दुर्लभ र ऐतिहासिक महत्त्व भएका कारले संग्राहक बजारमा विशिष्ट स्थान बनाउने भएकाले तिनको माग कायम रहन सक्छ।
तर क्लासिक कारमा लगानी गर्नु जोखिमरहित भने छैन। सबै पुराना कारको मूल्य बढ्दैन। कारको अवस्था, मौलिकता, ब्रान्ड, मोडल, ऐतिहासिक पृष्ठभूमि र बजारको मागले यसको मूल्य निर्धारण गर्छ। त्यसबाहेक मर्मतसम्भार, बीमा, भण्डारण र पुनः बिक्रीको खर्च पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। सन् २०२५ मा कारको मूल्य सूचकांक ३.७ प्रतिशतले घट्नुले पनि यो बजारमा मूल्यको उतारचढाव रहेको पुष्टि गर्छ।
त्यसैले क्लासिक कारको संसारमा उमेर मात्र मूल्यको आधार होइन। दुर्लभता, इतिहास, मौलिकता र संग्राहकको मागले एउटा पुरानो कारलाई करोडौँ डलरको सम्पत्तिमा रूपान्तरण गर्न सक्छ। यही कारणले आज क्लासिक कारहरू केवल अटोमोबाइल इतिहासका नमुना मात्र नभई विश्वका धनाढ्यहरूको विलासी जीवनशैली र लगानी बजारको महत्त्वपूर्ण हिस्सा बन्दै गएका छन्।














