लगानीकर्तालाई डुबाउँदै घोराही सिमेन्ट, प्रिमियम मूल्यको पुनः मुल्यांकन गर्ने सीआईटीको तयारी « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

लगानीकर्तालाई डुबाउँदै घोराही सिमेन्ट, प्रिमियम मूल्यको पुनः मुल्यांकन गर्ने सीआईटीको तयारी



काठमाडौं । नागरिक लगानी कोषले घोराही सिमेन्टको लागि निर्धारण गरेको आईपीओको प्रिमियम मूल्य पुनः मुल्यांकन गर्ने भएको छ ।

सेयर बजार र कम्पनीको आर्थिक परिसूचक ओरालो लागेपछि सेयर प्रत्याभूतिकर्ताको जिम्मा पाएको कोषले त्यसको पुनः मुल्यांकन गर्न लागेको हो । घोराही सिमेन्टले वित्तीय परिसुचक नै भ्रमपूर्ण बनाएर लगानीकर्तालाई फसाउन खोजेको भनेर पनि टिप्पणी भइरहेको छ । त्यसपछि नागरिक लगानी कोष उक्त मूल्य पुनः मुल्यांकन गर्न लागेको हो ।

घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ बिक्री गरिरहेको छ । गत बैशाख १९ गतेबाट कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरिरहेको छ । प्रतिकित्ता ४०० मा ३ लाख ९७ हजार १९० कित्ता स्थानीय सर्वसाधारण र ७ लाख ५४ हजार ६६१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिरहेको छ । सोही अवस्थामा कोषले पुनः मुल्यांकन गर्ने अडान लिन लागेको हो ।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारमा रहेकाले जेठ २ गतेसम्म आवेदन दिनुपर्ने छ । स्थानीयलाई दिने सेयरमा आवेदन भर्ने म्याद पनि छिटोमा जेठ २ गतेसम्म मात्रै कायम हुने कम्पनीले बताएको छ । त्यस अवधिमा प्रर्याप्त आवेदन नआएमा जेठ १७ गतेसम्मको मिति राखिएको छ । कम्पनीले सर्वसाधारण सहित कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ जारी गर्दैछ ।
सर्वधारणले भने ४३५ रुपैयाँमा सेयर किन्नुपर्ने भनिएको छ । तर, अहिले आएर त्यो पुनः मुल्यांकन गर्न लागिएको हो । पछिल्लो समय सेयर बजार अस्थिर बनेको छ । निरन्तर घटिरहेको छ ।

साथै, कम्पनीको व्यवसाय पनि नमज्जाले घटेको बताइन्छ । त्यो अवस्थामा कम्पनीले अपत्यारिलो वित्तीय विवरण बनाएर लगानीकर्तालाई डुबाउन खोजेको चर्चा समेत चुलिएको छ । त्यसपछि अन्डरराइटर नागरिक लगानी कोषले पुनः मुल्यांकन गर्न लागेको हो ।

अब कम्पनीसँग छलफल गरेर यो प्रक्रिया अघि बढाउने कोषका कार्यकारी निर्देशक रमण नेपालले बताए । उनले भने, ‘अहिले सेयर बजार परिसचुक निकै तल झरेको छ । यो अवस्थामा पुरानो मुल्यांकन काम नलाग्न पनि सक्छ । त्यसैले यसबारे पुनः मुल्यांकन गर्नुपर्ने देखिएको छ ।’

उनले कोषको संचालक समितिमा पुनःमुल्याङ्कनको लागि प्रस्ताव लैजाने अर्थपथलाई बताए । ‘स्थानीय लगानीकर्ता ठगिएको उजुरी आएपछि हामीले पुनःमुल्याङ्नको तयारी गरेका हौं’, उनले भने । उता नेपाल धितोपत्र बोर्डले १ वर्ष अघि नै गरेको मुल्याङ्नको आधारमा अहिले बजार धेरै घटेकाले समस्या आएको कोषको दावी छ ।

घोराही सिमेन्टमा विशाल ग्रुप र त्रिवेणी ग्रुपको लगानी छ । कम्पनीको सेयर प्रत्याभुति (अन्डर राईटिङ) का लागि गत वर्षको साउनमा सम्झौता भएको थियो । नेप्सेमा लामो समयदेखि दोस्रो बजार कारोबार भइरहेको र राम्रै ब्यापारिक छबि बनाएको शिवम् सिमेण्टको भाउ अहिले ३ सय ९८ मा ओर्लिएको छ ।

