बैंकर्स संघको ४० औँ साधारणसभा आजः अध्यक्ष बन्दै सुरेन्द्र रेग्मी, उपाध्यक्षमा रामचन्द्र खनाल
काठमाडौँ । मुलुकका वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले आज नयाँ नेतृत्व पाउँदै छ । काठमाडौँमा आयोजित संघको ४० औँ वार्षिक साधारणसभाले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र रेग्मीलाई नयाँ अध्यक्षमा चयन गर्न लागेको हो ।
संघको वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका रेग्मी अब सर्वसम्मत रूपमा नेतृत्वमा पुग्न लागेका हुन् । हालका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले आफ्नो दुई कार्यकाल पूरा गरी बिदा हुन लागेकाले संघमा नेतृत्व परिवर्तन हुन लागेको हो ।
साधारणसभाले रिक्त हुने उपाध्यक्ष पदमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई चयन गर्ने तय भएको छ । खनाल यसअघिको कार्यसमितिमा सदस्यको भूमिकामा थिए ।
नेतृत्वसँगै संघको कार्यसमिति सदस्यहरूमा पनि हेरफेर हुने भएको छ । नयाँ कार्यसमिति सदस्यका रूपमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्याल र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पवन आचार्य भित्रिँदै छन् ।
यस्तै, सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले भने कार्यसमिति सदस्यका रूपमा पुनः निरन्तरता पाउने भएका छन् ।
सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू आबद्ध रहेको नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रको हकहित र संस्थागत विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंक र सरकारसँग वित्तीय नीति, माैद्रिक नीति, तरलता व्यवस्थापन तथा ब्याजदरका विषयमा संवाद र समन्वय गर्ने प्रमुख माध्यमका रूपमा यो संस्था स्थापित छ ।
अर्थतन्त्रमा देखिने उतारचढावका बेला वाणिज्य बैंकहरूबीच स्वस्थ प्रतिस्पर्धा कायम राख्न, वित्तीय साक्षरता विस्तार गर्न र डिजिटल बैंकिङको प्रवर्द्धनमा सामूहिक धारणा बनाउन संघले नेतृत्वदायी पहल गर्दै आएको छ । नयाँ नेतृत्वले आगामी दिनमा बैंकिङ प्रणालीको सुदृढीकरण र कर्जा विस्तारमा देखिएका चुनौती समाधान गर्न नियामकसँग थप प्रभावकारी सहकार्य गर्ने अपेक्षा गरिएको छ ।
यसका साथै ठूलाे राजनीतिक परिवर्तनपछि बनेकाे नयाँ सरकारसँग सम्बन्धकाे सूत्र बाँध्न र सहकार्य गर्न पनि नयाँ कार्यसमितिका लागि माैका मिल्ने भएकाे छ।

















