पुँजी वृद्धिको चटारोः प्रभूले भित्र्याउँदै विदेशी साझेदार, धमाधम सम्पत्ति बेच्दै नेपाल इन्स्योरेन्स

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार पुँजी बढाउन बीमा कम्पनीहरुलाई चटारो चलेको छ । जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब पुँजी पुर्याउनु पर्ने नियामकको निर्देशन पालना गर्न अहिले धेरैजसो बीमा कम्पनी मर्जरमा लागेका छन् ।
कसैले नयाँ साझेदार खोज्ने त कसैले सम्पत्ती बेचेर स्टक डिभिडेण्ट (बोनस सेयर) बाँड्ने रणनीति अघि सारेका छन् । यसमा प्रभू र नेपाल इन्स्योरेन्सको सक्रीयता अधिक देखिएको छ । अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने समझदारी भाँडिएपछि प्रभू इन्स्योरेन्सले चुक्तापुँजी बढाउन विदेशी साझेदार (लगानीकर्ता) भित्र्याउने प्रयास तीव्र बनाएको छ ।
प्रभूसँगको मर्जर प्रक्रिया अघि बढ्न नसकेपछि अजोडले युनाइटेड इन्स्योरेन्ससँग मर्जर समझदारी गरेर एकीकृत कारोबारको तयारी थालिसकेको छ । मर्जरका लागि नयाँ साझेदार नपाएपछि प्रभूले भने विदेशी लगानीकर्ता ल्याउने प्रयास अघि बढाएको हो । प्रभूको मुख्य लगानीकर्ता देवी भट्टचनले पछिल्ला केही वर्षयता नेपालमा भएको सम्पत्ती पनि विस्तारै विदेशी स्वामित्वमा रुपान्तरण गर्न थालेका छन् ।
भट्टचनकी दुई छोरीहरु अमेरिकाबाट नेपाल नफर्किने भनेपछि प्रक्रिया मिलाएर अमेरिकामा भएका छोरीहरुले उतैको कम्पनीको स्वामित्व स्थापित गर्न खोजेका छन् । यसो गर्दा अमेरिकामै बसेर नेपाली वित्तीय कम्पनीहरुको स्वामित्व ग्रहण गर्न सक्ने सुविधा उनीहरुले प्राप्त गर्ने छन् ।
यही मेसोमा लागेका कारण पनि प्रभूले विदेशी स्वामित्व भित्र्याउने बाटोमा अघि बढेको जानकार बताउँछन् । विदेशी स्वामित्व भनेर छोरीहरुले आफ्नै कम्पनीमा लगानी गर्ने र पछि बुबाको नाममा भएको संस्थापक सेयर पनि त्यसै गरी हक हस्तान्तरण गर्ने कोसिस भइरहेको स्रोतको दाबी छ ।
बीमा प्राधिकरणले सबै कम्पनीलाई न्यूनतम चुक्तापुँजी कायम गरिसक्न आगामी असार मसान्तसम्मको समय दिएको थियो । त्यतिञ्जेलसम्मा विदेशी साझेदार भित्र्याएर पुँजी बढाइसक्ने योजनामा प्रभू छ । नियामक प्राधिकरणमा पनि कम्पनीले विदेशी साझेदार ल्याएर चुक्तापुँजी पुर्याउने ‘पुँजी योजना’ पेश गरेको छ । त्यसमा कम्पनीलाई प्राधिकरणले अनौपचारिक सहमती समेत दिइएको बताइएको छ ।
कम्पनीका एक उच्च अधिकारीले अर्थपथसँगको कुराकानीमा ‘विदेशी साझेदार भित्र्याउने पहल भइरहेको, तर कुन देशको कुन लगानीकर्ता ल्याउने भनेर टुंगो नलागेको’ बताए । हालसम्म यो विषय छलफलकै चरणमा रहेको उनको भनाइ छ ।
प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले आगामी असारसम्म पुँजी बढाउने आश्वसन नियामक निकायलाई दिएका छन् । अधिकांश बीमा कम्पनीले पुँजी वृद्धिका लागि मर्जरको बाटो रोजेका थिए । तर, प्रभु र नेपाल इन्स्योरेन्सले भने आ–आफ्नै तरिकाले पुँजी वृद्धि गर्ने भनेका छन् ।
हाल प्रभुको चक्तापुँजी १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ छ । त्यस अनुसार कम्पनीले थप १ अर्ब १२ करोड ३९ लाख रुपैयाँ अर्थात् करीब ८२ प्रतिशत लगानी थप्नु पर्नेछ ।
प्रभु र अजोडले गत असार ३२ गते १००ः७० स्वाप अनुपातमा मर्जमा जाने समझदारी गरेका थिए । तर, पछि स्वाप रेसियोमा सहमती जुट्न सकेन । अजेडका लगानीकर्ताले आफूहरु मर्कामा पर्ने भनेपछि मर्जर प्रक्रिया बीचैमा रोकिएको थियो ।
