२८ कार्तिक २०८३, शनिबार

‘ट्याक्स हेभन’ का नामले परिचित केम्यान आइल्यान्ड: जहाँ जनसंख्या भन्दा धेरै छन् कम्पनी र बैंक !



काठमाडौं । एउटा पाँचतले भवनको ठेगानामा १८ हजारभन्दा बढी कम्पनी दर्ता छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर क्यारिबियन सागरमा अवस्थित केम्यान आइल्यान्डको राजधानी जर्ज टाउनमा रहेको युगल्यान्ड हाउस यही कारणले विश्वभर चर्चित छ।

बाहिरबाट हेर्दा सामान्य कार्यालय भवनजस्तो देखिने युगल्यान्ड हाउसको ठेगाना हजारौँ कम्पनी तथा वित्तीय संस्थाले आफ्नो कानुनी दर्ता कार्यालयका रूपमा प्रयोग गर्छन्। भवनको आधिकारिक वेबसाइटले यस ठेगानामा १८ हजारभन्दा बढी केम्यान कम्पनी तथा अन्य व्यावसायिक संस्था दर्ता रहेको उल्लेख गरेको छ।

तर यो भवनमा ती सबै कम्पनीका कर्मचारी बसेर कारोबार गरिरहेका हुँदैनन्। भवनको एकमात्र भाडावाल अन्तर्राष्ट्रिय कानुनी फर्म म्यापल्स हो। यसले कम्पनीहरूलाई कानुनी दर्ता कार्यालयको ठेगाना उपलब्ध गराउँदै आएको छ। अर्थात्, एउटै भवनको ठेगाना हजारौँ कम्पनीको कागजी कार्यालयका रूपमा प्रयोग भएको हो।

कम्पनी दर्ताको केन्द्र कसरी बन्यो केम्यान आइल्यान्ड?

केम्यान आइल्यान्ड स्वतन्त्र राष्ट्र होइन। यो बेलायतको समुद्रपारि रहेको स्वशासित भूभाग हो। ग्रान्ड केम्यान, केम्यान ब्राक र लिटल केम्यान गरी तीनवटा मुख्य टापु मिलेर बनेको यस क्षेत्रको राजधानी जर्ज टाउन हो।

विश्वका प्रमुख अपतटीय वित्तीय केन्द्रमध्ये एक मानिने केम्यान आइल्यान्डको सबैभन्दा ठूलो आकर्षण त्यहाँको कर प्रणाली हो। त्यहाँ व्यक्तिगत आयकर, कम्पनीको नाफामा लाग्ने कर तथा पुँजीगत लाभकरजस्ता प्रत्यक्ष कर लगाइँदैनन्। केम्यान आइल्यान्डको सरकारी कम्पनी रजिस्ट्रारले पनि कम्पनीमा आयकर, पुँजीगत लाभकर वा अन्य प्रकारका प्रत्यक्ष कर नलाग्ने उल्लेख गरेको छ।

यही कारण विश्वका ठूला बैंक, बहुराष्ट्रिय कम्पनी, लगानी कोष र धनाढ्य व्यक्तिहरूले त्यहाँ कम्पनी स्थापना गर्ने गरेका छन्। विशेषगरी अन्तर्राष्ट्रिय लगानी, हेज फन्ड, निजी पुँजी कोष, संयुक्त लगानी र सम्पत्ति व्यवस्थापनका लागि केम्यान आइल्यान्डका कम्पनी संरचना प्रयोग हुने गरेका छन्।

पछिल्लो सरकारी तथ्यांकअनुसार सन् २०२५ को अन्त्यसम्म यस टापुमा दर्ता भएका कम्पनीको संख्या १ लाख २३ हजार ५३० पुगेको छ। यो संख्या सन् २०२३ मा १ लाख १८ हजार ४४३ र सन् २०२४ मा १ लाख २१ हजार ४४९ थियो। सन् २०२५ मा मात्रै १३ हजार ३०६ नयाँ कम्पनी दर्ता भएका थिए, जुन सन् २०२१ यताकै सबैभन्दा धेरै वार्षिक नयाँ दर्ता हो। त्यस्तै, सन् २०२५ को अन्त्यसम्म त्यहाँ ४३ हजार ५६ सक्रिय साझेदारी संस्था पनि दर्ता थिए।

