दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम ५ अर्बमा सीमित
काठमाडौँ। बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८९ अंकले ओरालो लाग्दै २६३६.७५ विन्दुमा आएर बन्द भएको हो। परिसूचक घटेसँगै बजारमा कुल १ करोड ४७ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार कारोबारमा आएका कम्पनीमध्ये १७९ वटाको सेयर मूल्यमा गिरावट आएको छ भने ८६ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्यस्तै, १४ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन।
आज कारोबार भएका १३ उपसमूहमध्ये लगानी उपसमूहको परिसूचक सामान्य अंकले बढ्दा बाँकी १२ वटा उपसमूह राताम्य रहे। तीमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशतले घटेको छ।
सेयर बजारमा गिरावट आउँदा पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो नाफा कमाएका छन्। यस दिन सर्वाधिक कमाउने शीर्ष कम्पनीहरूमा युनिक नेपाल लघुवित्त अगाडि रहेको छ, जसको सेयर मूल्य ४.८८ प्रतिशतले बढेको छ।
त्यसैगरी, लक्ष्मी उन्नति कोषको सेयर मूल्य ४.२९ प्रतिशत, गार्डियन माइक्रो लाइफको ४ प्रतिशत, हाथ्वे इन्भेष्टमेन्टको ३.९८ प्रतिशत र एनआईसी एसिया सेलेक्ट फण्डको मूल्य ३.८२ प्रतिशतले उकालो लागेको छ।
कारोबार रकमका आधारमा हिमालयन उर्जा विकास कम्पनी २४ करोड रुपैयाँको कारोबार सहित पहिलो स्थानमा रह्यो। त्यसपछि पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २२ करोड रुपैयाँभन्दा बढी र एनआईसी एशिया बैंकको १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।















