औपचारिक बैंकिङ प्रणालीभित्रै हुन्डीको घुसपैठ, विद्यार्थी र गृहिणीका खाता दुरुपयोग
काठमाडौँ। परम्परागत रेमिट्यान्स र व्यापारिक भुक्तानीमा सीमित मानिँदै आएको ‘हुन्डी’ कारोबार अब अवैध आम्दानी लुकाउने (सम्पत्ति शुद्धीकरण गर्ने) संगठित र डिजिटल सञ्जालका रूपमा विकसित भएको पाइएको छ।
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू) ले सार्वजनिक गरेको ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट–२०२६’ अनुसार हुन्डी अब सामान्य विप्रेषणको समानान्तर माध्यम मात्र नरही सुन तस्करी, कर छली, सम्पत्ति शुद्धीकरण र अन्तरदेशीय अपराधको मुख्य कडीका रूपमा विकसित भएको छ।
प्रतिवेदनले औपचारिक वित्तीय प्रणालीभित्रै हुन्डीको गहिरो घुसपैठ भइसकेको देखाएको हो। सन् २०२५ जनवरी २ देखि २०२६ जुलाई १६ सम्म एफआईयूमा दर्ता भएका कुल १५ हजार ८१५ शंकास्पद कारोबार (STR/SAR) मध्ये १०.५७ प्रतिशत अर्थात् १ हजार ६७२ वटा विवरण हुन्डीसँग जोडिएका छन्। यस्ता शंकास्पद कारोबारको सूचना पठाउनेमा ९० प्रतिशत हिस्सा वाणिज्य बैंकहरूको रहनुले बैंकहरूकै माध्यमबाट अवैध रकम मिलान भइरहेको समेत देखिएको छ।
प्रविधि र ‘मनी म्युल’ को दुरुपयोग
एफआईयूको अध्ययनअनुसार हुन्डी गिरोहले कारोबार फर्स्योटका लागि कनेक्ट आईपीएस, डिजिटल वालेट, क्रिप्टोकरेन्सी र व्यापारिक न्यून बिजकीकरण (अन्डर–इनभ्वाइसिङ) को सहारा लिने गरेका छन्।
अनुसन्धान छल्नका लागि गिरोहले सर्वसाधारण, विद्यार्थी र गृहिणीहरूको बैंक खाता भाडामा लिई वा दुरुपयोग गरेर (‘मनी म्युल’ का रूपमा) परिचालन गर्ने प्रवृत्ति व्यापक देखिएको छ। यस कारोबारमा संलग्नमध्ये ८४ प्रतिशत पुरुष र करिब ६५.५ प्रतिशत २५ देखि ४४ वर्ष उमेर समूहका युवायुवती छन्।
भौगोलिक रूपमा हेर्दा मधेश प्रदेशका भारतीय सीमावर्ती जिल्लाहरू हुन्डी कारोबारको मुख्य केन्द्र बनेका छन्। खुद्रा व्यापार र रेमिट्यान्सका सब–एजेन्टमार्फत सञ्चालन हुने सञ्जाललाई प्रतिवेदनले उच्च जोखिमको सूचीमा राखेको छ। विगत पाँच वर्षको अवधिमा नेपाल प्रहरीले हुन्डीविरुद्धको कारबाही तीव्र पार्दै २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ बराबरको अवैध रकम बरामद गरिसकेको तथ्याङ्कले यसको व्यापकतालाई दर्शाउँछ।
नियन्त्रणका उपाय के ?
खुला सीमाना, नगदमा आधारित अर्थतन्त्र, वैदेशिक रोजगारीको उच्च प्रवाह, विदेशी मुद्रा सटहीमा रहेका कडाइ तथा क्रिप्टो र अनलाइन जुवामाथिको प्रतिबन्धका कारण हुन्डी फस्टाएको प्रतिवेदनको निष्कर्ष छ।
यसलाई निरुत्साहित गर्न बैंक तथा वित्तीय संस्थाहरूले कृत्रिम बौद्धिकता (एआई) मा आधारित अनुगमन प्रणाली लागू गर्नुपर्ने, डिजिटल वालेटको नियमन कडा पार्नुपर्ने र सीमापार सुरक्षा निकायसँगको समन्वयलाई प्रभावकारी बनाउनुपर्ने सुझाव एफआईयूले दिएको छ।
