अझ रोचक कुरा, सन् २०२४ को अन्त्यसम्म केम्यान आइल्यान्डको जनसंख्या ८८ हजार ८३३ मात्रै थियो। अर्थात्, त्यहाँको जनसंख्याभन्दा करिब ३५ हजार बढी कम्पनी दर्ता छन्।

लगानी कोष र वित्तीय संस्थाको आकर्षण

केम्यान आइल्यान्डमा कम्पनी दर्ता हुने क्रम बढ्नुको एउटा प्रमुख कारण अन्तर्राष्ट्रिय लगानी कोषको विस्तार हो। त्यहाँ दर्ता भएका कम्पनीमध्ये धेरै हेज फन्ड, निजी पुँजी कोष तथा अन्य वित्तीय लगानी संरचनासँग सम्बन्धित छन्।

केम्यान आइल्यान्ड मौद्रिक प्राधिकरण (सीआईएमए) को तथ्यांकअनुसार सन् २०२५ को अन्त्यसम्म त्यहाँ १२ हजार ८७६ म्युचुअल फन्ड र १७ हजार ७२२ निजी कोष दर्ता थिए। दुवै जोड्दा ३० हजार ५९८ लगानी कोष हुन्छन्।

यस्ता कोषमा विभिन्न देशका संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा कम्पनी तथा धनाढ्य व्यक्तिले लगानी गर्न सक्छन्। केम्यानमा कम्पनी वा कोष दर्ता गरेर त्यहाँको कानुनी संरचनामार्फत विश्वका विभिन्न बजारमा लगानी गर्न सहज हुने भएकाले अन्तर्राष्ट्रिय वित्तीय संस्थाले यस क्षेत्रलाई रोज्ने गरेका छन्।

केम्यान फाइनान्सले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२४ को अन्त्यसम्म केम्यानमा दर्ता भएका कोषहरूले व्यवस्थापन गरेको कुल सम्पत्ति करिब १६ ट्रिलियन अमेरिकी डलर थियो। यो रकम विश्व वित्तीय बजारमा केम्यान आइल्यान्डको ठूलो उपस्थिति देखाउने Aउटा महत्त्वपूर्ण तथ्य हो।

के हुन् शेल कम्पनी ?

केम्यान आइल्यान्डमा कम्पनी दर्ता गर्नेहरूमा त्यस्ता कम्पनी पनि हुन्छन्, जसको आफ्नै उत्पादन केन्द्र, ठूलो कार्यालय वा कर्मचारी समूह हुँदैन। यस्ता कम्पनीलाई सामान्यतया ‘सेल कम्पनी’ वा ‘शेल कम्पनी’ भनिन्छ।

यस्ता कम्पनीको मुख्य उद्देश्य उत्पादन वा सेवा बिक्री गर्नु नहुन सक्छ। बरु सम्पत्ति राख्ने, अन्य कम्पनीमा लगानी गर्ने, अन्तर्राष्ट्रिय कारोबार गर्ने वा विभिन्न वित्तीय संरचनामार्फत लगानी व्यवस्थापन गर्ने हुन सक्छ।

उदाहरणका लागि, कुनै बहुराष्ट्रिय कम्पनीले विभिन्न देशमा लगानी गर्न वा छुट्टाछुट्टै व्यवसाय सञ्चालन गर्न केम्यानमा एउटा कम्पनी दर्ता गर्न सक्छ। त्यस कम्पनीले अन्य देशका कम्पनीमा सेयर स्वामित्व राख्न वा लगानी कोष स्थापना गर्न सक्छ। यसका लागि केम्यानमै ठूलो कार्यालय वा धेरै कर्मचारी आवश्यक नपर्न सक्छ।

यस्ता कम्पनी स्थापना गर्नु आफैँमा गैरकानुनी भने होइन। अन्तर्राष्ट्रिय लगानी, संयुक्त लगानी, सम्पत्ति व्यवस्थापन र वित्तीय कारोबारका लागि यस्ता संरचनाको वैध प्रयोग हुन्छ। तर वास्तविक मालिकको पहिचान लुकाउन, कर छल्न वा अवैध रकम ओसारपसार गर्न यस्ता कम्पनीको दुरुपयोग हुन सक्ने जोखिम पनि उत्तिकै छ।

