बैंकहरुमा लगानीयोग्य पुँजी बढ्दैः लगानी बढेपछि घरजग्गा कारोबार पनि वृद्धि, फेरि लयमा फकिएको हो ?
काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार बढ्न थालेको छ । एक महिनामै थप साढे ८ हजार घर जग्गा कारोबार भएको हो ।
भुमि व्यवस्थापन तथा अभिलेख विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को चैत महिनाको तथयाङ्कले यस्तो देखाएको छ । तथयाङ्क अनुसार चैतमा ४९ हजार १५० वटा घर जग्गा किनबेच भएको छ । जुन गत फागुन महिनाको तुलनामा २०.६६ प्रतिशतले बढी हो । गत फागुन महिनामा देशभर कुल ४० हजार ७३४ वटा घर जग्गा किनबेच भएको थियो ।
बैंकहरुमा लगानीयोग्य रकम वृद्धिले घरजग्ग्गा कारोबारमा बढोत्तरी
कित्ताकाटको कार्य अगाडि बढेसँगै र बैंकहरुमा लगानीयोग्य पुँजी वृद्धिले घरजग्गा कारोबार बढ्न थालेको हो । यसअघि अनिवार्य वर्गीकरणको नीति र बैंकहरुको निरन्तर बढ्दो ब्याजदरका कारण घरजग्गा कारोबारमा सोचे जस्तो प्रगति हुन सकिरहेको थिएन् ।
लगानीयोग्य रकम (तरलता) को अभाव र स्थानीय तहले जग्गाको वर्गीकरण नगरिदिँदा कारोबार घटेको थियो । तर, पछिल्लो समय स्थानीय निकायहरुले कित्ताकाटको कार्य अघि बढाएसंगै कारोबारमा बढोत्तरी देखिएको हो । सरकारले गत जेठ २३ मा भू–उपयोग नियमावली–२०७९ ले अनुसार वर्गीकरण नभएका घर जग्गाको कारोबार गर्न नपाइने व्यवस्था जारी गरेको थियो ।
यसअघि धेरै स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले जग्गा किनबेच गर्न चाहानेलाई पनि समस्या भईरहेको थियो । तरलता अभाव र ब्याजदर वृद्धि लगायतका समस्याले पनि कारोबारमा गति लिन सकिरहेको अवस्था थिएन । तर, पछिल्लो पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप बढ्दो क्रममा छ, ब्याजदर पनि घट्को छ ।
बजारमा लगानीयोग्य रकम बढेसंगै घरजग्गा कारोबार पनि वृद्धि भएको हो । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिन थालेपछि घरजग्गामा लगानी बढ्न थालेको छ, जसले घरजग्गाको कारोबार बढ्दै गएको जानकारहरु बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निपेक्षे बढ्दो क्रममा छ । सोमबारसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थहरुमा ५४ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।
देशभर ४९ हजार वटा घरजग्गाको किनबेच
चैतमा ४९ हजार १५० वटा घर जग्गा किनबेच भएको छ । विभागका अनुसार चैत महिनामा देशभरका मालपोत कार्यालयबाट ४ हजार ७७६ वटा घरजग्गा नामसारी भएका छन् । यस्तै, ५ हजार ९८८ वटा घरजग्गा संशोधन, ३७ हजार ८१६ रोक्का र २७ हजार ६६४ वटा फुकुवा भएको छ ।
चैत महिनामा सबैभन्दा धेरै घरजग्गा जनकपुरधाम धनुषाबाट मालपोत कार्यालयबाट खरिदबिक्री भएको छ । सो कार्यालयबाट चैतमा १ हजार ९२१ वटा घर जग्गा किनबेच भएको हो । दोस्रो स्थानमा रहेको बेलबारी मोरङबाट चैत महिनामा १ हजार ७६४ वटा घरजग्गा किनबेच भएको छ ।