यस्तो बेला शिवम् भन्दा निकै कम पर्फरमेन्स गरेको र बजार हिस्सामा पनि सुस्त देखिएको घोराहीले सर्वसाधारणलाई एक कित्ता सेयरकै ४३५ लिने भनेपछि यसले शंका उब्जाएको छ । अहिहलेको अवस्थामा ४३५ मा आईपीओ किन्ने हो भने त्यो आइपीओमा लगानी गर्ने लगानीकर्ता नै डुब्नसक्ने धेरैको आँकलन छ ।

दोस्रो बजारमा कारोबार खुलेको ३ वर्षपछिमात्रै सेयर बेच्न पाउने स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले ४०० रुपैयाँ तिरेर घोराहीको आइपीओ किन्नु भनेको सिधै घाटाको ब्यापार हुने धेरै लगानीकर्ता बताउँछन् । अहिले दोस्रो बजारबाट पुराना र स्थापित कम्पनीको सेयर नै ४ सय भन्दा सस्तोमा पाउने अवस्थामा ३ वर्षसम्म बेच्न नमिल्ने सेयर किन किन्ने ? भन्ने बहस सुरु भएको छ । यही बहसले सेयर खरीदको प्रत्याभूति गरेको नागरिक लगानी कोषलाई पनि अत्याएको छ ।

यदी अहिलेको बहसले ब्यापकता पायो र लगानीकर्ताहरु घोराहीको आइपीओ किन्नुभन्दा शिवम् सिमेण्ट वा वित्तीय क्षेत्रको अरु कुनै कम्पनीको सेयर किन्न तयार भएमा प्रत्याभूतिकर्ताले सेयर किनिदिनु पर्ने हुन्छ ।

महँगो मूल्यमा सेयर किन्ने प्रत्याभूति गरेका कारण भविष्यमा ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आउन सक्ने देखेपछि कोषले यस्तो प्रस्ताव अघि सारेको हो । पछिल्ला दुई वर्षदेखि देशभर निर्माण कार्य सुस्ताएका छन् र यसले सिमेण्टको ब्यापार अस्वभाविक रुपमा घटेको छ ।

उद्योग राम्रोसँग चल्न सकेको छैन । यस्तो बेला अझै केही वर्षसम्म उद्योगले गतिलो प्रतिफल दिने अवस्था देखिँदैन । एकातिर सेयर बजारमा मानिसहरुको मनोविज्ञान कमजोर भएको अवस्था छ, अर्कातिर स्थापित प्रतिस्पर्धी कम्पनीको सेयर मूल्य दोस्रो बजारमै ज्यादै न्यून विन्दुमा झरेको छ । त्यसमाथि आईपीओ ल्याउने कम्पनीको कमाई पनि गतिलो छैन ।

यस्तो अवस्थामा प्रबद्र्धकहरुले आईपीओ बेच्ने नाममा बढी नाफा कमाउन खोजेको कतिपयको आरोप छ । ‘कतिपय प्रबद्र्धकहरु आफूसँग पैसा सकियो भने आईपिओ ल्याउने, तर राम्रो नाफा दिने कम्पनीलाई प्राली नै राख्ने रणनीतिमा देखिएका छन्’ नेप्सेका एक अधिकारी भन्छन्, ‘यो अभ्यासले दोस्रो बजारका लगानीकर्ता त मर्कामा परिरहेकै थिए, तर अब प्रिमियम मूल्यले प्राथमिक बजारका लगानीकर्ता पनि ठगिन सक्छन् ।’

विश्लेषकहरुले प्रिमियम मूल्यमा आईपीओ किन्दा निकै सोचविचार गरेरमात्रै पैसा लगानी गर्नु पर्ने बताउँदै आएका छन् । धेरै वर्षअघि नेपाल टेलिकमको सेयर प्रिमियम मूल्यमा किनेका लगानीकर्ताले वर्षौंसम्म पनि लगानी उठाउन सकेका थिएनन् ।


प्रतिक्रिया दिनुहोस्