सेयर कारोबार गरेरै आम्दानी गर्ने र मुख्य पेशा बनाउने लगानीकर्ताले आयकर तिर्नुपर्ने अर्थमन्त्रीको प्रष्टिकरण, नेप्से दुई दिनमा ९२ अंक घट्यो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा नियमित कारोबार गर्ने ठूला लगानीकर्तालाई आयकरको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वर्षभरीमा मुस्किलले ५–६ लाख आम्दानी गर्ने जागिरेले आयकर तिर्नुपर्ने, तर सेयरलाई नै पेशा बनाएर करोडौं करोड कमाउनेहरुले आयकर नतिर्ने परिपाटीको अन्त्य गरिने बताए । धनि र ठूला लगानीकर्ताले संगठित रुपमा सेयर बजारलाई प्रभावित पार्ने, राजनीतिक पहुँच बनाएर नीतिगत हस्तक्षेप गर्ने र कम्पनीहरुमा आफूमध्येका प्रतिनिधी पठाएर निर्णय प्रभावित पार्ने गलत अभ्यास मौलाएको प्रति सरकार सजग रहेको जनाउ दिएका छन् ।
‘अहिले ५०–६० लाख लगानीकर्ता खतम भए भनेर तिनीहरुले नै प्रचार गरिरहेका छन्, जो साँच्चै सेयर कारोबारलाई नै व्यवसाय बनाइरहेका छन्’ उनले भने । यसरी नियमित व्यवसाय नै सेयर कारोबारमा निर्भर भएका र आम्दानीको स्रोत नै सेयर बजार बनाएका लगानीकर्ताले आफ्नो हित साँध्न आयकरको दायरामै नआउने बहुसंख्यक लगानीकर्तामा भ्रम छरिरहेको आरोप लगाए । आम नागरिकमाथि दोहन गरेर धनिमानीलाई कर छुट दिने विद्यमान व्यवस्था अन्त्य गर्दै सट्टेबाजीबाट ठूलो आम्दानी गर्नेहरुलाई आयकरको दायरामा ल्याउनु आवस्यक भएको दलिल अर्थमन्त्री महतले प्रस्तुत गरेका छन् ।
मन्त्री महतले नियमति व्यवसाय गर्नेलाई आयकरको दायरामा ल्याउने भने पनि कतिसम्म रकमको कारोबार गर्ने र कति समयान्तरमा कारोबार गर्नेलाई करको दायरामा तान्ने भनेर परिभाषित गर्न बाँकी रहेको बताए । उनले सम्बन्धित निकायलाई त्यसबारे परिभाषित गर्न निर्देशन दिइसकेको भनेका छन् । आर्थिक विधेयक पारित भएपछि त्यसले आयकर ऐनमा भएको व्यवस्थालाई स्वत: संशोधन गर्ने छ । त्यसपछि आयकर नियमावलीमा यस व्यवस्थाको कार्यान्वयन कसरी गर्ने भनेर स्पष्ट पारिने छ ।
आन्तरिक राजस्व विभागले पनि ७ वर्षसम्म घाटा समायोजन गर्न दिने सुविधा सहित प्रस्ताव गरिएको नयाँ व्यवस्थाले करको दायरा बढ्ने र मानिसहरुलाई घाटा समायोजनमा समेत सरलिकरण हुने बताएको छ । तर सेयर बजारलाई नै पेशा बनाएर त्यसैबाट आम्दानी गरिरहेका ठूला लगानीकर्ताले करको दायरामा आउनु पर्ने भएको छ । २०७६/७७ यताकै कर हिसाब गरेर तिर्नुपर्ने भएका कारण गएको बुलरनमा ठूलो आम्दानी गरेका सेयर कारोबारीहरुले लाखौं कर तिर्नुपर्ने अवस्था आउने भएको छ ।
