१ मंसिर २०८३, मंगलबार

सुन र चाँदीको भाउ वर्षदिन अघिकै विन्दुमा, के हाेला अबकाे बजार ?



काठमाडाैँ । नेपाली बजारमा पहेँलो धातुको मूल्यमा १० महिना पहिलेकै स्तरमा झरेकाे छ । निरन्तरकाे गिरावट पश्चात् यस्ताे अवस्था आएको हाे । केही समयअघि रेकर्डब्रेक उचाइ छुँदै आकाशिएको सुनको भाउ लगातार ओरालो लागेर प्रतिताेला २ लाख ६७ हजार रूपैयाँमा झरेकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उथलपुथल, अमेरिकी केन्द्रीय बैंकको मौद्रिक नीति, केन्द्रीय बैंकहरूको बदलिँदो खरिद प्रवृत्ति र स्थानीय बजारको सुस्त मागका कारण सुनको मूल्यमा यो भारी गिरावट आएको हो ।

गत वर्ष पुस २५ गते प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँ रहेको सुनको भाउ त्यसयता निरन्तर उकालो लाग्दै माघ १५ मा प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो । यो नै हालसम्मको सर्वाधिक उच्चतम विन्दु थियो ।

तर, त्यसपछिका महिनाहरूमा लगातार घटेको सुनको मूल्य हाल आएर पुनः सोही विन्दुमा फर्किएको छ । पछिल्लो कारोबार अनुसार सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६७ हजार २०० रुपैयाँमा झरेको छ ।

यो मूल्य हालसम्मको उच्चतम विन्दुबाट करिब ७२ हजार १ सय रुपैयाँले कम हो । प्रतिशतका आधारमा हेर्दा सुनको मूल्यमा करिब २१.२५ प्रतिशतले ह्रास आइसकेको छ ।

भारतीय बजारमा पनि यस वर्ष सुनको मूल्यमा उच्चतम विन्दुबाट करिब २३ प्रतिशतसम्मको गिरावट आएको छ ।

मंगलवार भारतमा “इन्डिया बुलियन एन्ड ज्वेलर्स एसोसिएसन लिमिटेड” २४ क्यारेटकाे १० ग्राम सुनकाे भाउ ₹ १,३४,३८० देखि ₹ १,३४,९७१ ताेकेकाे छ । त्यहाँ प्रातः कालिन र सन्ध्याकालिन भनेर दिनमा २ पल्ट मूल्य ताेकिन्छ । याे भने काे रू. २,१५,००८ देखि रू. २,१५,९५३ हाे । तर यसमा भारत सरकारकाे कर (जीएसटी) ३% अलग्गै लाग्छ ।

त्यति नै सुनकाे लागि काठमाडाैँमा २,२९,०८० रूपैयाँ ताेकिएकाे छ । त्यस्तै चाँदीकाे मूल्य दिल्लीमा प्रति १० ग्राम ₹ १,६९२.८ देखि १,७०२.५१ (रू.२७०८ देखि २७२४) छ । याे उच्च मूल्यमा ३% जीएसटी जोड्दा २८०५ रूपैयाँ पर्छ । नेपालमा यति नै चाँदीकाे भाउ २९९२ रूपैयाँ ताेकिएकाे छ ।

जे हाेस्, नेपाली बजारमा पछिल्लाे समय चाँदीको मूल्य त झन् सुनभन्दा ज्यादा सस्तिएकाे देखिन्छ । गत वर्ष माघ १५ मै प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको चाँदीको मूल्य अहिले घटेर ३ हजार ४९० रुपैयाँमा सीमित भएको छ । अर्थात्, साढे ९ महिनाको अवधिमा एक तोला चाँदीको भाउ ४ हजार १५ रुपैयाँले सस्तिसकेको छ भने यसको मूल्य उच्चतम बिन्दुबाट ५३.५ प्रतिशतले घटिसकेको छ ।

