नबिल ग्रोथ फण्ड बिक्रीमा : ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला
काठमाडौँ । ‘नबिल ग्रोथ फण्ड’को सार्वजनिक निष्काशन आजदेखि सुरु भएको छ। योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाई बिक्री खुला गरेको हो।
नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउन लागेको यस सामूहिक लगानी कोषको आकार १ अर्ब रुपैयाँको रहेको छ, जसमा १० करोड इकाई रहनेछन्।
यस योजनामा कोष प्रवर्द्धक नबिल बैंक र योजना व्यवस्थापकका लागि बीज पूँजीबापत १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित राखिएको छ। जसमा नबिल बैंकको हिस्सा १४ प्रतिशत (१ करोड ४० लाख इकाई) र नबिल इन्भेष्टमेन्ट बैंकिङको हिस्सा १ प्रतिशत (१० लाख इकाई) रहेको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो।
कति र कहिलेसम्म दिन पाइन्छ आवेदन?
इच्छुक लगानीकर्ताले न्यूनतम १ सय इकाई (१ हजार रुपैयाँ) देखि अधिकतम १ करोड इकाई (१० करोड रुपैयाँ) सम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।
इकाई खरिदका लागि आजदेखि मंसिर १४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा भने मंसिर २३ गतेसम्म समय लम्बिने बिक्री प्रबन्धकले जनाएको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयका साथै सिडिएससीको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सहजै आवेदन दिन सक्नेछन्।
नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव र बलियो विश्वास कमाएको नबिल बैंकको प्रवर्द्धन तथा अनुभवी कोष व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने भएकाले यो योजना लगानीकर्ताका लागि सुरक्षित र भरपर्दो मानिएको छ।
विशेषगरी शेयर बजारको प्राविधिक विश्लेषण गर्न समय नहुने, नयाँ लगानीकर्ता तथा जोखिम कम गरी दीर्घकालीन रूपमा पूँजी वृद्धि गर्न चाहनेहरूका लागि दक्ष जनशक्तिमार्फत विविधीकृत क्षेत्रमा लगानी हुने यस फण्डले उत्कृष्ट प्रतिफलको अवसर प्रदान गरेको छ।















