जीडीपीमा घर जग्गा कारोबारको ५० अर्ब ६२ करोड रुपैयाँ योगदान, यसवर्ष २.१७ प्रतिशतले बढ्ने
काठमाडौं । घर जग्गा कारोबारको सेवा (रियल स्टेट) बाट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा योगदान बढ्ने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० मा घर जग्गा कारोबारबाट कुल गार्हस्थ्य उत्पादनमा २.१७ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको हो ।
घर जग्गा कारोबार सेवा अन्तर्गत मुख्य रुपमा जग्गा जमिनको खरिदबिक्री, भाडामा लगाउने र अन्य घर जग्गाको कारोबारका लागि सेवा दिने तथा आफ्नै घरबाट उपलब्ध आवास सेवाहरु पर्दछन् । यस क्षेत्रले चालु आवमा कुल जीडीपीमा ८.३७ प्रतिशत योगदान दिएको केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय लेखा कार्यालयले जनाएको छ ।
घर जग्गाको कारोवारमा मन्दी आएको भएतापनी निजी आवास तथा भाडाका क्रियाकलापहरुमा वृद्धि भएकाले यस क्षेत्रको योगदान बढ्ने अनुमान गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ईश्वरी प्रसाद भण्डारीले बताए । उनले भने,–‘घर जग्गा कारोबार सेवा अन्तर्गत मुख्य रुपमा जग्गा जमिनको खरिदबिक्री, भाडामा लगाउने र अन्य घर जग्गाको कारोबारका लागि सेवा दिने तथा आफ्नै घरबाट उपलब्ध आवास सेवाहरु पर्दछन् । यस घर जग्गा (रियल स्टेट) भन्दा अन्य सेवा बढेकाले जीडीपीमा यसको योगदान बढ्ने अनुमान गरिएको हो।’
पछिल्लो समय घर जग्गा कारोबार बढ्न थालेको छ । भुमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत चैत मसान्तमा मात्रै ४९ हजार १५० वटा घर जग्गा किनबेच भएको छ । जुन, गत फागुन महिनाको तुलनामा २०.६६ प्रतिशतले बढी हो ।
सरकारले कित्ताकाटको कार्य अगाडि बढाएसंगै र पछिल्लो समय बैंकहरुमा लगानीयोग्य पुँजी वृद्धिले पनि घर जग्गा कारोबार बढ्न थालेको हो । यसअघि अनिवार्य वर्गीकरणको नीति र बैंकहरुको निरन्तर बढ्दो ब्याजदरका कारण यस्तो कारोबारमा सोचेजति प्रगति भएको थिएन ।
लगानीयोग्य रकम (तरलता) को अभाव र स्थानीय तहले जग्गाको वर्गीकरण नगरिदिँदा कारोबार घटेको थियो । तर, पछिल्लो समय स्थानीय निकायहरुले कित्ताकाटको कार्य अघि बढाएसंगै कारोबारमा बढोत्तरी देखिन थालेको छ । सरकारले गत जेठ २३ मा भू–उपयोग नियमावली–२०७९ जारी गरेको थियो । सोही नियममावली अनुसार वर्गीकरण नभएका घर जग्गाको कारोबार गर्न नपाइने व्यवस्था थियो । सोही नीतिसंगै धेरै स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले जग्गा किनबेच गर्न चाहानेलाई पनि समस्या भईरहेको थियो । तरलता अभाव र ब्याजदर वृद्धि लगायतका समस्याले पनि कारोबारमा गति लिन सकिरहेको अवस्था थिएन । तर, पछिल्लो पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप बढ्दो क्रममा छ, ब्याजदर पनि घट्को छ । यस्ता कारण पनि घर जग्गा कारोबारले अब गति लिने बताईन्छ ।
राष्ट्रिय लेखा तथ्याङ्क कार्यालयले पनि अब घर जग्गा कारोबार बढ्ने अनुमान गरेको हो । कार्यालय निर्देशक भण्डारीका नुसार यस वर्ष घर जग्गा कारोबारबाट क्षेत्रमा अघिल्लो वर्षको तुलनामा यस आवमा २.१७ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । गत आवमा भने १.६३ प्रतिशत बढ्ने अनुमान गरिएको थियो । यद्यपि, आगामी असार मसान्तसम्ममा घर जग्गा (रिलय स्टेट) भन्दा पनि अन्य भाडामा लगाउने र अन्य घर जग्गाको कारोबारका लागि सेवा दिने तथा आफ्नै घरबाट उपलब्ध आवास सेवाहरुले गर्दा जीडीपी योगदान बढ्ने भण्डारीले बताए ।
यस क्षेत्रबाट चालु मूल्य अनुसार कुल उत्पादन आधारभुत मूल्यमा ५० अर्ब ६२ करोड १८ लाख रुपैयाँ योगदान दिने अनुमान गरिएको हो । यस्तै, कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा ११ अर्ब ३२ करोड २५ लाख रुपैयाँ बराबरको योगदान दिने प्रारम्भिक अनुमान छ ।













