९ मंसिर २०८३, बुधबार

इसेवा र फोनपेको माउ कम्पनी एफवान सफ्ट सेयर ब्रोकर व्यवसायमा प्रवेश गर्दै



डिजिटल भुक्तानी र बैंकिङ प्रविधिमा स्थापित एफवान सफ्ट ग्रुपले ‘भोलेगणेश सेक्युरिटिज’ खरिद गरेर सेयर कारोबारको सेवा समेत विस्तार गर्ने रणनीतिक तयारी थालेको छ।

काठमाडौँ । डिजिटल भुक्तानी र वित्तीय प्रविधिको क्षेत्रमा अग्रणी मानिने एफवान सफ्ट ग्रुपले अब सेयर कारोबार (धितोपत्र दलाल) व्यवसायमा समेत हात हाल्ने तयारी गरेको छ। इसेवा र फोनपेको माउ संस्थाका रूपमा परिचित यस समूहले आफ्नो व्यावसायिक दायरा फराकिलो बनाउने रणनीतिअनुसार ब्रोकर नम्बर ६१ अर्थात् ‘भोलेगणेश सेक्युरिटिज लिमिटेड’ खरिद गर्ने प्रक्रिया अघि बढाएको हो।

कम्पनी स्वामित्व हस्तान्तरणका लागि एफवान सफ्ट र भोलेगणेश सेक्युरिटिजका प्रवर्द्धकहरूबीच अहिले सघन छलफल चलिरहेको छ। दुवै पक्षका अधिकारीहरूले खरिदबिक्री प्रक्रिया अघि बढेको पुष्टि गरेका छन्। एफवान सफ्टका एक वरिष्ठ अधिकारीका अनुसार हाल सम्झौताका लागि आवश्यक वार्तासँगै कम्पनीको विस्तृत वित्तीय तथा कानुनी मूल्याङ्कन (ड्यु डिलिजेन्स अडिट–डीडीए) भइरहेको छ।

अहिले वार्ताकै चरणमा रहेकाे र डीडीएका लागि परामर्शदाता नियुक्त भएर काम समेत सुरु भइसकेको सम्बद्ध अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार औपचारिक घोषणा गर्ने अन्तिम विन्दुमा पुग्न बाँकी रहेकाले मात्र यसलाई सार्वजनिक नगरिएको हो।

खरिदबिक्रीको संवाद केही महिनाअघि नै सुरु भए पनि चाडपर्वका कारण बीचमा केही समय प्रक्रिया सुस्ताएको थियो। अहिले भने डीडीएसहितका प्राविधिक कामले पुनः गति लिएको बताइएको छ। यता भोलेगणेश सेक्युरिटिजका एक लगानीकर्ताले कम्पनी बिक्रीको स्वीकृतिका लागि करिब ६ महिनाअघि नै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकिएको जानकारी दिए। बोर्डबाट अन्तिम स्वीकृति आउन भने अझै बाँकी छ।

मुख्यतः वित्तीय प्रविधि (फिनटेक) मा केन्द्रित एफवान सफ्टले पछिल्लो समय समग्र वित्तीय सेवा क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ। समूहअन्तर्गत हाल फोनपेले भुक्तानी प्रणाली सञ्चालक र इसेवाले भुक्तानी सेवा प्रदायकका रूपमा काम गरिरहेका छन्। यसका अलावा ‘फोनइन्स्योर’ मार्फत बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने तथा डिजिटल बैंकिङका पूर्वाधार निर्माणमा पनि समूह सक्रिय छ।

डिजिटल भुक्तानीलाई गाउँगाउँसम्म पुर्‍याएजस्तै पुँजी बजारका लगानी सेवालाई पनि आम नागरिकको मोबाइल र पहुँचमा पुर्‍याउने उद्देश्यले ब्रोकर कम्पनी रोजिएको एफवान सफ्टको भनाइ छ।

प्रविधिमा मात्र सीमित नभई फिनटेक र वित्तीय सेवा दुवैलाई सँगसँगै लैजान चाहेका कारण ब्राेकर कम्पनी खरीद गर्न लागेकाे फाेनपे सम्बद्ध स्राेतकाे दाबी छ । यसबाट व्यावसायिक विविधीकरण समेत हुने र वित्तीय क्षेत्रकै अर्काे पाटाेमा लागिने भएकाले लिंकअप पनि रहने अधिकारीहरूले बताएका छन् ।

पुँजी बजारका अनुभवी लगानीकर्ताहरूको संलग्नतामा खुलेको भोलेगणेश सेक्युरिटिजले नयाँ ब्रोकर लाइसेन्स पाएर विसं २०८० असार २८ गतेदेखि औपचारिक कारोबार थालेको थियो। छोटो समयमै बजारमा राम्रो उपस्थिति बनाएको यस कम्पनीको व्यावसायिक आकार पनि उल्लेख्य छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा भोलेगणेश सेक्युरिटिजमार्फत ४५ अर्ब ९७ करोड १४ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। उक्त अवधिमा ११ करोड २२ लाख ८६ हजारभन्दा बढी कित्ता धितोपत्र किनबेच हुँदा कम्पनीले कमिसनबापत मात्र ९ करोड १५ लाख ३९ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको नेप्सेको विवरणमा उल्लेख छ।