अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुने, सेयर पाउन भाग्य कै भर !
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि अर्थात असार २२ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबार कार्यालयमा बाँडफाँट हुने भएको हो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ जना आवेदकले १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए ।
कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँट गरीनेछ । जसमा ५३ हजार ९५० जना आवेदकले १०।१० कित्ताका दरले आइपीओ प्राप्त गर्नछन् ।
कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरी सकेको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । जसमा १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । यस मध्ये १० प्रतिशत (६५ हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । साथै, ५ प्रतिशत (३२ हजार ५ सय कित्ता) सामूहिक लगानी कोषका लागि र २ प्रतिशत (१३ हजार कित्ता) कर्मचारीलाईलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको थियो ।













