अध्यादेशमार्फत विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने सरकारको तयारी, २६ कम्पनी अनुमतिपत्रको पर्खाइमा
विद्युत् ऐन, २०४९ लाई अध्यादेशमार्फत संशोधन गरी निजी क्षेत्रलाई बिजुली व्यापार, ऊर्जा भण्डारण र प्रसारण लाइन निर्माणमा सहभागी गराउने कानूनी बाटो खोल्न सरकारले मस्यौदा तयार पारेको छ।
काठमाडौँ । वर्षौंदेखि विद्युत् उत्पादनमा मात्र सीमित रहँदै आएको निजी क्षेत्रलाई अब बिजुली खरिद–बिक्रीको व्यापारमा समेत सहभागी गराउने कानूनी बाटो खुल्ने भएको छ। सरकारले अध्यादेशमार्फत विद्यमान विद्युत् ऐन, २०४९ संशोधन गरी निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिने तयारी अगाडि बढाएको हो।
लगानी तथा पूर्वाधारसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न तयार पारिएको अध्यादेश, २०८३ को मस्यौदामा विद्युत् व्यापारलाई छुट्टै व्यावसायिक गतिविधिका रूपमा परिभाषित गरिएको छ। प्रस्तावित मस्यौदाअनुसार अब निजी कम्पनीहरूले विद्युत् उत्पादन मात्र नभई स्वतन्त्र ऊर्जा भण्डारण प्रणाली सञ्चालन तथा प्रसारण र वितरण प्रणालीमा समेत सहभागिता जनाउन पाउनेछन्।
मस्यौदाको दफा ४ मा विद्युत् व्यापार र ऊर्जा भण्डारण प्रणाली सञ्चालनका लागि अनिवार्य रूपमा अनुमतिपत्र लिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यस्तो अनुमतिपत्र प्राप्त गर्न इच्छुक कम्पनीले तोकिएको आर्थिक, प्राविधिक तथा संस्थागत योग्यता पूरा गर्नुपर्ने शर्त राखिएको छ।
लामो समयदेखि कानूनी अभाव देखाउँदै निजी क्षेत्रलाई व्यापारको अनुमति नदिएको सरकारले समग्र लगानी वातावरण सुधार गर्ने उद्देश्यले अध्यादेशको सहारा लिन लागेको हो।
नियमावलीको काम सँगसँगै
कानूनी स्पष्टता नहुँदा सरकारले यसअघि विद्युत् व्यापारका लागि आवेदन दिएका कम्पनीहरूलाई आशयपत्र अर्थात् ‘लेटर अफ इन्टेन्ट’ (एलओआई) मात्र जारी गर्दै आएको थियो। हालसम्म दुई दर्जनभन्दा बढी कम्पनीले यस्तो आशयपत्र पाइसकेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेलले अध्यादेशको मस्यौदासँगै यसको कार्यान्वयनका लागि आवश्यक नियमावली निर्माणको काम पनि समानान्तर रूपमा भइरहेको बताए। आशयपत्र पाउँदैमा स्वतः अनुमतिपत्र नपाइने स्पष्ट पार्दै पौडेलले अन्तिम अनुमतिपत्र वितरण गर्दा कम्पनीको क्षमता र तोकिएका मापदण्ड कडाइका साथ हेरिने जानकारी दिए। सक्षम र योग्य कम्पनीले मात्र व्यापारको अनुमति पाउने उनको भनाइ छ।
सरकारबाट हालसम्म आशयपत्र पाउने २६ कम्पनीमा ट्रान्स एसिया पावर ट्रेडिङ, हिमालय पावर ट्रेड एण्ड एक्सचेन्ज, कृष्णप्रसाद आचार्य र आशिष गर्ग लगायतको लगानी रहेको नेपाल पावर एक्सचेन्ज (नेपेक्स) तथा भाटभटेनी समूहको लगानी रहेको नेपाल पावर ट्रेडिङ एण्ड म्यानेजमेन्ट लिमिटेड छन्।
यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाको पावर ट्रेड एण्ड इको इनर्जी लिमिटेड, क्रस बोर्डर इनर्जी, ग्रिन इनर्जी ट्रेड लगायतका कम्पनी पनि आशयपत्र प्राप्त गर्ने सूचीमा छन्।