यस्तै, नेपालगञ्ज बाँके मालपोत कार्यालयबाट १ हजार ७५८ वटा, इनरुवाबाट १ हजार ७२३, भद्रपुर झापाबाट १ हजार ३३७, काभ्रेपलाञ्चोक कार्यालयबाट १ हजार २५८, दमक झापाबाट १ हजार २४९ राजविराज सप्तरीबाट १ हजार २१०, जलेश्वरबाट १ हजार १२ वटा घरजग्गा कारोबार भएको छ ।
त्यसैगरि कलैया बारा मालपोत कार्यालयबाट १ हजार ११९ वटा, पर्साबाट १ हजार १३३, चितवनबाट १ हजार २५६, रुपन्देहीबाट १ हजार १९, तौलिहवा कपिलवस्तुबाट १ हजार १५७, तुलसीपुरबाट १ हजार २ र धनगढी कैलालीबाट १ हजार १८ वटा घरजग्गा कारोबार भएको छ ।
नियमावली जारीपछि कै उच्च कित्ताकाट
सरकारले कित्ताकाटको नियमावली जारी गरेपछिकै उच्च कित्ता भएको छ । विभागका अनुसार चैत महिनामा ३७ हजार ९९३ जग्गा वर्गीकरण भई ८६ हजार ९७ वटा कित्ता कायम भएको छ । जुन अन्य महिनाको तुलनामा सबैभन्दा धेरै हो ।
कित्ताकाट एक महिनामै अर्थात चैत महिनामा फागुनको तुलनामा १० हजार बढी जग्गाको वर्गीकरण भएको विभागले जनाएको छ । गत फागुन महिनामा भने देशभर २७ हजार ३१ वटा जग्गा वर्गीकरण गरी ६० हजार ३६१ कित्ता कायम भएको थियो ।
चालु आवको पहिलो महिना अर्थात गत साउनमा ८ हजार ७८५ जग्गा कित्ताकाट भई १५ हजार ३०५ कित्ता कायम भएको थियो । त्यसपछि भदौमा १० हजार ९२२ जग्गा कित्ताकाट भई २१ हजार ८७७ कित्ता, असोजमा ९ हजार ४२६ जग्गा कित्ताकाट भई १९ हजार १७८ कित्ता कायम भएको थियो ।
त्यस्तै, गत कात्तिकमा १० हजार ५४४ जग्गा कित्ताकाट भई २२ हजार ५६५ कित्ता, मंसिरमा १३ हजार २२१ कित्ता वर्गीकरण भई ३० हजार ७२८ कित्ता, पुसमा २१ हजार १९२ जग्गा कित्ताकाट भई ४९ हजार ४७४ कित्ता र माघ महिनामा २४ हजार ५६९ जग्गा कित्ताकाट भई ५४ हजार ४७८ वटा कित्ता कायम भएको थियो ।
राजश्व पनि बढ्न थाल्यो, एक महिनामा साढे ४ अर्ब संकलन
घर जग्गा कारोबार बढेसंगै राजश्व संकलन पनि वृद्धि भएको छ । चैत महिनामा कारोबार बढेसँगै राजस्व संकलनमा पनि सुधार आएको हो ।
विभागका अनुसार चैत महिनामा घरजग्गा कारोबारबाट कुल ४ अर्ब ५१ करोड २६ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत फागुनमा ३ अर्ब ५६ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । कुल राजस्व संकलनमध्ये देशभरका मालपोत कार्यालयहरुबाट सेवा करबापत २८ करोड ४ लाख रुपैयाँ प्राप्त भएको छ ।
यस्तै, बागमतीबाट १० करोड ६२ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबापत २ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ, पूँजीगत लाभकरबापत १ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।
यता, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबापत ३ करोड २२ लाख रुपैयाँलगायत अन्य विभिन्न सेवा दिएबापत राजस्व संकलन गरेको छ । यसका साथै सो अवधिमा विभागले ३५ करोड ८१ लाख रुपैयाँ राजस्व छुट दिएको जनाएको छ ।













