कर्णाली प्रदेश: जलविद्युत, जल यातायात र पर्यटनको व्यवासायीक सम्भावना, चुनौति कस्ता ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कर्णाली प्रदेश: जलविद्युत, जल यातायात र पर्यटनको व्यवासायीक सम्भावना, चुनौति कस्ता ?



काठमाडौं । कर्णाली अन्य प्रदेशको तुलनामा विकट तथा दुर्गम मानिन्छ । तर, कर्णाली प्रदेशमा जलविद्युत, पर्यटन, जलयातायात, कृषि लगायतका क्षेत्रलाई व्यवसायीक रुपमा अघि बढाउन सक्ने सम्भावना देखिएको छ ।
त्यसले कर्णाली प्रदेशको विकासमा समेत ठुलो योगदान पुर्याउने पनि देखिएको छ ।

नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको आर्थिक गतिविधि सम्बन्धमा गरेको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदन अनुसार कर्णालीमा पर्यटन, कृषि, साना तथा मझौला उद्योग, जल यातायात, जलविद्युतलाई व्यवसायीक रुपमा विकास गर्न सक्ने देखाएको हो ।

कर्णाली प्रदेशमा रारा, शे–फोक्सुण्डो, कुभिण्डे, स्यार्पु, बुलबुले जस्ता सुन्दर तालहरु छन् । साथै, काँक्रेविहार, देउती वज्यै, पञ्चदेवल, पञ्चकोशी ज्वाला क्षेत्र जस्ता धार्मिक तथा साँस्कृतिक महत्वका क्षेत्रहरु पनि त्यहाँ छन् । त्यसलाई सुरक्षित तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरेर आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

कर्णाली प्रदेशमा रहेका ठूला–ठूला नदीनाला तथा खोलाहरु पनि छन् । त्यसबाट आधुनिक प्रविधियुक्त सिँचाई बिस्तार गरी कृषि उत्पादन र उत्पादकत्वमा उल्लेख्य वृद्धि गर्न सकिने सम्भावना पनि देखिएको छ । त्यसमाथि कर्णाली प्रदेशमा प्राङ्गारिक कृषि क्षेत्रको हिस्सा ठूलो रहेको छ । त्यसले गर्दा अर्गानिक कृषिको उच्च सम्भावना रहेको पनि प्रतिवेदनमा उल्लेख छ । साथै, त्यस प्रदेशमा हिमाल, पहाड र भित्री मधेस लगायतका क्षेत्रहरु रहेकाले कृषि तथा पशुपालनमा प्रोत्साहनमुलक कार्यक्रम प्रभावकारी रुपमा संचालन गरेर कृषि तथा पशुपालनमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायिकरण र विविधीकरण गर्न सकिने बताइएको छ ।

स्वदेशमा बढ्दै गरेको कृषि क्षेत्रको प्राविधिक जनशक्तिलाई आधुनिक कृषि प्रणालीसँग आवद्ध गर्दै कृषि उद्यमको विकास गरी रोजगारी वृद्धि गर्न सकिने प्रतिवेदनमा उल्लेछ छ । कर्णालीबाट वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरुलाई व्यवसायिक कृषि, उद्यमशीलता जस्ता क्षेत्रहरुमा खपत गराई कृषि क्षेत्रमा गुणात्मक परिवर्तन गर्न सकिने पनि बताइएको छ । यस प्रदेशमा हिमाली, पहाडी तथा भित्री मधेश लगायत सबै भुगोल रहेकोले यहाँ धान गहुँ, मकै, कोदो, जौ, आलु, व्यवसायिक तरकारी, पशुपालन लगायत फलफूल खेती गर्न सकिने प्रचुर सम्भावना रहेको राष्ट्र बैंकको भनाइ छ ।

उक्त प्रदेश कृषि तथा जडिबुटीजन्य कच्चा पदार्थको भण्डार भएकाले कृषि तथा जडीबुटी सम्बन्धी उद्योग सञ्चालन गरी युवाहरुलाई उद्यमी बनाउँदै रोजगारी सिर्जना गर्न सकिने बताइएको छ । यस प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रहरुमा भेडा, च्याङ्ग्रा र चौंरीपालन व्यवसाय प्रवद्र्धन गर्न सकिने उच्च सम्भावना रहेको छ । यस्ता क्षेत्रमा पशुपालन व्यवसाय प्रवद्र्धन भएमा ऊन, दूध, छुर्पी र मासुको उत्पादन समेत वृद्धि हुने राष्टै बैंकको भनाइ छ । यसका अलावा अन्य पहाडी जिल्लाहरुमा व्यवसायिक बाख्रापालन, गाई/भैंसीपालनको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस प्रदेशको जुम्ला लगायतका हिमाली जिल्लामा व्यवसायिक स्याउ, ओखर खेती तथा अन्य पहाडी जिल्लाहरु सुर्खेत, दैलेख, कालिकोट, सल्यानमा व्यवसायिक सुन्तला, केरा, आँप खेतीको उच्च सम्भावना रहेको बताइएको छ । कर्णाली प्रदेशले पर्यटनको प्रचुर सम्भावना बोकेको हुँदा पर्यटनलाई कृषिसँग जोडेर कृषि पर्यटनलाई प्रवद्र्धन गर्न सकिने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