प्रसारण लाइनमा खुला पहुँच र ५० वर्षे अनुमतिपत्र
प्रस्तावित अध्यादेशको मस्यौदामा प्रसारण तथा वितरण प्रणालीमा तेस्रो पक्षलाई ‘खुला पहुँच’ (ओपन एक्सेस) दिने महत्त्वपूर्ण व्यवस्था समेटिएको छ। यो प्रावधान लागू भएमा अनुमतिपत्र प्राप्त निजी कम्पनीहरूले निश्चित शुल्क तिरेर नेपाल विद्युत् प्राधिकरण वा अन्य संस्थाको प्रसारण लाइन प्रयोग गरी बिजुली ओसारपसार र बिक्री गर्न सक्नेछन्।
प्रणाली प्रयोग गरेबापत लाग्ने ‘ह्वीलिङ शुल्क’, प्रसारण क्षमता, विद्युत् चुहावट, मिटरिङ र भुक्तानीसम्बन्धी मापदण्ड विद्युत् नियमन आयोगले निर्धारण गर्ने प्रस्ताव मस्यौदामा छ। यद्यपि, खुला पहुँच दिँदा राष्ट्रिय ग्रिडको सुरक्षा, प्राविधिक क्षमता र पुराना सम्झौताबाट सिर्जित दायित्वलाई ध्यान दिनुपर्ने शर्त राखिएको छ।
यसैगरी, प्रतिस्पर्धात्मक प्रक्रियाबाट निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा समेत सहभागी गराउने प्रस्ताव मस्यौदामा छ। सार्वजनिक–निजी साझेदारी वा अन्य स्वीकृत ढाँचामा बन्ने यस्ता प्रसारण आयोजना र जलविद्युत् आयोजना दुवैको अनुमतिपत्र अवधि अधिकतम ५० वर्षसम्म कायम गर्न प्रस्ताव गरिएको छ।
एउटै क्षेत्रमा एकभन्दा बढी वितरण कम्पनीलाई अनुमति दिन सकिने, विकासकर्ताको नियन्त्रणबाहिरको परिस्थितिले आयोजना ढिला भए म्याद थप्न सकिने र आयोजना स्वीकृतिका लागि एकद्वार प्रणाली लागू गर्ने विषय पनि मस्यौदामा अटाएका छन्।
आशयपत्र वितरणमा निजी क्षेत्रकै प्रश्न
सरकारले पर्याप्त मापदण्डबिना नै ठूलो सङ्ख्यामा कम्पनीहरूलाई आशयपत्र बाँडेको भन्दै निजी क्षेत्रभित्रै मतभेद देखिएको छ। कतिपय व्यवसायीले जथाभावी आशयपत्र दिँदा वास्तविक र सक्षम लगानीकर्ता ओझेलमा पर्ने चिन्ता व्यक्त गरेका छन्।
नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) का निर्देशक आशिष गर्गले विद्युत् व्यापार उच्च प्राविधिक र वित्तीय क्षमता चाहिने क्षेत्र भएकाले कम्पनीको पूँजी, अनुभव र पूर्वाधार हेरेर मात्र प्रक्रिया अघि बढाउनुपर्ने बताए। करिब सात वर्षअघि दुई अर्ब रुपैयाँ पूँजीमा ७० वटा संस्थागत लगानीकर्ता मिलेर नेपेक्स स्थापना गरे पनि कानूनी ढिलाइले काम रोकिएको उनको गुनासो छ।
मापदण्डबिना धेरै कम्पनीलाई आशयपत्र दिँदा भारतलगायतका अन्तर्राष्ट्रिय बजारमा साझेदार खोज्न जाँदा नेपाली कम्पनीहरूको व्यावसायिक विश्वसनीयता कमजोर देखिन सक्ने गर्गको भनाइ छ।
अर्कोतर्फ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले आशयपत्रभन्दा पनि अब सिधै अन्तिम अनुमतिपत्र दिएर काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। निजी क्षेत्रले लामो समयदेखि तयारी गरिरहेकाले अनुमतिपत्र पाएको १५ दिनदेखि एक महिनाभित्रै कारोबार सुरु गर्न सकिने भ्लोनले बताए।
तर, त्यसअघि सरकारले ह्वीलिङ शुल्क, बिलिङ प्रणाली, विद्युत् असन्तुलन व्यवस्थापन र विवाद समाधान संयन्त्रजस्ता प्राविधिक तथा नियामकीय काम तत्काल टुङ्ग्याउनुपर्ने उनको सुझाव छ।

















