२ मंसिर २०८३, बुधबार

दुई वर्ष कैद र ५४ करोड जरिवाना सुनाइएका फरार व्यवसायी पर्साबाट पक्राउ



काठमाडाैँ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलमार्फत राज्यको राजस्व छली गरेको कसूरमा उच्च अदालतबाट ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र कैद सजाय पाएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो समयदेखि फरार रहेका गुलशन श्रीवास्तवलाई पक्राउ गर्न सफल भएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका–१६, नगवा क्षेत्रबाट श्रीवास्तवलाई गत मंसिर २ गते नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पर्साको विशेष सहयोगमा खटिएको सीआईबीको टोलीले उनलाई फेला पारेको थियो । अदालतको फैसलापछि पक्राउबाट बच्नका लागि लुकिछिपी बसेका श्रीवास्तवलाई हाल फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

विभिन्न पाँचवटा फर्म तथा कम्पनीहरूको सञ्चालकका रूपमा रहेर श्रीवास्तवले राजस्व चुहावट गरेको खुल्न आएको छ । उनले संग्रिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनल नामक कम्पनीहरूको नाममा झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी कारोबार गरेको अनुसन्धानबाट देखिएको थियो ।

राजस्व अनुसन्धान विभागका तत्कालीन निर्देशक तथा अनुसन्धान अधिकृत प्रेमप्रसाद आचार्यसमेतको प्रतिवेदनका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामाथि लामो सुनुवाइपछि उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते फैसला सुनाएको थियो । अदालतले श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

फैसलापछि सजाय भुक्तान गर्नुको साटो उनी फरार सूचीमा थिए ।