गत पुस २७ गते उनीहरुको मर्जर सहमती भाँडियो । त्यसपछि पनि प्रभूले भने चुक्तापुँजी बढाउन देखिने गरी कुनै कदम उठाएको थिएन । अहिले आएर विदेशी लगानी ल्याउने गरी प्रक्रिया अघि बढेको भने पनि त्यसको स्पष्ट खाका पस्किन सकेको छैन ।
मन्दीमा सम्पत्ती बेच्ने नेपालको रणनीति
अहिले घरजग्गादेखि सबैखाले सम्पत्तीको मूल्य सस्तिएको छ । अर्थतन्त्र सुस्ताएको छ । मन्दीको पुर्वसंकेत मानिने यस्तो अवस्थाबाट अर्थतन्त्रलाई सहज अवतरण गराउन सरकार र नियामक निकायहरु कत्तिको सफल हुन्छन् भन्ने स्पष्ट भइसकेको छैन । यस्तो विषम अवस्थामा नेपाल इन्स्योरेन्सले भने आफ्नो अचल सम्पत्ति बिक्री गरेर चुक्तापुँजी बढाउने योजना अघि सारेको छ ।
हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । तोकिएको चुुक्तापुँजी पुर्याउन कम्पनीले १ अर्ब १ करोड रुपैयाँ पुँजी थप्नुुपर्छ । यो भनेको करीब ६८ प्रतिशत पूँजी बढाउनु पर्ने बाध्यता हो । नेपाल बैंकको प्रबद्र्धनमा ७६ वर्षअघि खुलेको यो कम्पनीसँग देशका विभिन्न स्थानमा अचल सम्पत्ती छ ।
वित्तीय तरलता सिर्जना नगर्ने यस्तो अचल सम्पत्तीमा लगानी गरेर कम्पनीलाई नियमित नाफा हुन सक्दैन । यसैले पनि कम्पनीले अब अचल सम्पत्ती बेचेर चुक्ता पूँजी बढाउने योजना अघि सारेको छ । सम्पत्ती बिक्री गरेर चुक्तापुँजी पुर्याउन लागिएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।
स्रोतका अनुसार वीरगन्ज लगायतका प्रमुख शहरी क्षेत्रमा कम्पनीको स्वामित्वको जग्गा बेच्ने कोसिस भरहेको छ । तर अहिले घरजग्गामा लगानी बढ्न नसकेको अवस्था छ । अधिकांश स्थानमा घरजग्गाको मूल्य सस्तिएको छ । यस्तो अवस्थामा सम्पत्ती बेच्न खोज्नु कम्पनीका लागि जोखिमपूर्ण हुने कम्पनीकै कतिपय प्रबद्र्धकको तर्क छ ।
यसअघि प्रभू र नेपाल इन्स्योरेन्स पनि मर्जरमा जाने चर्चा नचलेको होइन । प्राधिकरणले पनि यी दुई कम्पनीलाई आपसमा मर्ज गराउने योजना बनाएको थियो । अहिले आएर उनीहरुले आफैं आफैंले चुक्तापुँजी बढाउने तयारी थालेपछि प्राधिकरण उक्त योजनाबाट पछि हटेको छ ।
पहिला जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था थियो । तर, प्राधिकरणले २०७८ चैतमा एक निर्देशन जारी गर्दै २०७९ चैत मसान्तसम्म जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी कायम गर्न भनको थियो ।
उक्त अवधीमा जम्मा ४ वटा कम्पनीले मात्रै तोकिएको चुक्तापुँजी पुर्याउन सके । त्यसपछि प्राधिकरणले आगामी असार मसान्तसम्मको म्याद दिएको छ । सोही अनुसार बीमा कम्पनीहरु मर्जर, हकप्रद सेयर लगायतका माध्यमबाट चुक्तापुँजी बढाउँदै छन् ।
एनएलजीमा बम्पर हकप्रद
एनएलजी इन्स्योरेन्सले भने हकप्रद सेयर जारी गर्ने भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको बहुमत सेयर स्वामित्व भएको यो कम्पनीमा हकप्रद सेयर हाल्न प्रबद्र्धक राजी भए पनि यही प्रक्रीयाबाट पुँजी बढाउने प्रथास भएको हो । एनएलजीसँग अहिले १ अर्ब ४६ करोड पूँजी छ ।
यो वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दियो भने कम्पनीसँग १ अर्ब ६० करोड पुँजी पुग्छ । त्यसपछि पनि कम्पनीले पुँजी पुर्याउन झण्डै ९० करोड पुँजी थप्नुपर्छ । यसका लागि कम्पनीले करीव १०ः५.६ अनुपातमा हकप्रद सेयर जारी गर्नुपर्ने हुनसक्छ ।