वस्तु व्यापारतर्फ सर्वाधिक कर तिर्ने कम्पनी सिजी इम्पेक्स राष्ट्रिय कर दिवसमा सम्मानित
काठमाडौँ। वस्तु व्यापारतर्फ सर्वाधिक कर तिर्ने कम्पनी सिजी इम्पेक्स प्रालि राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित भएको छ। ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ मनाइएको राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सिजी इम्पेक्स प्रालिलाई सम्मान गरिएको हो।
नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग (लाजिम्पाट, काठमाडौं) द्वारा प्रदान गरिएको सम्मान पत्रमा वस्तु व्यापारको कारोबार गर्ने करदाताहरू मध्येबाट बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुर्याए बापत कम्पनीलाई सम्मान प्रदान गरिएको उल्लेख गरिएको छ।
कम्पनीको स्थायी लेखा नम्बर ३०१६०९०३६ रहेको छ। कर दिवसको अवसरमा कदर स्वरूप प्रदान गरिएको यस सम्मानले आगामी दिनमा अन्य करदाताहरूका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास लिँदै विभागले थप योगदानको अपेक्षा गरेको छ। उक्त सम्मान पत्रमा आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीमकुमार भुसाल, सचिव डा. घनश्याम उपाध्याय र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा हस्ताक्षर गरिएको छ।
चौधरी ग्रुप अन्तर्गतको एक प्रमुख व्यापारिक संस्थाको रूपमा परिचित सिजी इम्पेक्स प्रालि नेपालको वस्तु व्यापार तथा वितरण क्षेत्रमा अग्रणी मानिन्छ। विशेषगरी अन्तर्राष्ट्रिय स्तरका इलेक्ट्रोनिक्स, घरायसी उपकरण तथा विभिन्न उपभोक्ता सामग्रीहरूको आयात र देशव्यापी वितरणमा यस कम्पनीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
गुणस्तरीय वस्तुको उपलब्धता र पारदर्शी व्यावसायिक अभ्यासका माध्यमबाट कम्पनीले नेपाली बजारमा बलियो उपस्थिति बनाउँदै राज्यको राजस्व संकलनमा समेत निरन्तर योगदान पुर्याइरहेको छ।















