बजार महंगी ८ प्रतिशत बढीले आकासियो « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

बजार महंगी ८ प्रतिशत बढीले आकासियो



काठमाडौँ । आयातमा संकुचन र रेमिट्यान्स वृद्धि हुँदा बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ । तर, यससँगै चालु आर्थिक वर्षमा चालु खाता घाटमा पनि उल्लेख्य सुधार भएको छ । मुद्रा सञ्चिति पनि १३ प्रतिशतभन्दा बढीले वृद्दि भएको छ भने यसबीचमा थप बजार महँगी पनि आकासिएको देखिएको छ । चालु आर्थिक वर्षको ७ महिनामा नेपाल राष्ट्र बैङ्कका अनुसार माघ मसान्तसम्म बजार महँगी बढेर ७.८८ प्रतिशत पुगेको हो ।

थोक बजारमा भने केही सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बजार महँगी अघिल्लो वर्षको सोही अवधिमा ६.२४ प्रतिशत मात्र थियो । यद्यपि, यस्तो महँगीको स्थिति गत पुस मसान्तको भन्दा ०.६२ प्रतिशतले बढेको समेत राष्ट्र बैङ्कको रिपोर्टले देखाएको छ । गत पुस मसान्तमा उपभोग्य मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशतले र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको केन्द्रीय बैङ्कले जनाएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत,मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.७८ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ । यस्तै, समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत रहि मालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ माघ महिनामा यी क्षेत्रहरूमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

थोक मुद्रा स्फीतिको स्थितिमा २०७९ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रा स्फीति ९.६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १०.३४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ३.४९ प्रतिशत, १४.०२ प्रतिशत र ५.४४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.०७ प्रतिशत रहेको केन्द्रीय बैङ्कले जनाएको छ ।

होलसेलमा केही सुधार
उपभोक्तामा मूल्यवृद्धि कायमै रहेको भएपनि थोक बजारमा भने केही सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आइतबार आर्थिक वर्षको ७ महिनाको वित्तीय तथ्यांक सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो जानकारी दिएको हो ।
बैंकको विवरणअनुसार खुद्रामा उपभोक्ता मूल्यवृद्धि कायमै रहँदा थोकमा भने केही राहत देखिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्