गोल्याणको स्नेह जोडिएको सलोनीको त्यो जन्मदिन
काठमाडौं। केही जन्मदिन यस्ता हुन्छन्, जुन केक काटेर सकिँदैनन् । एउटा अनुभूति दिएर जान्छन्– आफूलाई कसैले सम्झिएको छ, आफ्नो खुसीमा कोही जोडिएको छ। सलोनी सुवेदीका लागि मंगलबारको जन्मदिन त्यस्तै स्नेहपूर्ण बन्यो।
स्कुलबाट घर फर्किएपछि उनी आफ्नो कोठामा पसिन् । जन्मदिन हो भन्ने उनलाई थाहा थियो । तर आफ्नो कोठा यसरी सजिएको होला, अनि आफूलाई सरप्राइज दिन त्यहाँ विशेष पाहुना कुरेर बसेका होलान् भन्ने उनले सोचेकी थिइनन् ।
कोठा बेलुनले सजिएको थियो । बर्थडे ब्यानर टाँगिएको थियो । अगाडि केक थियो । र, उनको प्रतीक्षामा थियो गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याण, गोल्याण फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति गैह्रेसहितको टोली ।
ढोका खुलेपछि सलोनी केही क्षण टक्क रोकिइन् ।
त्यसपछि मुस्कुराइन् ।
‘ह्याप्पी बर्थडे सलोनी !’
एकैछिनमा उनको कोठा हाँसो र शुभकामनाले भरियो ।
सलोनीका लागि यो केवल जन्मदिनको सरप्राइज थिएन । उनको पढाइमा साथ दिइरहेको गोल्याण फाउण्डेशनले उनको व्यक्तिगत खुसीलाई पनि आफ्नो जिम्मेवारीको एउटा हिस्सा मानेर घरसम्म आएको क्षण थियो ।
सलोनी जेनजी आन्दोलनका सहिद देवकुमार सुवेदीकी छोरी हुन् । गोल्याण फाउण्डेशनले सलोनीसहित सहिदका ३१ सन्तानको शिक्षाको जिम्मेवारी लिएको छ । फाउण्डेशनले सहिदका सन्तानसँग उनीहरूको जीवनका महत्वपूर्ण क्षणमा आफूलाई जोड्दै आएको छ । जन्मदिनमा घरमै पुगेर खुसी साट्नु त्यसैको एउटा निरन्तरता हो ।
सलोनीले फाउण्डेशनकी सीईओ ज्योति गैह्रेलाई ‘दिदी’ भनेर बोलाउँछिन् । गैह्रेसँग उनको भेट यसअघि पनि हुँदै आएको थियो । कहिले घरमा, कहिले विद्यालयमा । तर हरेकपटक पूर्वजानकारी हुन्थ्यो । यसपटक भने कुनै जानकारी दिइएको थिएन ।
‘दिदी, मलाई थाहै नदिई किन आउनुभएको ?’ सलोनीको प्रश्न स्वाभाविक थियो ।
गैह्रेको जवाफ थियो, ‘पहिल्यै भनेर आएको भए त सरप्राइज नै हुँदैनथ्यो नि !’
जवाफ सुनेपछि सलोनीको मुस्कान झन् खुल्यो । जन्मदिनको केकसँगै उनलाई नयाँ स्टडी टेबल पनि उपहार दिइयो ।
यो आत्मीयता सलोनीका लागि मात्र होइन । गोल्याण फाउण्डेशनले यसअघि पनि अन्य सहिद–सन्तानको जन्मदिनमा उनीहरूकै घरमा पुगेर यस्तै खुसी साटेको थियो । गत जेठमा सलोनीकी साथी सोनिया विश्वकर्मा र सुवोध भट्टको जन्मदिन पनि फाउण्डेशनले उनीहरुको घरमै पुगेर मनाएको थियो ।
सलोनीको जन्मदिनमा उनकी आमा पार्वती अधिकारी भने उपस्थित हुन सकिनन् । कामको सिलसिलामा उनी सर्लाही गएकी थिइन् । तर ठूलीआमा मुना अधिकारीले घरमा आएको त्यो खुसीलाई नजिकबाट नियालिरहेकी थिइन् । ‘यसअघि नानीको जन्मदिन यति राम्रोसँग मनाएकै थिएनौं,’ उनले भनिन्, ‘आज साह्रै खुसी लाग्यो ।’
फाउण्डेशनका अनुसार सहिदका ३१ बालबालिकालाई कक्षा १२ सम्मको शिक्षाका लागि शैक्षिकवृत्ति प्रदान गरिएको छ । फाउण्डेशनले उनीहरूको शिक्षामा वार्षिक ४ लाख ८० हजार रुपैयाँसम्म खर्च व्यहोर्छ । शैक्षिकवृत्तिमा समेटिएका बालबालिकाबाहेक सहिदका ४४ बुवाआमालाई वार्षिक १० लाख रुपैयाँको स्वास्थ्य बीमा पनि उपलब्ध गराइएको छ । ‘सहिदका सन्तानको शिक्षा र अभिभावकको स्वास्थ्यमा गरेको सहकार्यले हामीलाई एउटै परिवार बनाएको छ,’ गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण भन्छन्, ‘त्यसैले उहाँहरूको सुख–दुःखमा सँगै हुन चाहन्छौं ।’
गोल्याण फाउण्डेशनकी सीईओ गैह्रे सहिदका सन्तानको शिक्षाको जिम्मेवारी लिनु भनेको उनीहरूको शैक्षिक खर्च व्यहोर्नु मात्र नभई उनीहरूको जीवनका खुसी र दुःखमा पनि साथ दिनु रहेको बताउँछिन् । ‘उनीहरूले आफूलाई एक्लो महसुस नगरून् र हरेक विशेष क्षणमा हामीलाई आफ्नो परिवारको सदस्यका रूपमा सम्झिऊन् भन्ने हाम्रो चाहना हो,’ उनले भनिन्, ‘सलोनीको जन्मदिनमा घरमै पुगेर खुसी साट्नु पनि त्यही आत्मीयताको एउटा सानो प्रयास हो ।’
सायद यही कारण मंगलबार सलोनीको अनुहारमा देखिएको मुस्कान केकको मिठासभन्दा पनि गहिरो थियो । त्यो मुस्कानले एउटा कुरा भनिरहेको थियो– ‘मेरो बुवाको सपना अधुरो भए पनि, मेरो सपना पूरा गर्ने यात्रामा म एक्लो छैन।’















