तापक्रम माइनसमा झरेपछि सगरमाथा क्षेत्रबाट फर्कन थाले पर्यटक, सकियाे शरदकाे माैसम
पात्राेमा हेमन्त ऋतु प्रारम्भ भएसँगै सर्वाेच्च शिखरकाे फेदीबाट पर्यटकहरू तल झर्ने लर्काे लागेकाे छ । पछिल्लो सात दिनमा हवाई मार्ग हुँदै ५२९ जना पर्यटक खुम्बु भित्रिँदा १,१८० जना बाहिरिएका छन्, जसले शरदकालीन पर्यटकीय याम अन्तिम चरणमा पुगेको स्पष्ट सङ्केत गरेको छ ।
काठमाडाैँ । उच्च हिमाली भेगमा हिउँदको चिसो बढ्दै गएपछि सगरमाथा क्षेत्रबाट फर्कने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको पछिल्लो साप्ताहिक विवरणअनुसार खुम्बु क्षेत्रमा भित्रिनेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको हो ।
प्रहरीले संकलन गरेको पछिल्लो सात दिनको तथ्याङ्कले हवाई मार्ग हुँदै एक हजार १८० पर्यटक खुम्बु क्षेत्रबाट बाहिरिएको देखाएको छ । सोही अवधिमा ५२९ जना पर्यटकमात्रै उक्त क्षेत्रमा प्रवेश गरेका छन् । भित्रिनेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ६५१ ले बढी छ । आगमनभन्दा बहिर्गमन दोब्बरले बढ्नुले शरद्कालीन मुख्य पर्यटकीय याम सकिँदै गएको प्रस्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक मौसम तामाङका अनुसार एक साताको अवधिमा ८७७ विदेशी र ३०३ स्वदेशी पर्यटकले खुम्बु क्षेत्र छोडेका छन् ।
बाहिरिने विदेशी पर्यटकमा ३२७ महिला र ५५० पुरुष छन् भने स्वदेशीमा ४६ महिला र २५७ पुरुष रहेका छन् । यस्तै, सोही सात दिनमा ३७४ विदेशी र १५५ स्वदेशी पर्यटक सगरमाथा क्षेत्र भित्रिएका छन् । प्रवेश गर्ने विदेशीमा १०२ महिला र २७२ पुरुष तथा स्वदेशीमा ५४ महिला र १०१ पुरुष रहेको प्रहरीको अभिलेख छ ।
हिउँदको सिरेटो र घट्दो तापक्रमको असर
खुम्बु क्षेत्रमा चिसो अत्यधिक बढेसँगै पदयात्रीहरू धमाधम फर्कन थालेको स्थानीय दाली शेर्पाले बताए । उनका अनुसार प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार क्षेत्रमा रातको समयमा तापक्रम शून्य डिग्रीभन्दा तल (माइनस) झर्न थालेपछि धारा तथा खोल्साको पानी जम्न सुरु भएको छ ।
असोज र कात्तिक महिना सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय याम मानिन्छ । मनसुन बाहिरिएपछि आकाश खुल्ने, हिमशृङ्खला छर्लङ्ग देखिने र पदयात्राका लागि मौसम अनुकूल हुने भएकाले यो बेला पर्यटकको घुइँचो लाग्ने गर्छ । तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम ओरालो लाग्ने, राति कठ्याङ्ग्रिने जाडो हुने र उच्च भेगमा हिमपातको जोखिम बढ्ने भएकाले पर्यटकहरू यात्रा छोट्याएर फर्कने क्रम तीव्र हुन्छ ।
उच्च हिमाली भेगको मौसम बदलिएसँगै पर्यटकको बसाइ अवधि र गतिविधिमा प्रत्यक्ष असर पर्न थालेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष एवं पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । “यामको अन्त्यतिर मौसमको अनुकूलता, तापक्रम र हिमपातको सम्भावनालाई हेरेर पर्यटकले आफ्नो यात्रा तालिका हेरफेर गर्छन्, जसले गर्दा फर्कनेको चाप बढ्छ,” उनले भने ।
अर्का पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले पनि जाडो सुरु भएसँगै उच्च हिमाली क्षेत्रको पदयात्रा कठिन हुने भएकाले पर्यटकको आगमन पातलिँदै जाने उल्लेख गरे ।
चिसो बढेसँगै पर्यटकको आवागमन घट्दा स्थानीय होटल तथा पर्यटन व्यवसायमा पनि चहलपहल कम हुन थालेको लुक्लाका व्यवसायी तोयाकुमार श्रेष्ठले बताए । मुख्य याम सकिन लाग्दा होटल, पसल र पदयात्रासम्बद्ध सेवाहरू क्रमशः सुस्ताउँदै जाने स्थानीयको अनुभव छ । चिसो छल्न पर्यटकहरू उच्च भेगबाट तल्लो क्षेत्रतर्फ झर्ने क्रम बढेको श्रेष्ठको भनाइ छ ।
खुम्बु क्षेत्र भित्रिने र बाहिरिने मुख्य माध्यम हवाई सेवा भएकाले पर्यटकीय गतिविधिको सीधा प्रभाव उडानमा पर्ने गरेको छ । प्रहरीको साप्ताहिक अभिलेखअनुसार पछिल्लो सात दिनमा लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा ६९ वटा विमान र २८ वटा हेलिकप्टरले उडान भरेका छन् ।
तारा एयर लुक्लाका स्टेसन इन्चार्ज अमृत मगरका अनुसार याम कमजोर हुँदै जाँदा भित्रिने यात्रु घटे पनि बाहिरिनेको चापका कारण उडान गतिविधि चलायमान नै छ । यद्यपि, हिमाली क्षेत्रको बदलिँदो मौसमले हवाई उडानलाई प्रत्यक्ष प्रभावित पार्ने भएकाले मौसमको अवस्थाअनुसार उडान तालिका तय हुने गरेको उनले जानकारी दिए ।
दुई याममा सीमित खुम्बुको पर्यटन
सगरमाथा राष्ट्रिय निकुञ्ज, आधार शिविर, नाम्चे, खुम्जुङ, गोक्यो, थामे र लुक्लाजस्ता गन्तव्यहरू पदयात्रा तथा पर्वतारोहणका लागि विश्वभर प्रख्यात छन् । पर्यटनविद् आङछिरिङ शेर्पाका अनुसार खुम्बु क्षेत्रको पर्यटन विशेषगरी वसन्त र शरद् गरी दुई मुख्य याममा केन्द्रित छ ।
फागुनदेखि जेठसम्मको वसन्त याम र भदौ अन्तिमदेखि मङ्सिरसम्मको शरद् याममा यहाँ सर्वाधिक पर्यटक पुग्ने गर्छन् ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले शरद् यामको असोज र कात्तिकमा अत्यधिक चाप रहे पनि मङ्सिर लागेसँगै बढ्ने चिसोले पर्यटकीय गतिविधि स्वाभाविक रूपमै घट्ने बताए । आगामी दिनमा उच्च हिमाली भेगको मौसम थप प्रतिकूल बन्न सक्ने भएकाले पर्यटकको आगमन अझै घट्न सक्ने पर्यटन व्यवसायी तेम्बाछिरि शेर्पाको आकलन छ ।