लगानीकर्ता र लगानी गरेरै सेयर विश्लेषक भएकाहरु भने पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने व्यवस्था आयकर ऐनमा भएको बताउँछन् । यही कारण यस अघि पनि एक पटक बजेटमा सेयर लगानीकर्तालाई दोहोरो कर लाग्ने विषय आएपछि अर्थ मन्त्रालयले पत्र लेखेर आयकर नलिन भएको उनीहरु बताउँछन् । त्यसबेला लगानीकर्ताले ठूलो विरोध र राजनीतिक दबाब दिएपछि सरकारले थप अध्ययन गरेपछिमात्रै उक्त व्यवस्थाको कार्यान्वयन गर्नेभन्दै तत्कालका लागि सेयर लगानीकर्ताबाट आयकर नलिन भनेको थियो ।
तर आन्तरिक राजस्व विभागले त्यस व्यवस्थापछि कतिपय करदाताले सेयर बजारबाट भएको आम्दानीको विवरण पनि ‘ट्याक्स फाइल’को रुपमा बुझाएको भनेको छ । त्यसरी विवरण नबुझाएका र कर नतिरेका लगानीकर्ताले अव पुरानो हिसाबसहित कर तिरेमा विगतमा लाग्ने आयकरको ५० प्रतिशत छुट दिने भनेको छ । २०७६ सालअघि भएको सेयर कारोबारबाट प्राप्त आम्दानीमा भने आयकर नलाग्ने आर्थिक विधेयकमा स्पष्ट पारिएको छ ।
तर अर्थमन्त्री यसै व्यवस्थाका कारण आफूमाथि दबाब बढेको र आलोचना भएको बताउँछन् । ‘निस्वार्थ भावमा काम गर्दा आलोचना हुन्छ, ममाथि यही कुरामा आलोचना हुने देखियो’, उनले भने । संघीय बजेटले सेयर बजारलाई प्रभावित पार्ने केही नीति अघि सारेपछि बजारमा यसको नकारात्मक धक्का परेको छ । नयाँ बजेटले नियमित व्यवसायकै रुपमा धितोपत्र, जग्गा वा घरजग्गाको कारोबार गर्ने प्राकृतिक व्यक्तिहरुले आय विवरण त्यसमा लाग्ने कर दाखिला गर्नुपर्ने प्रावधान अघि सारिएको छ । यही कारण बजेटपछिका दुई दिनमा नेप्से ९२ अंक घटिसकेको छ ।
बजेटले सेयर बजारमा नियमित लगानी गर्ने लगानीकर्तालाई आयकर लगाउने भनेपछि ठूला लगानीकर्ता त्रसित भएका छन् । यसबाहेक प्रिमियम मूल्यमा हकप्रद सेयर जारी गरेका र मर्जर वा प्राप्तीमा कमजोर संस्थालाई सस्तो भाउ दिएर नाफा बढाएका कम्पनीले समेत पुरानो हिसाबमा कर दाखिला गर्नुपर्ने व्यवस्था भएको छ । यस्ता व्यवस्थाको लगानीकर्ताले विरोध गरेका छन् भनेर सरकारले यसको प्रतिरक्षा गरिरहेको छ ।
अहिले देशभर हजारौं मानिसहरु सेयर बजार र घरजग्गा कारोबारबाट ठूलो रकम आम्दानी गरिरहेका छन् । पेशा नै सेयर किनबेच गर्ने वा घरजग्गा किनबेच गर्ने र गराउने भएका मानिसको संख्या नेपालमा ठूलो छ । सेयर किनबेच गर्ने व्यक्तिले पुँजीगत लाभकरबाहेक केही तिर्नु पर्दैन । त्यसले कुनै उद्यम नै नगरी सट्टेबाजीबाट करोडौं कमाइ गर्नेको संख्या ठूलै देखिन्छ । हाल सेयर किनबेच गर्दा नाफा भएको रकममा ५ देखि साढे ७ प्रतिशत पुँजीगत लाभकरमात्रै तिर्ने व्यवस्था थियो ।
यही कारण १०–२० जनादेखि सय दुई सयजनाको टोली बनाएर निश्चित कम्पनीका सेयरको भाउ बढाउने र त्यसबाट नाफा लिने गलत परिपाटी बसेको छ । यसो गर्दा ठूलो संख्यामा सोझासीधा लगानीकर्ता फस्ने र बैधानिक बाटोबाटै सम्पत्तीको केन्द्रिकरण चुलिने अवस्था आएको छ । धनि र गरिबबीचको खाडल बढाउन सेयर बजार पनि गज्जबको हतियार बनिरहेको छ ।