३ मंसिर २०८३, बिहिबार

बर्दियामा १३ वर्षदेखि थन्किएको पन्टुन पुल धादिङको फुर्केखोलामा जडान सुरु



गत भदाै १० काे प्रलयकारी बाढीले धादिङ सदरमुकामसँग सम्पर्क नै विच्छेद हुनेगरी पुल बगाएपछि नयाँ पन्टुन पुल जडान सुरु भएकाे छ । यससँगै अब छिट्टै हिउँदे आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

काठमाडाैँ । धादिङको फुर्केखोलामा पन्टुन पुल जडान गर्ने काम आजदेखि सुरु भएको छ। पुल बन्ने काम अघि बढेसँगै अबको केही दिनभित्रै सवारीसाधन र यात्रुको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

गत भदौ १० गते आएको भोटेकोशीको बाढीले फुर्केखोलाको पुल बगाएपछि यहाँको यातायात व्यवस्था अस्तव्यस्त बनेको थियो। पुल बगेपछि धादिङका १३ वटा पालिकाको सदरमुकामसँग सीधा सम्बन्ध टुटेको गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए।

बाढीले जिल्लाका विभिन्न भागमा पुल बगाएपछि अन्यत्र अलपत्र रहेका पन्टुन पुललाई यहाँ ल्याएर प्रयोग गर्नुपर्ने माग स्थानीय स्तरबाट उठेको थियो।

बर्दियाबाट कसरी आइपुग्यो पुल?

हुलाकी राजमार्गअन्तर्गत बर्दियाको गुलरिया–राजापुर खण्डको कोठियाघाट क्षेत्रमा १३ वर्षदेखि थन्किएर रहेको पन्टुन पुल धादिङ ल्याइएको हो। कर्णालीको गेरुवा किनार छेउमा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको यो पुललाई धादिङको गजुरी–२ स्थित फुर्केखोलामा जडान गर्न ढुवानी गरिएको हो।

विभागीय स्वीकृति लिई राजापुर सिँचाइ व्यवस्थापन आयोजनाले आवश्यक सबै कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेर पुल जिल्ला प्रशासन कार्यालय धादिङलाई हस्तान्तरण गरेको थियो। पुल ल्याउन धादिङबाटै क्रेन र टेलर मगाइएको थियो।

शुक्रबारसम्म पुलका २४ वटा डब्बा फुर्केखोला पुर्‍याइसकिएको राजापुर सिँचाइ व्यवस्थापन आयोजनाले जानकारी दिएको छ।

प्राविधिक अध्ययन र मर्मतको अवस्था

फुर्केखोलाको पुल बगेर सदरमुकामसँग सम्पर्क विच्छेद भएपछि धादिङका १३ वटै पालिकाका जनप्रतिनिधि बर्दियाको कोठियाघाटस्थित सिँचाइ आयोजनाको साइड क्याम्पमै पुगेका थिए। त्यहाँ राखिएको पन्टुन पुलको अवस्था अवलोकन गरेपछि जनप्रतिनिधिहरूले फुर्केखोलामा त्यो पुल जडान गर्न सकिन्छ कि सकिँदैन भनेर प्राविधिक अध्ययनका लागि आग्रह गरेका थिए।

सोही आग्रहअनुसार दुई जना प्राविधिक कर्मचारी फुर्केखोला पुगेर स्थलगत अध्ययन गरेका थिए। सिँचाइ आयोजनाअन्तर्गत पन्टुन पुल हेर्ने प्राविधिक शशीधर वाग्लेले खोलाको पानीको बहाव नाप्दा त्यहाँ पन्टुन पुल राख्न उपयुक्त देखिएको बताए।

उनका अनुसार पानीमा तैरने डब्बाको सहायताले बन्ने भएकाले फुर्केखोलामा यो संरचना जडान गर्न सम्भव पाइएको हो।

प्राविधिक वाग्लेले कोठियाघाटमा १३ वर्षसम्म खुला आकाशमुनि घामपानीमा रहँदा पुलका केही भागमा खिया लागेको जानकारी दिए। तीन वटा डब्बामा प्वाल परेको अवस्था देखिए पनि सामान्य मर्मत र रंगरोगन गरेपछि पुललाई सहजै सञ्चालनमा ल्याउन सकिने उनले बताए।

यो पन्टुन पुल फुर्केखोलाको जलदेवी मन्दिर नजिकैबाट जडान गरिनेछ, जसले गजुरी–२ र सिद्धलेक–६ लाई आपसमा जोड्नेछ।

पानीमा तैरन सक्ने फलामे ड्रम, खोक्रा धातुका डब्बा वा त्यस्तै तैरिने संरचनाहरूलाई एकआपसमा जोडेर नदी, खोला वा जलाशयमाथि बनाइने अस्थायी पुललाई पन्टुन पुल भनिन्छ। विपद्का बेला बाढीले पुल बगाउँदा, आपत्कालीन अवस्थामा वा पक्की पुल निर्माण सम्पन्न नहुँदासम्म आवतजावत नरोकियोस् भनेर छिटो जडान गर्न सकिने विकल्पका रूपमा यसको प्रयोग गरिन्छ।