मधेशमा पनि घट्यो उद्योगको क्षमता उपयोग: रक्सीको सबैभन्दा बढी, सिमेन्ट उद्योगको क्षमता उपयोग शुन्य - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मधेशमा पनि घट्यो उद्योगको क्षमता उपयोग: रक्सीको सबैभन्दा बढी, सिमेन्ट उद्योगको क्षमता उपयोग शुन्य



काठमाडौं । मधेश प्रदेशको उद्योग क्षमता उपयोग पनि घटेको छ । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण मधेशको उद्योग क्षमता उपयोग पनि घटेको छ । मधेश प्रदेश पनि बढी उद्योग हुने प्रदेश मानिन्छ । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण मधेश प्रदेशका उद्योगको पनि क्षमता उपयोग घटेको हो ।

पछिल्लो एक वर्षको अवधीमा मधेश प्रदेशका उद्योगहरुको सञ्चालन क्षमता ५.३६ प्रतिशत विन्दुले घटेको छ । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको आर्थिक गतिविधि सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा मधेश प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ४४.५६ प्रतिशतमा झरेको छ । गत आवको सोही अवधीमा उनीहरुको क्षमता उपयोग ४९.९२ प्रतिशत थियो ।

राष्ट्र बैंकको अध्ययनले कोशी, लुम्बिनी, सुदुरपश्चिम लगायतका अन्य प्रदेशका उद्योगहरुको क्षमता उपयोग पनि घटेको देखाएको छ । त्यो समस्या मधेश प्रदेशमा पनि देखिएको हो । विशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण उद्योगहरु पुर्ण क्षमतामा सञ्चालन हुन नसकेका हुन् ।

यसैपनि नेपालमा पहिलादेखि नै उद्योगहरु पुर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । त्यो अवस्थामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण उनीहरु थप मारमा परेका हुन् । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण आम उपभोक्ताहरुको क्रय शक्ति घटेको छ । त्यसले गर्दा बजारमा बस्तु तथा सेवाको मागमा कमी आएको छ । बस्तु तथा सेवाको मागले उद्योग सञ्चालनमा प्रत्यक्ष सम्बन्ध राख्छन् । त्यो अवस्थामा माग घट्दा उद्योगहरु क्षमताअनुसार चल्न नसकेको विज्ञहरुको भनाई छ ।

साथै, बजारमा माग नभएको बेला उत्पादन बढाउने अवस्था पनि रहदैन । यसैगरि महंगी, उच्च ब्याजदर, विद्युत कटौती लगायतका कारण पनि उद्योगहरुको सञ्चालन प्रभावित भएको छ । समग्रमा पछिल्लो समय देखिएको आर्थिक संकटकै कारण उद्योगहरु क्षमताअनुसार सञ्चालनमा नआएको बताइन्छ ।

कोशी प्रदेशमै भने कच्चा पदार्थको अभाव तथा मूल्य अभिवृद्धिको करणले गर्दा स्थानीय वस्तुको माग भन्दा आयातित वस्तुको माग बढी देखिएको छ । त्यसले गर्दा उद्योगहरूको क्षमता उपयोगमा कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा अवधिमा कोशी प्रदेशमा मदिरा उद्योगले सबैभन्दा क्षमतामा सञ्चालन भएको छ । त्यस्ता उद्योगहरुले ९६.३२ प्रतिशत क्षमता उपयोग गरेको प्रतिवदेनमा उल्लेख छ । तर, वनस्पती घीउ उद्योगको क्षमता उपयोग सबैभन्दा कम ३.८५ प्रतिशत रहेको देखिन्छ । पछिल्ला दिनहरूमा वनस्पति घिउको गार्हस्थ्य तथा औद्योगिक प्रयोग कम हुँदै गएको छ । यसको विकल्पमा भटमासको तेल तथा पाल्म तेलको प्रयोग बढ्दै गएकाले यसको बजार माग घट्दै जाँदा उत्पादन कार्य पनि विस्तारै घट्दै गएको प्रतिवदेनमा उल्लेख छ ।

