८ मंसिर २०८३, मंगलबार

अन्तिम चरणमा पुगेको सुनकोसी–मरिन ठेक्का किन रद्द भयो ? लेखा समितिले माग्यो कागजात



काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गर्नुको कारण र तत्सम्बन्धी सम्पूर्ण कागजात एक साताभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

टेन्डरको सबै प्रक्रिया पूरा भई अन्तिम चरणमा पुगिसकेको अवस्थामा ठेक्का रद्द गरिएको भन्दै समितिमा उजुरी परेपछि यस विषयमा छलफल अघि बढाइएको समितिका सभापति भरत खड्काले जानकारी दिए । सरकारबाट सात दिनभित्र आवश्यक कागजात प्राप्त भएपछि थप छानबिन र छलफल गरिने उनले बताए ।

सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रियागत त्रुटि गर्दै अन्तिम समयमा रद्द गरिएको र यसले राज्यलाई नै नोक्सानी पुर्‍याउने दाबी उजुरीमा गरिएको छ । आयोजनाले सन् २०२६ जुन ८ (वि.स. २०८३ जेठ २५) मा सूचना निकालेर बोलपत्र आह्वान गरे पनि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) अनुसार ठेक्का रद्द गरिएको जनाएको थियो।

उक्त दफामा सार्वजनिक निकायले ऐनले तोकेको खरिद प्रक्रिया पूरा नगरी गरेको खरिद बदर तथा अमान्य हुने व्यवस्था गरिएको छ। तर प्रक्रिया पूरा भइसकेको ठेक्का रहस्यमय ढङ्गले रद्द गरिएको भन्दै उजुरी परेपछि संसदीय समितिले यस विषयलाई गम्भीरतापूर्वक लिएको हो।

भएको के थियो ?

वि.सं. २०७९ मा पटेल–रमण जेभीले ५५ महिनामा काम सक्ने गरी १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा उक्त आयोजनाको ठेक्का लिएको थियो । तर, ३३ महिना बितिसक्दा पनि स्थायी संरचनातर्फको प्रगति १० प्रतिशतभन्दा कम रहेपछि पुरानो ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको थियो ।

त्यसपछि सुरु गरिएको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला गत कात्तिक १३ गते सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना प्रमुखलाई सिंहदरबारमा केरकार तथा प्रहरी नियन्त्रणमा लिइएको थियो । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको निर्देशनमा महानिर्देशक रजौरियालाई नियन्त्रणमा लिएर भोलिपल्टै अर्थात् कात्तिक १४ गते ठेक्का रद्द गर्न लगाइएको आरोप लागेको छ ।

यसकारण समितिले ठेक्का रद्द गर्नुको कारण र त्यससम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो। कागजात प्राप्त भएपछि ठेक्का रद्द गर्ने निर्णय कानुनसम्मत थियो वा थिएन भन्ने विषयमा थप छानबिन गरिनेछ।