बैंक तथा बीमा क्षेत्रको प्रगति उत्साहजनक, २२ प्रतिशत बढ्यो जीडीपी
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा बैंक तथा बीमा क्षेत्रको प्रगित उत्साहजनक देखिएको छ ।
चालु आवको पहिलो त्रैमासमा बैंक तथा बीमा क्षेत्रको आर्थिक वृद्धिदर २२ प्रतिशत पुगेको छ । त्यसको आधारमा चालु आवमा यस क्षेत्रको प्रगति पनि उत्साहजनक देखिएको हो ।
गत आवको पहिलो त्रैमासमा बैंक तथा बीमा क्षेत्रको आर्थिक वृद्धिदर ३.७ प्रतिशतले ऋणात्मक थियो । तर, चालु आवको समिक्षा अवधीमा यस क्षेत्रको आर्थिक वृद्धि उत्साहजनक देखिएको सरोकारवालाहरु बताउछन् ।
केन्द्रीय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको आर्थिक वृद्धिदर सम्बन्धी त्रैमासिक तथ्यांकले यस्तो देखाएको हो । चालु आवको पहिलो त्रैमासमा समग्र आर्थिक वृद्धिदर ०.८ प्रतिशत मात्रै देखिएको छ ।
समिक्षा अवधीमा सबैभन्दा बढी आर्थिक वृद्धिदर गर्नेमा वित्त तथा बीमा क्षेत्र तेस्रो स्थानमा रहेको छ । तथ्यांक अनुसार पहिलो स्थानमा रहेको आतिथ्य तथा खाद्यान्न सेवा क्षेत्रको आर्थिक वृद्धिदर ४५.८ प्रतिशत रहेको छ ।
दोस्रो स्थानमा रहेको विद्युत क्षेत्रको आर्थिक वृद्धिदर भने २७.५ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । त्यसपछि तेस्रो स्थानमा भने बैंक तथा बीमा क्षेत्र रहेको छ ।
गत आवको दोस्रो त्रैमासमा वित्त तथा बीमा क्षेत्रको आर्थिक वृद्धिदर ११.४ प्रतिशत थियो । यसैगरि तेस्रो र चौथो त्रैमासमा २.३ प्रतिशत र १३.४ प्रतिशतले यस क्षेत्रको आर्थिक वृद्धि भएका थियो । चालु आवको पहिलो त्रैमाससम्म आउँदा त्यो अझै उत्साहजनक देखिएको सरोकारवालाहरु बताउछन् ।













