९ मंसिर २०८३, बुधबार

ललितपुरमा सर्वाधिक आयकर बुझाउने कम्पनी बन्यो सीजी मोटर्स



काठमाडाैँ । आर्थिक वर्ष २०८१/८२ मा ललितपुर क्षेत्रका करदातामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा सीजी मोटर्स प्रालि सम्मानित भएको छ। चौधरी ग्रुपअन्तर्गतको अटोमोटिभ एकाइका रूपमा सञ्चालित यस कम्पनीलाई आन्तरिक राजस्व कार्यालय, ललितपुरले उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको हो।

ललितपुरको सानेपास्थित चौधरी ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच आन्तरिक राजस्व कार्यालय, ललितपुर–१ का प्रमुख कर अधिकृत शिवकुमार राईले चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं सीजी मोटर्सका अध्यक्ष निर्वाण चौधरीलाई सम्मानपत्र हस्तान्तरण गरे।

सम्मान ग्रहणपछि अध्यक्ष चौधरीले कर प्रशासनबाट प्राप्त कदरलाई कम्पनीको व्यावसायिक पारदर्शिता र मुलुकको अर्थतन्त्रप्रतिको उत्तरदायित्वका रूपमा लिएको बताए। व्यवसायको सफलता नाफा र बजार विस्तारमा मात्र मापन नहुने उल्लेख गर्दै उनले राज्यप्रतिको दायित्व इमानदारीपूर्वक पूरा गर्नु निजी क्षेत्रको प्रमुख कर्तव्य भएको धारणा राखे।

“कर राष्ट्र निर्माणको मेरुदण्ड हो,” चौधरीले भने, “यो सम्मानले हामीलाई आगामी दिनमा अझ बढी जिम्मेवार र जवाफदेही भएर व्यावसायिक यात्रा अघि बढाउन हौसला दिएको छ।”

नेपाली बजारमा विद्युतीय तथा अन्य आधुनिक सवारीसाधनको आयात, बिक्री र बजारीकरण गर्दै आएको सीजी मोटर्सले विश्वबजारका प्रतिष्ठित अटोमोबाइल ब्रान्डहरू भित्र्याएर यातायात क्षेत्रको रूपान्तरणमा भूमिका खेल्दै आएको छ।

मुलुककै प्रमुख व्यावसायिक घराना चौधरी ग्रुपका अन्य कम्पनीहरूले पनि यसअघि कर सहभागितामा अग्रस्थान हासिल गरिसकेका छन्। गत मङ्सिर १ गते राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आन्तरिक राजस्व विभागले ग्रुपकै अर्को भगिनी संस्था सीजी इम्पेक्सलाई वस्तु व्यापारतर्फ देशकै सर्वाधिक आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गरेको थियो।

त्यसैगरी, निर्वाण चौधरीकै अध्यक्षतामा रहेको नबिल बैंक लिमिटेड पनि बैंक तथा वित्तीय संस्थाहरूको समूहबाट सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित भइसकेको छ।