नेपालमा उत्पादित ९० प्रतिशत अदुवा भारतीय बजारमा, दोब्बरले बढ्यो निकासी - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेपालमा उत्पादित ९० प्रतिशत अदुवा भारतीय बजारमा, दोब्बरले बढ्यो निकासी



काठमाडौं । नेपालबाट निर्यातयोग्य वस्तुको शून्य दशमलव ७ प्रतिशत मात्रै हिस्सा अदुवाको छ । यो नेपालबाट निर्यात हुने कुल वस्तुको १९औं नम्वरमा छ ।

तर, पछिल्लो समय यसको निर्यात बढ्न थालेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक २०७९/८० को ९ महिनामा दोब्बरले निर्यात बढेको हो । समिक्षा अवधिमा ८५ करोड ३२ लाख ३१ हजार रुपैयाँ बराबरको अदुवा नेपालबाट बाहिरिएको छ । यो गत आवको चैत मसान्तसम्मको तुलनामा १०५.१० प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्ममा ४१ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको ७ हजार ३१८ मेट्रिक टन अदुवा निकासी भएको थियो । अदुवा भान्सामा नियमित मसालको रुपमा लिने गरिएको छ ।

नेपालमा उत्पादित अदुवा भारत, बंगलादेश, नेदरल्याण्ड, जापान, जमर्नी, यूएई, कतार लगायतका मुलुकमा पुग्ने गरेको छ । यी मुलुकहरुमा रोजगारीमा गएका तथा बसोबास गर्ने नेपालीहरुको संख्या पनि बाक्लो छ । सोही कारण पनि अदुवा माग हुने गरेको छ । उनीहरुले भान्सा र औषधीकै रुपमा प्रयोगका लागि अदुवा नेपालबाट लैजाने गरेको बताइन्छ । औषधीय महत्वसहित खानाको विशिष्टता र स्वादका लागि अदुवा प्रयोग हुने गरेको जानकारहरु बताउँछन् ।

नेपाली अदुवा सबैभन्दा धेरै भारततर्फ निकासी हुने गरेको छ । मसला उत्पादनमा भारतमा विश्वकै ठुलो बजार छ । नेपालमा उत्पादित ९० प्रतिशत अदुवा भारतीय बजारमा पुग्ने गरेको तथ्याङ्कले देखाउँछ । पछिल्लो समय भारतमा अदुवा उत्पादन कम भईरहेको छ । त्यसले गर्दा पनि नेपाली अदुवाको माग बढ्दो छ । चालु आवको ९ महिनामा ७२ करोड २८ लाख ८० हजार रुपैयाँ बराबरको अदुवा भारत पुगेको छ । भारतमा १८ हजार ८१७ मेट्रिक टन अदुवा निर्यात भएको हो ।

दोस्रो स्थानमा रहेको जर्मनी तर्फ भने १२ करोड १९ लाख १२ हजार रुपैयाँ बरारको अदुवा निर्यात भएको छ । सो देशमा १८७ मेट्रिक टन अदुवा पुगेको हो । यस्तै, जापान तर्फ २४ लाख ७३ हजार रुपैयाँ बराबरको १ हजार ९१८ केजी अदुवा निर्यात भएको छ । बंगलादेश तर्फ भने १९ लाख बराबरको साढे २८ हजार केजी अदुवा नेपालबाट पुगेको छ । चालु आवको फागुन मसान्तसम्ममा नेपालबाट ७३ करोड ७७ लाख ६ हजार रुपैयाँ बराबरको अदुवा बाहिरिएको थियो ।

नेपाल झण्डै एक दर्जन बढी जिल्लाहरुमा अदुवा खेती हुने गरेको छ । हाल नेपालको सिन्धली, धनुषा, पाल्पा, धादिङ, प्युठान, ताप्लेजुङ, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन लगायतमा यसको खेती हुने गरेको छ । ती जिल्ला हरुमा अदुवाको व्यवासायिक खेती हुने गरेको हो ।


प्रतिक्रिया दिनुहोस्