१५.३९ अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम पनि साढे ५ अर्ब नाघ्यो
काठमाडौँ। मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १५.३९ अंकले उकालो लाग्दै २६३८.९५ विन्दुमा पुगेर बन्द भएको हो।
सोमबारको सामान्य वृद्धिलाई निरन्तरता दिँदै बजार मंगलबार पनि उकालो लागेको हो। सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ।
बजारमा आज १ करोड ४६ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा आएका कम्पनीहरूमध्ये १६५ वटाको सेयर मूल्यमा हरियाली छाएको छ भने १११ वटा कम्पनीको मूल्य ओरालो लागेको छ। यस्तै, ३ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन आएन।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटाको सूचक बढ्दा २ वटा मात्र घटेका छन्। बैंकिङ्ग उपसमूह सर्वाधिक १.२४ प्रतिशत र विकास बैंक १.0४ प्रतिशतले उकालो लाग्दा लघुवित्त र ‘अन्य’ उपसमूहमा भने सामान्य गिरावट देखिएको छ।
आजको कारोबारमा एभरेष्ट कलरका लगानीकर्ताले सबैभन्दा धेरै ५.०५ प्रतिशतले कमाएका छन्। त्यसैगरी, माउन्टेन हाइड्रोको ३.४२ प्रतिशत, सिटी होटलको ३.०९ प्रतिशत, जनउत्थान लघुवित्तको ३.०१ प्रतिशत र सिटिजन्स बैंक डिबेन्चरको सेयर मूल्य ३ प्रतिशतले उकालो लागेको छ।
यस्तै, आज उच्च कारोबार हुने कम्पनीमा सोल्टी होटल रहेको छ। २० प्रतिशत बोनस र १६.८४२१ प्रतिशत नगद लाभांश घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढ्दा सोल्टी होटल ३२ करोड १७ लाख रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रह्यो।















