'पोलीसी ट्रयापको मारमा अर्थतन्त्र, सुधारका लागि एउटै बजेट पर्याप्त छैन' - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

‘पोलीसी ट्रयापको मारमा अर्थतन्त्र, सुधारका लागि एउटै बजेट पर्याप्त छैन’



काठमाडौं । विगत लामो समयदेखिको असंगत शासकीय अभ्यासका कारणले नेपाली अर्थतन्त्रमा पोलीसी ट्र्यापमा परेको छ । पुँजीगतभन्दा ऋणको सांवा ब्याज भुक्तानीका लागि धेरै बजेट विनियोजन गर्नुपर्ने, राजस्वभन्दा चालु खर्चको आकार धेरै भएकाले अर्थतन्त्रमा समस्या बहुआयामिक देखिएको विज्ञहरूले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारीले नेपाली अर्थतन्त्र पोलिसी ट्र्यापमा परेको बताएका हुन् । यसको असर आगामी वर्षका लागि आएको बजेटमा प्रष्ट देखिएको उनीहरूको भनाइ छ । बढ्दो चालु खर्च, खुम्चिएको राजस्वका कारणले बजेट घाटा तीव्रत विस्तार हुँदै आएको छ। यो बजेट घाटाका कारणले गर्दा आन्तरिक ऋण बढ्दै जाने र यसले गर्दा फेरि मौद्रिक बजारमा असर गर्ने अधिकारीको भनाइ छ ।

‘अहिले नै २७१ अर्ब बजेट घाटा पुगिसकेको छ । यसको असर आन्तरिक ऋणमा देखिएको छ। आन्तरिक ऋणको तीव्र विस्तारमा यही बजेट घाटाको भूमिका छ । जति धेरै घाटा बढ्छ त्यति ऋण विस्तार हुन्छ। यो वर्षको बाँकी अवधिमा सार्वजनिक खर्चमा विस्तार हुन्छ जसले गर्दा अहिलेको घाटा अझै बढ्ने र ऋणको माग झन बढाउने देखिन्छ’ अधिकारीले भने । न्यून फिस्कल स्पेस तथा संरचागत समस्याबाट उम्किनका लागि ठूलो नीतिगत फड्को आवश्यकता देखिएको र बजेटले यसमा केही कुरा संकेत गरेको उनको भनाइ छ । तर विनियोजनमा त्यसको संकेत नदेखिएको उनको भनाइ छ ।

‘धेरै विरोधाभास छन् भने समस्याहरू जटिल बन्दै गएका छन्। हिजोका नीतिले ट्र्यापमा पर्दै गएका छौं। अहिलेको बजेटले यो कुरालाई महसुस गरेको जस्तो देखिन्छ। तर हुनुपर्ने सुधारको संकेत देखिएको छैन। सायद अर्थमन्त्री ज्यूलाई समय पनि पर्याप्त भएन होला। तर समस्या समाधानका लागि ठूलै नीतिगत सुधारको आवश्यकता देखिन्छ’ उनले भने । नीतिगत सुधार तथा खर्च कटौतिका लागि यो बजेटमा कार्यक्रम आएपनि त्यसको सम्बन्ध विनियोजन तथा अन्य पक्षमा नदेखिएको उनको भनाइ छ। खर्च कटौति गरेको घोषणा गरेको सरकारले पुँजीगत खर्च झन धेरै कटाएको कुराबाट विनियोजनमा कुशलता नदेखिएको उनको भनाइ छ ।

२०६३ सालपछिको शासकीय अभ्यासका कारणले गर्दा अर्थतन्त्र पोलिसी ट्र्यामा परेको र त्यसको असर अहिले झन बढ्दै गएको पूर्वअर्थमन्त्री डा युवराज खतिवडाको भनाइ छ। उत्पादनभन्दा पनि वितरणमूखी कार्यक्रममा प्रतिस्पर्धा भएकाले यस्तो अवस्था आएको उनको भनाइ छ । ‘द्वन्दको समस्या समाधान गर्नका लागि जे गर्दा समाधान हुन्छन् भन्दै गर्दा वितरणमूखी नीतिमा केन्द्रित भयौं। तर उत्पादनमूलक नीति छायामा प¥यो। लोकप्रियताको होड भयो। कतिपय विपतको समयमा लिएका नीतिले पनि समस्या ल्याए। भूकम्पपछिको निर्माणमा ऋण लिएर हामीले अनुदान दिने प्रतिस्पर्धा ग¥यौं र पोलिसी ट्र्यापमा परियो’ उनले भने ।

चालु वर्षको बजेटले सिर्जना गरेका गलत परिणामको भार पनि आगामी वर्षको बजेटमा पर्ने भएकाले अहिलेका अर्थतन्त्रीको सक्दो प्रयास गरेको र आएको बजेटको कुशल कार्यान्वयन गर्नका लागि खतिवडाले शुभकामना दिएका थिए । आर्थिक मन्दीलाई उकास्नका लागि ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने कुरा ठिकै भएपनि यसका लागि आवश्यक लगानी अपुग हुने उनको भनाइ छ। नेपालको आर्थिक प्रणाली आन्तरिक ऋणको ट्र्यापमा पर्दै गएकाले धेरै बन्तरिक ऋण नउठाउन उनले सुझाव पनि दिएका छन् । भत्ता, सवारी नकिन्ने घर नबनाउने जस्ता कुरा लागू हुनेमा आशंका रहेको र चालु वर्षको बजेटबाट कर प्रणालीमा आएको बिचलन सामान्य बनाउने चुनौति अर्थमन्त्रीलाई भएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्