अहिले चाँदीकाे भाउ साढे ११ महिना पहिलेकाे स्थितिमा छ । तर यसबीचमा, खासगरी गत माघताका चाँदी किन्ने नेपाली उपभाेक्ताले असाध्यै महँगाे मूल्य तिर्नु परेकाे थियाे ।

चाँदी सस्तिनुमा सुनकै जस्ताे कारण पनि छन् । अमेरिकी ऋणपत्रमा लगानी गर्नका लागि ब्याज नपाइने धातुमा गरिएकाे लगानी फिर्ता गर्दा मानिसहरूले सुनभन्दा पनि चाँदी पहिले बेच्छन् । त्यसैले चाँदीकाे भाउ घट्न दबाब पुगेकाे छ ।

तर चाँदी एउटा औद्योगिक धातु पनि हो। सोलार प्यानल, इलेक्ट्रोनिक्स र सवारी साधनमा यसको ठूलो खपत हुन्छ। विश्वकै ठूलो औद्योगिक उपभोक्ता चीनको आर्थिक गतिविधि सुस्त हुँदा चाँदीको औद्योगिक मागमा कमी आएको छ।

सुन-चाँदीकाे भाउ घटेका ती विगत

अन्तरराष्टिय बजारमा सुन, चाँदीकाे मूल्यमा भारी गिरावट देखिएका उदाहरण पनि छन् । सन् १९८० देखि १९८५ काे अवधिमा सुनकाे मूल्य करीब ६५ प्रतिशतसम्म झरेकाे थियाे । सन् २००८ काे अमेरिकी मन्दीपछि २०११ देखि २०१५ काे बीचमा पनि सुनकाे अन्तरराष्ट्रिय मूल्य ४६ प्रतिशतसम्म घटेकाे थियाे ।

त्यहीबीच सन् २०१३ काे अप्रिलमा २ दिनमा सुनकाे भाउ १३ प्रतिशत र ३ महिनाकाे अन्तरालमा २५ प्रतिशतभन्दा ज्यादा सस्तिएकाे थियाे । यो घटनालाई सुनको इतिहासमा सबैभन्दा डरलाग्दो ‘फ्ल्यास क्र्यास’ भनिन्छ। अप्रिल १२ र १५ (वि.सं. २०६९ चैत ३० देखि २०७० वैशाख २) को बीच (एक सप्ताहान्तमा) सुनको भाउ प्रतिऔंस १,५८० डलरबाट तीव्र रूपमा घटेर १,३८० सम्म ओर्लियो।

यसले गर्दा विश्वभरको सुन बजारबाट मात्र दुई दिनमा १ ट्रिलियन (१० खर्ब) डलर बराबरको सम्पत्ति सखाप भएको थियो। साइप्रसको केन्द्रीय बैंकले आफ्नो सुनको भण्डार बेच्न लागेको हल्ला र चीनको आर्थिक वृद्धि सुस्त हुनु यसको मुख्य कारण थियो।

हालैका महिनामा पनि अन्तर्राष्ट्रिय बजारमा सुनकाे भाउ उच्चतम् विन्दुबाट २८-३० प्रतिशत घटेकाे छ ।

चाँदीकाे मूल्यमा त याेभन्दा व्यापक परिवर्तन देखिन्छ । यसकाे सबैभन्दा राेचक घटना सन् १९८० मा भएकाे थियाे । अमेरिकाका अर्बपति तेल व्यापारी एच. एल. हन्टका छोराहरू नेल्सन बनकर हन्ट र विलियम हबर्ट हन्ट (हन्ट ब्रदर्स) ले मुद्रास्फीतिबाट बच्न र विश्वको चाँदीको बजारमा एकाधिकार जमाउन भनेर सन् १९७० को दशकको अन्त्यतिरबाट भौतिक चाँदी र फ्युचर्सको विशाल भण्डार जम्मा गर्न थाले।

