परनिर्भरताको फराकिलो आकार: ६ खर्ब नाघ्यो व्यापार घाटा, आयात–निर्यात दुवैमा भटमासको तेलकै राज
काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती चार महिनामा नेपालको निर्यात व्यापारमा उल्लेखनीय सुधार आए पनि मुलुकको व्यापार घाटा झनै फराकिलो बन्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कात्तिक मसान्तसम्मको वैदेशिक व्यापार तथ्यांकअनुसार निर्यातको तुलनामा आयातको आकार निकै ठूलो हुँदा व्यापार असन्तुलन बढेको हो।
भन्सार विभागको तथ्यांकअनुसार चालु आवको पहिलो चार महिनामा कुल ८ खर्ब ३ अर्ब ९ करोड ८७ लाख रुपैयाँ बराबरको आयात हुँदा राज्यले १ खर्ब ८८ अर्ब ८० करोड ८० लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।
अघिल्लो आव २०८२/८३ को सोही अवधिमा ६ खर्ब ९ अर्ब रुपैयाँको आयात भएकोमा यस वर्ष आयात ३१.७७ प्रतिशतले उकालो लागेको हो।
अर्कोतर्फ, समीक्षा अवधिमा नेपालबाट १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । गत वर्षको पहिलो चार महिनामा ९३ अर्ब रुपैयाँमा सीमित रहेको निर्यात यस वर्ष ४३.४८ प्रतिशतले बढेको हो।
निर्यातमा उच्च वृद्धिदर देखिए पनि आयातको विशाल आयतनका कारण व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा यस्तो घाटा ५ खर्ब १५ अर्ब रुपैयाँ थियो।
व्यापारमा भटमासको तेल र राजस्वमा इन्धन शीर्ष स्थानमा
रोचक तथ्य के छ भने, आयातमा पहिलो नम्बरमा रहेको भटमासको तेल नै नेपालको निर्यातको पनि मुख्य आधार बनेको छ । व्यापारमा शीर्ष स्थानमा रहेको कच्चा भटमासको तेल ३५ करोड ४५ लाख ४ हजार ६ सय ५९ लिटर भित्रिएको छ, जसको वास्तविक मूल्य ६२ अर्ब ८१ करोड ३९ लाख रुपैयाँ रहेको छ। कच्चा भटमासको तेल आयातबाट राज्यलाई १ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ मात्र राजस्व पनि प्राप्त भएको छ।
निर्याततर्फको तथ्यांक हेर्दा, विदेशबाट कच्चा पदार्थका रूपमा भित्र्याइएको उक्त भटमासको तेललाई प्रशोधन गरी नेपालले चार महिनामा ६१ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको विभागको तथ्यांकले देखाउँछ ।
यस्तै, सबैभन्दा बढी राजस्व संकलन भने इन्धनतर्फ भएको देखिन्छ। समीक्षा अवधिमा ५९ अर्ब २८ करोड ३४ लाख रुपैयाँ बराबरको ३ लाख ४९ हजार किलोलिटर डिजेल आयात हुँदा १३ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ राजस्व उठेको छ।
यसैगरी, ३४ अर्ब ४२ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ३९ हजार ७ सय ९८ किलोलिटर पेट्रोल भित्रिँदा १० अर्ब ५९ करोड ९६ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको विभागले जनाएको छ।
आयातको चौथो मुख्य वस्तुका रूपमा खाना पकाउने एलपी ग्यास रहेको छ। चार महिनामा २९ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बराबरको ग्यास आयात भएको छ, जसबाट सरकारले ५ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ।