कर्णालीमा औद्योगिक विस्तारमा पनि सम्भावना देखिएको छ । बिशेषगरि प्रदेशभित्र साना तथा मझौला उद्योगहरुको विकास र बिस्तार गरी यस क्षेत्रको समग्र आर्थिक विकास गर्न सकिने सम्भावना रहेको पतिवेदनमा उल्लेछ ।

कर्णाली प्रदेशमा प्राङ्गारिक कृषि खेतीको प्रचुर सम्भावना रहेकोले कृषि र यससँग सम्बन्धित उद्योगहरुको स्थापना गरी यस प्रदेशलाई प्राङ्गारिक कृषि खेतीको नमुना क्षेत्रको रुपमा विकास गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । साथै, यस प्रदेशमा उर्जामुलक, पर्यटन, खानीजन्य, कृषि तथा पशुपन्छीजन्य, जडिबुटीजन्य र वन पैदावारजन्य उद्योगको प्रचुर सम्भावना छ । त्यस कारण त्यस्ता उद्योगहरुको स्थापना, विकास र बिस्तार गरी उच्च रोजगारी सिर्जना गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

घरेलु, साना तथा मझौला उद्योगहरुको लागत कम गर्दै प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गरी स्थानीय उत्पादन निर्यात गर्न सकिने सम्भावना पनि देखिएको छ । प्रदेशमा औद्योगीकरण मार्फत उद्योग क्षेत्रको विकास र बिस्तार गरी दिगो तथा फराकिलो आर्थिक वृद्धि हाँसिल गर्न सकिने सम्भवना पनि देखिएको छ । साथै, पूर्वाधार विकासमा सरकारको लगानी बढ्दै जानु, प्रदेशमै दक्ष जनशक्ति तयार हुनु र युवाहरु उद्यमशीलताप्रति आकर्षित हुदै जानुले उद्योग क्षेत्रमा उच्च सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

कर्णाली प्रदेशमा देशकै महत्वपूर्ण कर्णाली, भेरी, हिमा, तिला जस्ता नदीहरु रहेका छन् । त्यसबाट जलविद्युत उत्पादनमा पनि प्रचुर सम्भावना देखिएको राष्ट्र बैंको भनाइ छ । अहिले कर्णाली प्रदेशमा १३.०२ मेगावटको मात्रै जलविद्युत आयोजना बनेको छ । त्योअनुसार विद्युत उत्पादनको लागि त्यहाँको जलस्रोतको प्रयोग नै भएको छैन । त्यसले गर्दा कर्णालीमा विद्युत उत्पादनको सम्भावना उच्च रहेको राष्ट्र बैंकको भनाइ छ । साथै, कर्णाली तथा भेरी जस्ता ठूला नदी रहेको यस प्रदेशमा जल यातायातको प्रचुर सम्भावना रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

चुनौति कस्ता ?

अध्ययनले कर्णालीको थुप्रै क्षेत्रलाई व्यवसायीक रुपमा विकास गर्न सकिने देखाएको छ । तर, त्यसका लागि थुपै चुनौती तथा समस्या पनि अध्ययनले पहिचान गरेको छ ।

कठिन भौगोलिक बनावटका कारण त्यहाँ शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार लगायत समग्र आधारभूत तथा पूर्वाधार क्षेत्रको विकास हुन सकेको छैन । तयो अवस्थामा समग्र प्रदेशको आर्थिक तथा सामाजिक उन्नती हासिल गर्न चुनौती हुने बताइएको छ । यस्तै, परम्परागत खेतीमा आधारित निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक, वैज्ञानिक र रोजगारीयुक्त व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गर्न पनि ठुलो चुनौती हुने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, वैदेशिक रोजगारीका लागि भारत तथा खाडी मुलुकमा जाने अधिकांश युवा जनशक्तिलाई प्रदेशमै रोजगारीको अवसर सिर्जना गर्न, बढ्दो गरिबी तथा बेरोजगारीलाई न्यूनिकरण गर्न पनि चुनौती रहेको बताइएको छ ।

यसका अलावा यार्सागुम्बा लगायतका बहुमूल्य जडीबुटीहरुको प्रदेशमै प्रशोधन गरी प्रदेशबाटै उत्पादन, निर्यात तथा बिक्री वितरण गर्न चुनौती देखिएको प्रतिवेदनमा उल्लेख छ । महत्वपूर्ण सम्भावित खनिज पदार्थ तथा पत्थरहरुको उत्खनन् गर्न उद्योगहरुको स्थापना तथा सञ्चालन गर्न पनि चुनौती भएको बताइएको छ ।

विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको व्यवस्था गर्दै स्थापित होटल तथा होमस्टे व्यवसायको गुणस्तर अभिवृद्धिगरी सम्भावित क्षेत्रमा पर्यटक आवागमनलाई निरन्तरता दिने पनि चुनौती रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, हवाई यातायातलाई सुलभ, कम खर्चिलो तथा सहज यातायातको साधनको रुपमा विकास गर्न पनि चुनौती देखिएको प्रतिवेदनमा उल्लेख छ ।

निजी क्षेत्रलाई प्रदेशको हवाई सेवा बिस्तारमा आकर्षित गर्न, प्रदेशका विमान स्थलहरुलाई आर्थिक रुपमा सक्षम बनाउन चुनौती हुने बताइएको छ । यस प्रदेशमा रहेका वर्षैभरि निरन्तर बगिरहने हिम नदिहरुबाट प्रशस्त जलविद्युत उत्पादन गर्न पनि चुनौती हुने प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्