३ खर्ब नाघ्यो सरकारको बजेट घाटा, ११ महिना बितिसक्दा पनि पुँजीगत खर्च ४०.६३ प्रतिशत मात्रै
काठमाडौं । सरकारको आम्दानी भन्दा खर्च धेरै अर्थात बजेट ह्वात्तै बढेको । चालु आर्थिक वर्ष २०७९/८० को अन्तिमसम्म आईपुग्दा पनि सरकारको बजेट घाटा झन् चुलिएको छ ।
गत भदौंसम्म नाफामा रहेको चालु आवको बजेट असोजदेखि भने घाटामा जानमा थालेको थियो । तर, हालसम्म आउँदा बजेट घाटाको आकार झनै बढेको हो । महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त चालु आवको असार ३ गतेसम्म आईपुग्दा बजेट घाटा ३ खर्ब नाघेको छ ।
कार्यालयबाट प्राप्त तथ्यांकअनुसार समिक्षा अवधीसम्म सरकारको बजेट घाटा ३ खर्ब ३ करोड ११ लाख रुपैयाँ पुगेको छ ।समिक्षा अवधीमा सरकारले राजश्व, अनुदान, ऋण लगायतका माध्यमबाट ८ खर्ब ८३ अर्ब ५९ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । तर, खर्च भने ११ खर्ब ८६ अर्ब ७१ करोड १४ लाख रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार बजेट घाटा उच्च मात्रामा भएको देखिन्छ ।
गत भदौसम्म सरकारको बजेट २८ अर्ब ६८ करोड ५४ लाख रुपैयाँले नाफामा थियो । त्यस अवधीमा सरकारले १ खर्ब ६३ अर्ब २ करोड रुपैयाँ आम्दानी गर्दा खर्च भने १ खर्ब ३४ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो । तर, असोज मसान्तसम्म आउँदा भने बजेट ४६ अर्ब ३ करोड ९७ लाख रुपैयाँले घाटामा गएको देखिन्छ । त्यो अवधीमा २ खर्ब ३२ अर्ब १२ करोड रुपैयाँ आम्दानी हुदाँ सरकारको खर्च भने २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ पुगेको थियो । त्यसपछि भने बजेट घाटा निरन्तर बढ्दै गएको पनि महालेखाको तथ्यांकले देखाउछ ।
तथ्यांकअनुसार पुस मसान्तसम्म आउँदा बजेट घाटा बढेर ८१ अर्ब ५० करोड १८ लाख रुपैयाँ पुगेको थियो । पुस मसान्तसम्ममा सरकारको आम्दानी ४ खर्ब ९४ अर्ब ८४ करोड रुपैयाँ थियो । तर, खर्च भने ५ खर्ब ७६ अर्ब ३४ करोड रुपैयाँ भएको तथ्यांकमा उल्लेख छ ।
यसैगरि माघ मसान्तसम्म सरकारको बजेट घाटा बढेर १ खर्ब माथि पुगेको थियो । त्यसबेला बजेट घाटा १ खर्ब १३ अर्ब ४२ करोड रुपैयाँ पुगेको तथ्यांकमा देखिन्छ । माघ मसान्तसम्म सरकारको आम्दानी ५ खर्ब ५४ अर्ब २३ करोड रुपैयाँ हुदाँ खर्च भने ६ खर्ब ६७ अर्ब ६५ करोड रुपैयाँ खर्च भएको थियो ।
यस्तै, फागुन मसान्तसम्म आउँदा सरकारको बजेट घाटा १ खर्ब ५६ अर्ब ४४ करोड ८७ लाख रुपैयाँ माथि पुगेको थियो । सरकारले गत माघ १७ गते बिभिन्न शिर्षकको खर्च कटौती गर्ने नीति लागू गरेको थियो । तर, त्यसपछि सरकारको बजेट घाटा झन् बढ्दै गएको तथ्यांकले पुष्टी गरेको छ ।
चैत महिनामा १ खर्ब ५८ अर्ब ८० करोड रुपैयाँ बजेट घाटामा थियो । बैशाखमा २ खर्ब १६ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ र जेठमा बढेर २ खर्ब ५४ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ पुगेको थियो ।
विशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण राजश्व संकलनमा संकुचन आएको छ । आर्थिक संकटका कारण आयात घट्दा, व्यापार व्यवसायमा संकुचन आउँदा लगायतका कारण सरकारको राजश्व संकलन नमज्जाले प्रभावित भएको छ । सरकारले यो बर्ष १२ खर्ब ९५ अर्ब ३७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, ११ महिना बितिसक्दा पनि लक्ष्यको ५८.८३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ ।
यस्तै, ऋण तथा अनुदान, गैर कर आम्दानी पनि लक्ष्यअनुसार हुन सकेको छैन । यसरी लक्ष्यअनुसार आम्दानी नहुदाँ बजेट घाटामा गएको सरकारी अधिकारीहरु बताउछन् । समिक्षा अवधिमा राजश्व बापत ७ खर्ब ६२ अर्ब ३ करोड ३८ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । यस्तै, गैर राजश्व मार्फत ७८ अर्ब १ करोड ९० लाख, अनुदान तथा ऋण मार्फत ४ अर्ब ८० करोड २० लाख रुपैयाँ आम्दानी भएको छ ।
यसैगरि बिविध शिर्षकमा ३८ अर्ब ७४ करोड २५ लाख रुपैयाँ आम्दानी भएको तथ्याङ्कमा उल्लेख छ । समिक्षा अवधीमा सरकारको कुल खर्च ११ खर्ब ८६ अर्ब ७१ करोड १४ लाख रुपैयाँ रहेको छ । पुँजीगत अर्ब भने १ खर्ब ५४ अर्ब ५६ करोड २० लाख रुपैयाँ मात्रै छ । त्यसमा ८ खर्ब ८६ अर्ब ५६ करोड २३ लाख बराबरको चालु खर्च मात्रै रहेको छ । जुन लक्ष्यको ७४.९३ प्रतिशत मात्रै हो ।
चालु आवमा सरकारले ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुँजीगत खर्चको लक्ष्य लिएको थियो । तर, लक्ष्यको ४०.६३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । यस्तै, वित्तिय व्यवस्थापन खर्च १ खर्ब ४५ अर्ब ५८ करोड ७१ लाख रुपैयाँ रहेको छ । यो चालु सरकारले लिएको लक्ष्यको ६३.२४ प्रतिशत मात्रै हो ।













