बजारमा तीन वर्ष बिताएपछि बिदा हुँदै साइबर-ट्रक, अब टेस्लाको सम्पूर्ण ध्यान साइबर-क्याबमा
बजारमा आएको तीन वर्ष नबित्दै टेस्लाले आफ्नो चर्चित साइबर-ट्रकको उत्पादन बन्द गर्ने तयारी गरेको छ।
काठमाडौं । सडकमा गुड्न थालेको तीन वर्ष मात्रै पुगेको टेस्लाको साइबर-ट्रक अब बन्द हुने संकेत देखिएको छ। अमेरिकी अटोमोबाइल कम्पनी टेस्लाले आगामी वर्षको मध्यतिर टेक्ससस्थित गिगाफ्याक्ट्रीमा साइबर-ट्रकको उत्पादन घटाउँदै लैजाने योजना बनाएको छ।
टेस्लाका मुख्य कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ‘एक्स’ मा एक पोस्टमार्फत कम्पनीलाई पूर्ण रूपमा रोबोटिक्स र स्वचालित सवारी साधनतर्फ लैजाने योजनाअनुसार साइबर-क्याबको उत्पादन क्षमता बढाउन यो कदम चालिएको बताएका छन्।
साइबर-क्याब टेस्लाको आगामी चालकविहीन सञ्जालमा मुख्य स्वायत्त सवारी साधनको रूपमा रहनेछ, जसले कम्पनीको रोबोट्याक्सी महत्वाकांक्षालाई केन्द्रमा राखेर अगाडि बढ्नेछ।
साइबर-ट्रकको उत्पादन अन्य कारखानामा सारिन्छ वा सधैंका लागि बन्द हुन्छ भन्ने विषयमा हालसम्म स्पष्ट छैन। यद्यपि, साइबर-ट्रकका प्रमुख इन्जिनियर वेस मोरिरेलले ‘एक्स’ मा गरेको एक पोस्टलाई धेरैले यसको विदाईको शोकधूनका रूपमा बुझेका छन्। उनले साइबर-ट्रक प्राविधिक विकासका लागि एउटा अभूतपूर्व प्लेटफर्म भएको र यो अब साइबर-क्याबमार्फत जीवित रहने उल्लेख गरेका छन्।
यद्यपि, मस्कको यो घोषणाले साइबर-ट्रक तत्कालै सडकबाट पूर्ण रूपमा हराइहाल्ने संकेत भने गर्दैन। ‘एक्स’ प्रयोगकर्ता ओन स्पार्कसको जिज्ञासाको जवाफ दिँदै मस्कले साइबर-ट्रकका गाडीहरू लामो समयसम्म सडकमा गुडिरहने बताएका छन्।
साइबर-ट्रक अमेरिका बाहिर कहिल्यै आधिकारिक रूपमा बिक्री भएन, तर सन् २०२४ मा मलेसियालगायत विश्वका विभिन्न स्थानहरूमा यसलाई बजार प्रवर्द्धनका लागि घुमाइयो।
रोयटर्सका अनुसार यो ट्रकले अमेरिका बाहिर, विशेष गरी युरोपमा नियमनकारी चुनौतीहरूको सामना गर्नु पर्यो। युरोपमा यसको कडा स्टिलको बडी र तीखो किनारहरू पैदलयात्री सुरक्षा नियमसँग बाझिने बताइएको थियो।
साइबर-क्याब पनि गत अक्टोबर २९ देखि नोभेम्बर २२ सम्म मलेसियामा प्रदर्शनी टुरमा रहेको छ। तर, यो त्यहाँ पूर्ण स्वचालित रोबोट्याक्सीको रूपमा कहिले वा कसरी सञ्चालनमा आउनेछ भन्ने बारेमा कुनै निश्चित जानकारी छैन।
यो समाचार तयार पार्दासम्म साइबर-क्याबको सेवा केवल अमेरिकाको टेक्ससस्थित अस्टिनका सीमित क्षेत्रहरूमा मात्र उपलब्ध छ र आगामी दिनमा अमेरिकाभर यसको दायरा विस्तार हुने अपेक्षा गरिएको छ।















