बीबीएस प्रथम वर्षका नेपाल टपर बने नवोदित कलेजका सविन सुवेदी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) द्वारा सञ्चालित स्नातक तह (बीबीएस) प्रथम वर्षको परीक्षामा काठमाडौँको सामाखुशीस्थित नवोदित कलेजका छात्र सविन सुवेदीले देशभरमै सर्वाधिक अंक ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन्।
शैक्षिक सत्र २०८२/२०८३ को परीक्षामा सहभागी भएका सुवेदीले कुल ८५.६ प्रतिशत अंक प्राप्त गर्दै नेपाल टपर बन्ने गौरव हासिल गरेका हुन्। विगत दुई दशकदेखि निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको नवोदित कलेजले यसअघि पनि यस्तै ऐतिहासिक सफलता प्राप्त गरेको थियो। कलेजको वि.सं. २०७३/०७६ व्याचका विद्यार्थी राजु भण्डारीले पनि देशभरमै प्रथम स्थान हासिल गरी कलेजको प्रतिष्ठा बढाएका थिए।
सुवेदीको यो लोभलाग्दो नतिजाले कलेजको शैक्षिक गरिमालाई अझ उचाइमा पुर्याएको प्राचार्य राजेन्द्र अधिकारीले बताएका छन्। कलेज परिवारले सुवेदीलाई बधाई दिँदै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरेको छ।
निरन्तरको परिश्रम, लगनशीलता र कलेजको उत्कृष्ट शैक्षिक वातावरणका कारण यो सफलता सम्भव भएको सहप्राचार्य जीवी अधिकारीको भनाइ छ। सुवेदीको यस उपलब्धिले कलेजका अन्य विद्यार्थीहरूलाई समेत अध्ययनप्रति थप उत्प्रेरित गर्ने विश्वास कलेज प्रशासनले लिएको छ।















