अन्तिम दिनसम्म ईङवा हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । ईङवा हाइड्रोपावरको आइपीओ १ अर्ब ३७ करोड ८० लाख ८० हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (वैशाख १७ गते) अन्तिम दिन साझँ ५ः३ बजेसम्म १० लाख ५९ हजार ९०१ आवेदकले १ करोड ३७ लाख ८० हजार ८०० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले बैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गरि बाँडफाँट समेत गरिसकेको छ ।
कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। तर, आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थप गरी सेयर निष्काशन गरेको थियो ।
कम्पनीले कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो ।
सो सेयरमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट समेत गरिसकेको छ । यस्तै, २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि र ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । कुल १२ लाख ६८ हजार ६३९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको थियो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।













