सेयर बजार न्यूनतम विन्दु नजिक फर्कियो, बढ्ने आशा अझै बलियो बन्दै

काठमाडौं । यो साता नेप्से परिसूचक करीब चार महिनायताकै न्यूनतम विन्दुमा झरेको छ । गएको जेठयता नेप्से १८ सयदेखि २२ सय अंकको बीचमा ‘साइडवेज मुभमेण्ट’मा देखिँदै आएको छ ।
गत साल ३२ सय अंकसम्म पुगेर ओरालो लागेसँगै नेप्से चौंथो पटक नयाँ न्यूनतम विन्दु पछ्याउने क्रममा छ । यो यात्राले नेप्सेलाई कतिसम्म तल झार्न सक्छ भन्ने अनुमान लगाउन त सकिन्न, तर १८ सय अंकभन्दा तल ओर्लिन निकै मुस्किल पर्ने रेखाचित्र विश्लेषणले देखाउँछ ।
यद्यपि, अझै पनि वित्तीय बजारमा तत्काल हालत सुध्रिइहाल्ने परिस्थिति देखिएको छैन । सरकारले आन्तरिक बजारमा तरलता बढाउन केही प्रयास थालेका कारण चैत मसान्त वा वैशाखदेखि केही सकारात्मक परिदृश्य देखिन सक्ने संभावना छ । चैतमा सरकारले आयकर उठाएपछि विस्तारै सार्वजनिक भुक्तानीमा सुधार हुनसक्छ । यता वित्तीय प्रणालीमा पनि निक्षेप थपिने क्रम बढिरहेका कारण आगामी दुई त्रैमासका लागि वित्तीय समस्याहरु आंशिक रुपमै भए पनि मत्थर हुनसक्ने आँकलन छ । यसले वैशाखबा सेयर बजारले बाटो मोड्न सक्ने संभावना पनि देखिन्छ ।
अहिले पनि सेयर लगानीकर्ताहरु बैंकले सहज ऋण दिने अवस्था आएमा बजार उकालो लाग्ने विस्वास गर्छन् । यही कारण अधिकतर लगानीकर्ताले सरकारभन्दा पनि केन्द्रिय बैंकसँग बढी आशा गरिरहेका छन् । वित्तीय प्रणालीमा झण्डै साढे २ खर्ब लगानीयोग्य पैसा जम्मा भइसकेको भए पनि उच्च ब्याजदरका कारण न त कर्जाको माग बढ्न सकेको छ, न बैंकहरु नै पहिलेजस्तो आक्रामक लगानी गर्न तत्पर देखिएका छन् । यसले बाँकी अर्थतन्त्र चलायमान हुन नसकेजस्तै सेयर बजार पनि कमजोर हालतमा देखिएको छ ।
साप्ताहिक ब्यापारमा देखिने न्यूनतम विन्दु पनि लामो समयदेखि ओरालो लाग्ने क्रममै छ । यो साता नेप्से १८ सय ५६ अंकसम्म झर्यो । अघिल्लो हप्ता १ सय ६४ अंकभन्दा तल झरेको थिएन । दैनिक औसत कारोबार रकम लामो समययता निरन्तर घट्दै आएको छ । यो साता दैनिक औसत ९३ करोड हाराहारीमा झरेको छ । धेरै पछि यो साता नेप्सेमा दैनिक औसत कारोबार रकम १ अर्बभन्दा तल ओर्लिएको हो । कारोबार रकम ह्वात्तै घट्नुले बजारमा सुधार भइहाल्ने संकेत गर्दैन ।
यो हप्ता नेप्सेमा पाँचै दिन कारोबार भएको थियो । साताभर नेप्से परिसूचक १८ सय ५६ देखि १९ सय २९ सम्म ७३ अंकको फराकिलो उतारचढावमा देखियो । साताभरमा नेप्से ४१ दशमलव ८ अंक घटेको छ । गत साता घट्ने क्रम केही थामिएको देखिए पनि यो हप्ता पुनः उच्च दरमा बजार ओरालो लागेको छ । १८ सय ६६ अंकमा आएर बजार बन्द भएका कारण अब पछिल्लो समयको न्यूनतम टेवा विन्दु भेट्टाउन ५१ अंक घट्नु पर्ने छ । अर्थात् अव ५० अंक आसपासभन्दा धेरै नघट्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ । १८ सय अंकभन्दा पनि नेप्से तल झर्यो भने चाहीँ त्यो अर्को दुर्भाग्य हुनसक्छ ।
बजार परिसूचकमा आएको कमीसँगै सेयर बजारको समष्टिगत आकार अर्थात् बजार पूँजीकरण पनि यो सातामात्रै करीब २९ अर्ब घटेको छ । गत सातासम्म २७ खर्ब ६४ अर्ब रहेको बजार पूँजीकरण यो हप्ताको अन्त्यसम्म आउँदा २७ खर्ब ४ अर्बमा झरेको छ । अर्थतन्त्रको आकारसँग मापन गर्ने हो भने अहिले सेयर बजारको पूँजीकरण कुल गार्हस्थ उत्पादनको ५५ प्रतिशत हाराहारीमा ओर्लिएको छ ।
गत साल कीर्तिमानी उचाइमा पुगेर ओरालो लागेको सेयर बजार परिसूचक अहिले १८ सय ५० अंकको स्तरमा झरेको छ । वर्तमान घट्दो बजारमा १८ सय ६ अंकभन्दा तल नपुगेको सेयर बजार अहिले उक्त न्यूनतम विन्दुबाट ६० अंकमात्रै माथि छ । यसले सेयर बजार न्यूनतम विन्दु नजिक झरेको हुनसक्ने आँकलन गरिएको छ । तर वित्तीय प्रणालीमा अपेक्षाकृत सुधार हुन नसकेका कारण अझै पनि सेयर बजार बढिहाल्छ भनेर ढुक्क हुन सक्ने अवस्था छैन ।
प्राविधिक विश्लेषणले आइतरबार बजार केही बढ्न सक्ने संकेत भने गरेको छ ।