व्यापार युद्धको नयाँ तरंग : ट्रम्पद्वारा चीन र भारतसहित १४ देशका सामानमा चर्को कर लगाउने घोषणा
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, भारत र युरोपेली संघ (ईयू) सहित विश्वका १४ प्रमुख व्यापारिक साझेदार देश तथा क्षेत्रबाट आयात हुने सामानमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लागू गर्ने घोषणा गरेका छन् ।
प्रस्तावित नयाँ दरअनुसार चिनियाँ वस्तुमा सबैभन्दा उच्च ४० प्रतिशतसम्म र भियतनामबाट आउने सामानमा ३५ प्रतिशतसम्म भन्सार लगाइनेछ । त्यस्तै, सूचीमा परेका अन्य देशका उत्पादनमा २० देखि २५ प्रतिशतसम्म शुल्क लाग्ने सीएनएनले उल्लेख गरेको छ ।
नयाँ शुल्कको दायरामा चीन, युरोपेली संघ, भारत, जापान, दक्षिण कोरिया, ताइवान, सिंगापुर, स्वीटजरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, भियतनाम र बंगलादेश रहेका छन् ।
आगामी वर्षदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको यो शुल्क केही देशसँग पहिले नै भएका व्यापार सम्झौताका सीमाका कारण व्यवहारमा केही कम हुन सक्ने बताइएको छ ।
सर्वोच्चको आदेशपछि ट्रम्प प्रशासनको नयाँ रणनीति
यसअघि ट्रम्प प्रशासनले ल्याएको ‘लिबरेसन डे’ भन्सार शुल्कलाई अमेरिकी सर्वोच्च अदालतले अवैध ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चदेखि विभिन्न देशका व्यापारिक नीतिमाथि अनुसन्धान थालेको थियो । सोही अनुसन्धानको निष्कर्षका आधारमा अहिले नयाँ भन्सार दर घोषणा गरिएको हो ।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले दशकौंदेखि साझेदार देशहरूले अपनाएको अनुचित औद्योगिक र श्रम रणनीतिका कारण अमेरिकी उत्पादन क्षेत्र कमजोर बनेको दाबी गरे । नयाँ शुल्कले अमेरिकी कामदारलाई समान प्रतिस्पर्धाको अवसर दिने र विश्व अर्थतन्त्रलाई सन्तुलित बनाउने उनको भनाइ छ ।
मुद्रास्फीति बढ्ने चिन्ता
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले अपेक्षाकृत कमजोर नतिजा व्यहोरे पनि राष्ट्रपति ट्रम्पले आफ्नो ‘अमेरिका फर्स्ट’ व्यापार नीतिलाई आक्रामक रूपमै अघि बढाएका छन् । आन्तरिक उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र अमेरिकाको चुलिँदो व्यापार घाटा कम गर्ने उद्देश्यले यो कदम चालिएको ह्वाइट हाउसको दाबी छ ।
यद्यपि, अर्थशास्त्रीहरूले भने यस निर्णयप्रति चिन्ता व्यक्त गरेका छन् । आयातित वस्तुमा भन्सार कर बढ्दा व्यवसायीहरूले त्यसको अतिरिक्त भार उपभोक्तामाथि सार्ने र यसले अमेरिकामा पुनः महँगी (मुद्रास्फीति) बढाउन सक्ने उनीहरूको चेतावनी छ ।