उनीहरूको किनमेल (कर्नरिङ) ले गर्दा प्रति औंस ६ डलरको हाराहारीमा रहेको चाँदीको भाउ सन् १९८० को जनवरीसम्ममा करिब ५० डलर पुगेको थियो। तर, कमोडिटी एक्सचेन्जले नियम कडा पारेपछि र मार्जिन कल तिर्न नसक्दा मार्च २७, १९८० (वि.सं. २०३६ चैत १४ गते बिहीवार) मा चाँदीको मूल्य अचानक ५०% भन्दा बढीले ढल्यो, जसलाई इतिहासमा “सिल्भर थर्सडे” भनिन्छ।

त्यसताका समग्रमा चाँदीकाे भाउ ८० देखि ८५ प्रतिशतसम्म सस्तिएकाे थियाे । यसैको परिणाम स्वरूप उनीहरू ठूलो नोक्सानीमा परे र सन् १९८८ मा उनीहरूले टाट पल्टिएको घोषणा गर्नुपरेको थियो।


सन् २००८ काे विश्वव्यापी वित्तीय संकटका कारण संसारभर औद्योगिक उत्पादन ठप्प भयो। उद्योगहरू बन्द हुँदा चाँदीको औद्योगिक माग ह्वात्तै घट्यो र लगानीकर्ताहरूले नगद जोगाउन चाँदी डम्प गरे। यसले पनि चाँदीकाे भाउ ५० प्रतिशतसम्म घटेकाे थियाे । तर मन्दीकाे प्रभाव फैलिँदै जाँदा चाँदीकाे मूल्य फेरि उकालाे लाग्याे र सन् २०११ तिर यसकाे मूल्य इतिहासकै उच्च बन्याे ।

त्यसपछि डलर बलियो हुन थाल्यो। साथै, विश्व बजारमा कमोडिटीको ‘महाचक्र’ सकिएकाले लगातार ४ वर्ष मूल्य घट्यो। यस बखत उच्चतम विन्दुबाट करीब ७० प्रतिशतसम्म मूल्य सस्तिएकाे थियाे ।

अचेल मूल्य घट्नुका मुख्य कारण

अहिले सुनको मूल्य ओरालो लाग्नुको पछाडि मुख्यतया अमेरिकी अर्थतन्त्र र केन्द्रीय बैंक (फेड) को सम्भावित नीति जिम्मेवार देखिएको छ । अमेरिकी उपभोक्ता मूल्य सूचकांक बढेसँगै फेडले आगामी दिनमा ब्याजदर बढाउन सक्ने सम्भावना ९० प्रतिशतसम्म पुगेको छ । यसले गर्दा अमेरिकी डलर र ऋणपत्रको प्रतिफल (यिल्ड) बलियो भएको छ भने लगानीकर्ताहरू सुरक्षित मानिने सुनबाट तानिएर डलरतर्फ आकर्षित भएका छन् ।

त्यस्तै, विगतका वर्षहरूमा आक्रामक रूपमा सुन थुपारेका चीन र भारतसहित विश्वका केन्द्रीय बैंकहरूको खरिद दर पनि हालका महिनाहरूमा सुस्त बनेको देखिन्छ । विश्व गोल्ड काउन्सिलका अनुसार सन् २०२१ देखि २०२५ सम्म केन्द्रीय बैंकहरूको सुन खरिद उच्च रहे पनि सन् २०२६ को पहिलो त्रैमासिकमा केही बिक्रिचाप देखिएको छ ।

यद्यपि, टर्कीले ठूलो मात्रामा सुन बिक्री गर्दा आधिकारिक तथ्यांकमा खरिद घटेको देखिए पनि स्विट्जरल्याण्डका टक्सार र लन्डनको ओटीसी बजारको वैकल्पिक तथ्यांकले चीनजस्ता मुलुकले अमेरिकी डलरको जोखिमबाट बच्नका लागि गुप्त रूपमा सुनको भण्डारण अझै बढाइरहेको देखाएका छन् ।

