२७ श्रावण २०८३, बुधबार

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम सम्पन्न



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम, २६ जुन २०२३ राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा सोमबार सम्पन्न भएको छ ।

गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरुमा गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयहरु, सुरक्षा निकायहरु, काठमाडौं ललितपुर भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली भृकुटीमण्डप, भद्रकाली हुँदै राष्ट्रिय सभागृहमा आएर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले लागूऔषधसँग सम्बन्धित लेखरचना समेटिएको गृह मन्त्रालयद्वारा प्रकाशित ‘सुरक्षित जीवन’ नामक जर्नल २०औँ संस्करणको विमोचन गर्नुका साथै दिवसलाई सफल पार्न सहयोग गर्ने नेपाल प्रहरी संगीत विद्यालय, सेभ द चिल्ड्रेन, रिकभरि नेपाल लगायतका विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले लागूऔषध दुरूपयोग रोकथाम र नियन्त्रणका विषय बहुसरोकारको विषय भएकोले सम्वद्ध निकायहरूको समन्वय र सहकार्यबाट लागूऔषध उत्पादन, विक्री वितरण, संचय र ओसारपसार नियन्त्रणको साथै उपचार तथा पुनस्थापना, जोखिम न्यूनीकरण, जनचेतनालाई अभियानको रूपमा संचालन गरी तीनै तहको सरकारको नीति कार्यक्रममा मूलप्रवाहीकरण गरी संचालन गर्न आवश्यक रहेको उल्लेख गरे । लागूऔषध अपराध विरूद्ध राष्ट्रिय एक्यवद्धता जुटाउन सबै पक्षबाट इमान्दार प्रयास आवश्यक रहेको उनले चर्चा गरे ।

उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै गृह सचिव दिनेश भट्टराईले लागूऔषध नियन्त्रण र नियमनको मुख्य जिम्मेवारी रहेको गृहमन्त्रालयले जिम्मेवारी निर्वाह गर्न गैरसरकारी संघसंस्था, नागरिक समाज लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै समाजको साझा उद्देश्य प्राप्ती गर्न आफ्ना गतिविधिहरू निर्देशित र केन्द्रीकृत गर्दै आएको बताए । सहसचिव तथा मुख्य औषध नियन्त्रण अधिकारी रूद्रादेवी शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र वस्नेत, एफडिडिआरको तर्फबाट प्रशान्त शर्मा, रिकभरिङ नेपालको तर्फबाट विष्णु फुँयाल र नेसफाडाको तर्फबाट ऋषि ओझाले आ(आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

‘लागूऔषध दुरूपयोग विरुद्धको ऐक्यबद्धताः व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले सङ्गीत प्रस्तुती गरेको थियो भने लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रदर्शनी गरिएको थियो । साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले कविता वाचन तथा नृत्य प्रस्तुती गरेका थिए ।