सिमेन्ट उद्योगको क्षमता उपयोग शुन्य

समिक्षा अवधीमा मधेशमा सिमेन्ट उद्योगको क्षमता उपयोग शुन्य देखिएको छ । पुरानाको स्टकनै सिमेन्ट बाँकी रहेकोले सिमेन्ट उद्योगहरु सञ्चालनमा नआएका प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो समय निर्माण क्षेत्रमा मन्दीमा जाँदा निर्माण गतिविधि भएको छैन । निर्माण सामग्रीको मुल्य बढेको छ । साथै, सरकारले निर्माण क्षेत्रको भुक्तानी दिन सकेको थिएन । त्यसले गर्दा निर्माण गतिविधि कम छ । फलस्वरुप सिमेन्टको माग पनि न्यून छ । त्यसले गर्दा सिमेन्ट उद्योगहरु प्रभावित भएको उद्योगीहरु बताउछन् । गत बर्षको समिक्षा अवधीमा सिमेन्ट उद्योगको क्षमता उपयोग ९८.३० प्रतिशत रहेको थियो ।

कस्ता उद्योगको क्षमता उपयोग कति ?

समीक्षा अवधिमा फलामको छड तथा पत्ति उद्योगले ६४.१३ प्रतिशत, हल्का पेय पदार्थ उद्योगले ३७.२३ प्रतिशत, गहुँको पिठो उद्योगले ९१.६९ प्रतिशत, भटमासको तेल उद्योगले २८.६३ प्रतिशत, साबुन उद्योगले ६३.४३ प्रतिशत क्षमता उपयोग गरेका छन् । यसैगरि आल्मुनियम उत्पादन उद्योगले ७१.२५ प्रतिशत, केमिकल लिक्वीड पदार्थ उद्योगले १६.९१ प्रतिशत क्षमता उपयोग गरेका छन् । यसैगरि घरेलु धातुका सामान उद्योगको क्षमता उपयोग ७१.२५ प्रतिशत रहेको छ ।

साथै, लत्ता कपडा अन्तर्गतको सिन्थेटिक कपडा, अन्न तथा पशु दाना अन्तर्गत पशुदाना, स्टिलजन्य उत्पादन, चामल, धागो, चुरोट, तोरीको तेल, चिनी, प्रशोधित छाला, कागज, ड्राई सिरप र वनस्पती घिउ उद्योगको क्षमता उपयोग क्रमश: ६.६५ प्रतिशत, ३७.८७ प्रतिशत, १३.९० प्रतिशत, ३५.१७ प्रतिशत, २६.७३ प्रतिशत, ११.१९ प्रतिशत, ७८.०३ प्रतिशत, २०.०९ प्रतिशत, १९.३९ प्रतिशत, ४ं.६० प्रतिशत र ३.८५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

औद्योगिक कर्जा वृद्धि १.५० प्रतिशत मात्रै

समिक्षा अवधीमा मधेशमा औद्योगिक कर्जा प्रवाहको बृद्धिदर पनि १.५० प्रतिशत मात्रै देखिएको छ । समिक्षा अवधीसम्म त्यहाँका उद्योगहरुमा कुल १ खर्ब १४ अर्ब २ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह १ खर्ब १२ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ५९.९७ प्रतिशत र सबै भन्दा कम सप्तरी जिल्लामा २.३२ प्रतिशत रहेको छ । मधेश प्रदेशमा सबै भन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकोले कर्जा प्रवाह पनि बढी भएको राष्ट्र बैंकको भनाइ छ ।

मधेशमा प्रवाहित कुल औद्योगिक कर्जामा गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५३.०१ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ २८.९८ प्रतिशत, निर्माण उद्योगतर्फ ७.११ प्रतिशत कर्जा प्रवाह भएको छ । यसैगरि धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादन तर्फ ५.३५ प्रतिशत, विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ ३.९८ प्रतिशत र खानी उद्योगतर्फ १.५७ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

समिक्षा अवधीमा निर्माण उद्योग तर्फको कर्जामा ५० प्रतिशत र धातुका उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स उत्पादन तर्फ २१ प्रतिशतले ह्रास आएको छ । यस्तै, विद्युत् ग्याँस तथा पानी तर्फको कर्जामा ९०.९ प्रतिशत, खानी सम्बन्धी उद्योगमा ४३ प्रतिशत, गैर–खाद्यवस्तु उत्पादनतर्फको कर्जामा ४ प्रतिशतले वृद्धि भएको छ । त्यसै गरी कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी कर्जा प्रवाह गत वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा १५ प्रतिशतले वृद्धि भई ३३ अर्ब ०४ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्