एसियाली बजारमा सुस्ताएको माग

अत्यधिक महँगो मूल्यका कारण एसियाली बजार, विशेषगरी भारतमा सुनको भौतिक मागमा भारी गिरावट आएको छ । अक्टोबर महिनामा मात्रै भारतको सुन आयात ६२.५७ प्रतिशतले घटेको छ । त्यसमाथि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकहरूलाई अनावश्यक रूपमा सुन नकिन्न सार्वजनिक रूपमा आह्वान गर्नुले पनि बजार मागलाई थप कमजोर बनाएको छ ।

अर्कातिर, भारतीय रूपैयाँको सटही दर अमेरिकी डलरको तुलनामा केही स्थिर रहँदा आयातित सुनको आन्तरिक लागत केही कम हुन सहयोग पुगेको छ । भारूसँगै स्थिर विनिमय दर कायम रहेको नेपालमा पनि डलर सस्तो हुँदा आयात लागतमा केही राहत महसुस भएको छ । फलस्वरूप सुनकाे मूल्य पनि केही सस्ताे हुन पुगेकाे छ ।

अल्पकालीन र दीर्घकालीन प्रक्षेपण

अन्तर्राष्ट्रिय वित्तीय संस्था र बजार विश्लेषकहरूका अनुसार सुनको बजार अहिले पर्ख र हेरको अवस्थामा छ । मोतिलाल ओसवालजस्ता वित्तीय विश्लेषकहरूले तत्कालका लागि बजार घट्दो क्रममै (बेयरिस) रहने अनुमान गरे पनि भारतमा लगत्तै सुरु हुन लागेको विवाहको माैसमले स्थानीय माग बढाएर मूल्यलाई थप तल खस्नबाट रोक्न सक्ने बताएका छन् ।

विश्वप्रसिद्ध बैंक जेपी मोर्गनले हालको गिरावटलाई एउटा अल्पकालीन चक्र (करेक्शन) मात्र मानेको छ । उनीहरूको विश्लेषण अनुसार सन् २०२६ को अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ६,००० डलर पुग्न सक्ने र २०२७ सम्ममा भारतीय बजारमा प्रति १० ग्राम सुनको भाउ २ लाख भारु नाघ्न सक्ने प्रक्षेपण यथावत राखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीका अनुसार पनि अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३,५०० डलरसम्म ओर्लिएमा नेपाली बजारमा सुन प्रतितोला २ लाख ५० हजार रुपैयाँसम्म झर्न सक्ने छ । तर सन् २०२७ को पहिलो त्रैमासपछि बजार पुनः उकालो लाग्ने उनीहरूकाे अनुमान छ ।

यद्यपि, याे समाचार तयार पार्दै गर्दा अन्तरराष्ट्रीय बजारमा स्पट गाेल्डकाे मूल्य प्रतिऔंस ३८६० अमेरिकी डलरमा चलिरहेकाे छ । याे भनेकाे १ महिनामा करीब ७ प्रतिशत र ६ महिनामा साढे १५ प्रतिशत हाराहारीकाे गिरावट हाे । चाँदीकाे मूल्य भने प्रतिऔंस ४७ डलर वरपर देखिएकाे छ । याे भाउ पछिल्लाे एक महिनामा करीब १८ प्रतिशत र ६ महिनामा ३९ प्रतिशत घटेकाे हाे ।

विजारहरूका अनुसार हालको उतारचढावपूर्ण बजारमा एकैपटक ठूलो रकम सुनमा खन्याउनु बुद्धिमानी हुनेछैन । त्यसको सट्टा थोरै थोरै गरेर किस्ताबन्दी (एसआईपी वा स्टेगर्ड) रूपमा सुन खरिद गर्नु अहिलेको अवस्थामा लगानीकर्ताका लागि सबैभन्दा सुरक्षित र भरपर्दो रणनीति हुनेछ ।