जम्बो टोलीको विदेश यात्राले रास्वपाभित्रै असन्तुष्टि: ‘हिजो अरूले गर्दा गलत, आज हामीले गर्दा कसरी सही ?’
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्री तथा नेताहरूमा विदेश भ्रमणप्रतिको आकर्षण बढेको भन्दै पार्टीभित्रैबाट आलोचना सुरु भएको छ। पार्टीका केही सांसदहरूले सामाजिक सञ्जालमार्फत खुलेरै यस्ता भ्रमणको आवश्यकता, आर्थिक स्रोत र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न उठाएका हुन्।
रास्वपाका सांसदहरू गणेश कार्की, ज्वाला संग्रौला, आशिका तामाङ र राजु पाण्डेले आआफ्नो फेसबुकमार्फत पार्टी नेतृत्व र सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन्।
‘हिजो अरूले गर्दा गलत, आज हामीले गर्दा कसरी सही ?’
सांसद ज्वाला संग्रौलाले हुल बाँधेर विदेश सयर गर्नु देश र जनताको हितविपरीत रहेको टिप्पणी गरेकी छन्। विगतमा अन्य दलका नेताहरूले राज्यको खर्चमा विदेश भ्रमण गर्दा विरोध गर्ने तर आज आफ्नै पार्टीका नेताहरूले सोही शैली अपनाउनु दोहोरो चरित्र भएको उनको आशय छ।
सम्बन्धित आयोजक राष्ट्रकै खर्चमा विज्ञ वा सांसदलाई निमन्त्रणा गरिएको हो भने त्यसलाई स्वाभाविक मान्न सकिने तर राज्यको धनराशि खर्चेर विदेश उड्नु हिजो पनि गलत रहेको र आज पनि गलत नै हुने उनले स्पष्ट पारेकी छन्।
साथै, आफूले अवसर नपाएर विरोध गरेको नठान्न आग्रह गर्दै उनले विदेश घुम्नुभन्दा आफ्नै मतदाताको घरदैलोमा पुग्नु बढी जिम्मेवारीपूर्ण हुने बताएकी छन्।
कोप–३१ सहभागिता र खर्चको स्रोत सार्वजनिक गर्न माग
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्किए जाने नेपाली टोलीको लर्को लागेको भन्दै सांसद गणेश कार्कीले आपत्ति जनाएका छन्।
वातावरणको विद्यार्थी र सांसदको हैसियतले आफूले धेरै साथीहरू टर्किए पुगेको र जाने क्रममा रहेको देखेको उल्लेख गर्दै उनले भ्रमणको खर्चको स्रोत पारदर्शी हुनुपर्ने माग राखेका छन्।
सम्मेलनमा जानेहरूले आफू राज्यको ढुकुटी खर्च गरेर गएका हुन् वा अन्य स्रोतबाट भन्ने विषयमा सार्वजनिक रूपमा स्पष्ट पार्नुपर्नेमा उनको जोड छ।
उपलब्धि र पारदर्शितामाथि आशिका तामाङको कटाक्ष
रास्वपाकै अर्की सांसद आशिका तामाङले राज्यको ढुकुटीबाट जनप्रतिनिधिले कति पटकसम्म विदेश भ्रमण गर्न पाउने हो भन्दै प्रश्न गरेकी छन्।
संसदीय समितिका नाममा हुने यस्ता भ्रमणको उद्देश्य र त्यसबाट देशले पाउने उपलब्धिबारे आफ्नै दलका सांसदहरू समेत अनभिज्ञ रहने गरेको उनको गुनासो छ।
राज्यको लाखौँ रुपैयाँ खर्चेर गरिने भ्रमणको प्रतिफल जनताले जान्न पाउनुपर्ने बताउँदै उनले यस्ता यात्राहरू केवल समुद्री किनारमा तस्बिर खिच्ने र टिकटक बनाउने काममा मात्र सीमित भएको त होइन भनी कटाक्ष गरेकी छन्।
कुर्सीमा पुगेपछि विदेश मोह बढेको भन्दै व्यंग्य
प्रधानमन्त्री बालेन्द्र शाह निकट मानिने सांसद राजु पाण्डेले पनि पद र जिम्मेवारी पाउनेबित्तिकै विदेश भ्रमणलाई पहिलो प्राथमिकतामा राख्ने राजनीतिक प्रवृत्तिप्रति तिखो व्यंग्य प्रहार गरेका छन्। कुर्सीमा पुगेपछि विदेश जाने मोह देखेर अचम्म लागेको भन्दै उनले यस्तो प्रवृत्तिले लाजलाई पनि लजाउने अवस्था सिर्जना गरेको टिप्पणी गरेका छन्।
रास्वपाका २० जना नेता तथा सांसदको टोली आज चीन भ्रमणमा जाँदैछ भने कोप–३१ मा भाग लिन नेपालबाट पाँच जना मन्त्री टर्किए पुगिसकेका छन्। जम्बो टोलीको विदेश यात्रालाई लिएर अहिले पार्टीभित्र र बाहिर खर्च तथा औचित्यको बहस चर्किएको छ।