त्यसैले केम्यान आइल्यान्डलाई कर छली र सम्पत्ति लुकाउने सम्भावित केन्द्रका रूपमा आलोचना गरिँदै आएको छ। सन् २००८ मा अमेरिकी सरकारी जवाफदेहिता कार्यालय (जीएओ) ले गरेको अध्ययनमा युगल्यान्ड हाउसको ठेगानामा दर्ता भएका १८ हजार ८५७ संस्थामध्ये धेरैको केम्यानमा उल्लेख्य भौतिक उपस्थिति नरहेको उल्लेख थियो। तर प्रतिवेदनले त्यहाँ दर्ता भएका सबै संस्था कर छली वा अवैध गतिविधिमा संलग्न रहेको भनेको थिएन।

करबिनै सरकारको आम्दानी कसरी हुन्छ ?

केम्यान आइल्यान्डमा व्यक्तिगत आयकर र कम्पनीको नाफामा कर नलागे पनि त्यहाँको सरकारले अन्य शुल्क तथा करबाट राजस्व संकलन गर्छ।

आयातित वस्तुमा लाग्ने भन्सार शुल्क, कम्पनी दर्ता तथा नवीकरण शुल्क, वित्तीय सेवा सञ्चालनका लागि लाग्ने इजाजतपत्र शुल्क, कामदार अनुमति शुल्क र घरजग्गा कारोबारमा लाग्ने स्ट्याम्प ड्युटी सरकारका आम्दानीका स्रोत हुन्।

कम्पनी दर्ता, लगानी कोष व्यवस्थापन, बैंकिङ, बिमा तथा कानुनी र लेखा सेवा यस क्षेत्रको वित्तीय उद्योगसँग जोडिएका छन्। त्यसैले कम्पनी र लगानी कोषको ठूलो संख्याले त्यहाँको अर्थतन्त्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पुर्‍याउँछ।

अर्थात्, केम्यान आइल्यान्डले सबै प्रकारका कर हटाएको होइन। बरु प्रत्यक्ष आयकरको सट्टा विभिन्न सेवा शुल्क र अप्रत्यक्ष करमार्फत राजस्व संकलन गर्ने आर्थिक संरचना बनाएको छ।

अन्तर्राष्ट्रिय दबाबपछि पारदर्शितामा सुधारको प्रयास

अपतटीय वित्तीय केन्द्रमा कम्पनीको वास्तविक मालिकको पहिचान लुक्न सक्ने जोखिमका कारण अन्तर्राष्ट्रिय निकायहरूले लामो समयदेखि पारदर्शिता बढाउन दबाब दिँदै आएका छन्। विशेषगरी सम्पत्ति शुद्धीकरण, कर छली र अवैध रकम ओसारपसार रोक्न कम्पनीको वास्तविक स्वामित्व पहिचान गर्ने व्यवस्था महत्त्वपूर्ण मानिन्छ।

यसै सन्दर्भमा केम्यान आइल्यान्डले कम्पनीका वास्तविक लाभग्राही मालिकको विवरण राख्ने व्यवस्था लागू गरेको छ। कम्पनीको सेयर वा मतदान अधिकारमा उल्लेख्य स्वामित्व राख्ने अथवा कम्पनीमाथि वास्तविक नियन्त्रण गर्ने व्यक्तिको विवरण सरकारी रजिस्ट्रिमा राख्नुपर्ने व्यवस्था गरिएको छ। यसले कम्पनीको नाममा सम्पत्ति राख्ने व्यक्तिको वास्तविक पहिचान पत्ता लगाउन सहयोग गर्ने उद्देश्य राख्छ।

त्यस्तै, केम्यान आइल्यान्डले वित्तीय खातासम्बन्धी विवरण अन्य देशसँग आदानप्रदान गर्ने अन्तर्राष्ट्रिय व्यवस्थामा पनि सहभागिता जनाएको छ। आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को साझा प्रतिवेदन मापदण्डअनुसार वित्तीय संस्थाले गैरआवासीय खातावालाको विवरण संकलन गरी सम्बन्धित देशका कर निकायसँग आदानप्रदान गर्छन्।

तर यस्ता व्यवस्था लागू हुँदैमा सबै जोखिम समाप्त भएका छैनन्। कम्पनीको वास्तविक मालिकको पहिचान, वित्तीय कारोबारको निगरानी र सूचनाको प्रभावकारी आदानप्रदान अझै महत्त्वपूर्ण चुनौतीका रूपमा छन्।