५ लाख ५५ हजारले पाउने मोदी ईनर्जीको आइपीओ बाँडफाँटको मिति तय
काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आइपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार बुधबार (बैशाख २७ गते) प्रिलटमेन्ट सम्पन्न भएको र आइतबार (बैशाख ३१ गते) बाँडफाँट गर्ने तयारी गरेको छ ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८६ हजार ६२३ जना आवेदकले १ करोड ४३ लाख १२ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । आइपीओमा १ अर्ब ४३ करोड १२ लाख ९८ हजार रुपैयाँ संकलन भएको छ ।
माग भन्दा बढी आवेदन परेको हुदाँ कम्पनीको आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा अन्तर्गत ५ लाख ५५ हजार ९४२ जना आवेदकले १०।१० कित्ता सेयर पाउनेछन् ।
कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । बाँकी ५५ लाख ५९ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
.













