९ मंसिर २०८३, बुधबार

सफ्टवेयर इन्जिनियरिङप्रतिको मोह भङ्ग, भारतका ७२% आईटी कामदार पेसा बदल्न इच्छुक



रोजगारी कटौती र कार्यस्थलको अनिश्चितता बढ्दै जाँदा भारतका ७२ प्रतिशत प्रविधि कामदारहरू समान पारिश्रमिक पाए भोलि नै पेसा बदल्न तयार देखिएका छन् भने ५६ प्रतिशतले आफ्ना सन्तानलाई यो क्षेत्रमा नआउन सुझाव दिएका छन्।

काठमाडाैँ । प्रविधि उद्योगमा कर्मचारी कटौतीको क्रम बढ्दै जाँदा भारतका धेरैजसो प्रविधि (टेक) कामदारहरू केवल तलबकै कारण मात्र यो क्षेत्रमा टिकिरहेको देखिएको छ। पेसाकर्मीहरूको गुमनाम सामुदायिक एप ‘ब्लाइन्ड’ले भारतमा कार्यरत २ हजार ९५८ जना पेसाकर्मीमाझ गरेको एक सर्वेक्षणमा ७२ प्रतिशतले कुनै अतिरिक्त खर्च वा पुनः तालिम नचाहिने हो भने भोलि नै पूर्ण रूपमा फरक पेसामा जान तयार रहेको बताए।

सर्वेक्षणमा सहभागीमध्ये सबैभन्दा ठूलो समूह अर्थात् ४२ प्रतिशतले हाल खाइपाई आएको जति नै तलब कायम रहेमा पेसा बदल्ने उल्लेख गरे। हालको काममा खुसी छु भन्नेहरूको सङ्ख्या भने जम्मा १३ प्रतिशत मात्र रह्यो।

पेसा छोड्ने तीव्र इच्छा इन्ट्युटका कर्मचारीमा सबैभन्दा बढी (८९ प्रतिशत) देखियो। त्यसपछि गोल्डम्यान स्याक्समा ८७ प्रतिशत, पेपालमा ८७ प्रतिशत, भिसामा ८६ प्रतिशत र एक्सपेडिया ग्रुपमा ८३ प्रतिशत कामदारले पेसा बदल्ने चाहना राखे।

यस वर्ष भारतमा करिब १२ हजार रोजगारी कटौती गरेको भनिएको ओरेकलका ७९ प्रतिशत कर्मचारीले पेसा फेर्ने इच्छा देखाए। यस्तै, ब्लाइन्ड प्रयोगकर्ताहरूले भारतमा ‘गुपचुप कर्मचारी कटौती’ भइरहेको भनी उल्लेख गरेका सेल्सफोर्सका ७९ प्रतिशत र एडोबका ७८ प्रतिशत कामदार पनि अन्यत्र जान तयार देखिए। सबैभन्दा कम मानिएका मेटा र एप्पलमा समेत आधाभन्दा बढी कर्मचारीले अवसर पाए पेसा बदल्ने बताए।

प्रविधि क्षेत्रमै टिक्ने कि बाहिरिने?

सफ्टवेयर इन्जिनियरिङ छोड्ने विषयमा भारतबाट ब्लाइन्डमा लेखिने पोस्टहरू सन् २०२५ को तुलनामा ३७.५ प्रतिशतले बढेका छन्। भारतका बढ्दो सङ्ख्याका प्रविधि कामदारहरूका लागि अब कुन नयाँ कम्पनीमा जाने भन्ने प्रश्न मुख्य रहेन, बरु प्रविधि क्षेत्रमै बसिरहने कि नबसिरहने भन्ने चिन्ता प्रमुख बनेको छ।

सर्वेक्षणमा सहभागी ५६ प्रतिशतले आफ्ना सन्तानलाई प्रविधि क्षेत्रमा आउन प्रोत्साहन नगर्ने बताए। तीमध्ये झन्डै प्रत्येक तीन जनामा एक जनाले त निश्चित रूपमा यो क्षेत्रमा नल्याउने धारणा राखे। युवा भारतीयहरूले सबैभन्दा बढी काम गर्न रुचाउने ठूला कम्पनीका कर्मचारीहरूमा समेत यस्तै सोच पाइयो। सर्वेक्षणमा सबैभन्दा धेरै सहभागी रहेको माइक्रोसफ्टका ६७ प्रतिशत कामदारले आफ्ना सन्तानलाई प्रविधि क्षेत्रबाट टाढै राख्ने बताए भने गुगल र अमेजनका ५० प्रतिशतभन्दा बढी कर्मचारीको पनि यस्तै मत रह्यो।

अबको रोजाइ कता?

आजको दिनमा करियर सुरु गर्न लागेका नयाँ पुस्तालाई कुन बाटो रोज्न सुझाव दिनुहुन्छ भनी सोधिएको प्रश्नमा सहभागीहरूले कृत्रिम बौद्धिकता (एआई) ले सहजै विस्थापित गर्न नसक्ने काम वा स्वयं एआई क्षेत्रलाई नै प्राथमिकता दिए। जसमा चिकित्सा तथा स्वास्थ्य सेवा ३४ प्रतिशतका साथ पहिलो रोजाइमा पऱ्यो भने १५ प्रतिशतले सरकारी वा सार्वजनिक क्षेत्रको जागिर रोजे। एआई र मसिन लर्निङ १९ प्रतिशतका साथ दोस्रो स्थानमा रह्यो।

भारतमा जीवनभरमा सबैभन्दा बढी कमाइ हुने पेसा कुन हो भन्ने ब्लाइन्डको एक छलफलमा एप्पलका एक कर्मचारीले लेखे, “आईएएस (निजामती सेवा) र त्यसपछि आईपीएस। राजनीतिज्ञहरूले भन्दा बढी कमाउँछन् र कहिल्यै चुनाव हारेर पदमुक्त हुनुपर्दैन।” अर्को एक छलफलमा सिस्कोका कर्मचारीले शारीरिक श्रम र सीप चाहिने पेसाहरूको सूची दिँदै लेखे, “ल्यान्डस्केपर, प्लम्बर, एचभीएसी प्राविधिक, दन्त चिकित्सक, पशु चिकित्सक, फिजियोथेरापिस्ट र नर्स।”

लामो समयदेखि भारतमा सबैभन्दा सुरक्षित करियर मानिँदै आएको सफ्टवेयर इन्जिनियरिङ भने सूचीको सबैभन्दा पुछारमा पुग्यो। सातवटा विकल्पमध्ये जम्मा ४ प्रतिशतले मात्र यसलाई रोजे भने गुगल, मेटा वा एनभिडियाका एक जना सहभागीले पनि सफ्टवेयर इन्जिनियरिङ रोजेनन्। स्न्यापका एक कर्मचारीले लेखे, “म मेरा सन्तानलाई केही हदसम्म कम्प्युटर विज्ञान (सीएस) पढ्न त अझै प्रोत्साहन गर्छु, तर सफ्टवेयर इन्जिनियर बन्नका लागि भने पक्कै भन्दिनँ।”