अवैध कारोबारमा जफत गरिएको ७ किलो बढी सुन र साढे ५६ किलो चाँदी राष्ट्र बैंकद्वारा खरिद
काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारी निकायहरूबाट बरामद भई प्राप्त भएका सुन तथा चाँदीका धातु प्रशोधन गरी ७ किलो ३८४.९० ग्राम सुन र ५६ किलो ५६६.२० ग्राम चाँदी खरिद गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा भन्सार ऐनलगायत प्रचलित कानुनविपरीतका गतिविधि नियन्त्रणका क्रममा सरकारका विभिन्न निकायले जफत गरेका सुन तथा चाँदीजन्य धातुलाई प्रशोधन गरेर बैंकले उक्त परिमाणमा बहुमूल्य धातु किनेको हो ।
यसैगरी, समीक्षा अवधिमा विभिन्न सरकारी निकाय तथा सङ्घसंस्थाको मागबमोजिम राष्ट्र बैंकले १ हजार ४८२ थान पदक टकमरी (छपाइ/निर्माण) गरी उपलब्ध गराएको जनाएको छ । विशेष समारोह र सार्वजनिक कार्यक्रममा वितरण गरिने विभिन्न प्रकृतिका पदकहरूको मागअनुसार बैंकले टकमरी सेवा प्रदान गरेको हो ।
यस्तै, बैंकले सार्वजनिक निकाय, परोपकारी संस्था तथा मठमन्दिरको आवश्यकताअनुसार ७३ ग्राम कच्चा सुन र २ हजार ५७९.१ ग्राम कच्चा चाँदीसमेत बिक्री गरेको छ । सर्वसाधारणको दैनिक आर्थिक कारोबारलाई सहज बनाउने उद्देश्यले एक र दुई रुपैयाँ दरका प्रचलनमा रहेका सिक्काहरूको नियमित बिक्री वितरणलाई पनि निरन्तरता दिइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।















