हिमालयन लाइफको सेयर नेप्सेमा सूचीकृत, बिहीबार कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
साविकको युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ एक आपसमा गाभिएर बनेको हिमालयनको ८ करोड २ लाख ३ हजार ८३६.०२ कित्ता सेयर बुधवार नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको सेयरलाई नेप्सेले एचएलआई स्टककोड प्रदान गरेको छ । यी तीनै वटा कम्पनीहरु १:१ को अनुपातमा एक आपसमा गाभिएका दिए ।
मर्जर प्रयोजनको लागि यी कम्पनीको सेयर कारोबार रोक्का रहेको थियो । तर, बुधवार सेयर सूचीकृतसंगै कम्पनीको सेयर कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।
नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ३४६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । यसकै आधारमा भोलि अर्थात जेठ ७ गते बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन् ।