नेपालमा आउने वैदेशिक लगानी प्रतिवद्धता किन घटीरहेको छ ?
काठमाडौं । नेपालमा आउने वैदेशिक लगानी प्रतिवद्धता घटेको छ। विश्वव्यापी रुपमा देखिएको आर्थिक संकटका कारण वैदेशिक लगानी प्रतिवद्धता पनि नमज्जाले प्रभावित भएको हो ।
गत आर्थिक बर्ष २०७९/८० मा नेपालको उद्योगहरुमा आउने वैदेशिक लगानी प्रतिवद्धता २२ प्रतिशतले घटेको छ । उद्योग विभागबाट प्राप्त गत असार मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
विभागका अनुसार अघिल्लो आव २०७८/७९ मा नेपालमा ४९ अर्ब ४३ करोड २७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । तर, गत आव ०७९/८० मा ३८ अर्ब ६६ करोड ९० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी आएको हो । हालसम्मको लगानी प्रतिवद्धता भने ४ खर्ब ५६ अर्ब ३८ करोड १० लाख रुपैयाँ पुगेको छ ।
गत आवमा ३२७ वटा उद्योग तथा कम्पनीमा विदेशी लगानी प्रतिवद्धता आएको हो । १७ हजार १२ जनालाई रोजगारी दिने गरि विदेशी लगानी प्रतिवद्धता आएको हो । समिक्षा बर्षमा साना आकारका २९७, मध्यमा आकारका २५ र ठुला स्केलका ५ कम्पनीमा विदेशी लगानी प्रतिवद्धता आएको हो । त्यसमा सेवा क्षेत्रमा सबै भन्दा धेरै उद्योग रहेका छन् । सेवा क्षेत्रमा १३४ वटा उद्योगले विदेशी लगानी ल्याउने छन् ।
यसैगरि पुर्वाधारमा १०, आईसीटीमा १६, उत्पादनमा २९, उर्जामा १, कृषिमा १, पर्यटनमा १३४ र मिनिरल्समा २ उद्योग तथा कम्पनीले विदेशी लगानी ल्याउने छन् । अघिल्लो आव २०७८/७९ मा २९६ उद्योगले विदेशी लगानी ल्याउने प्रतिवद्धता गरेका थिए । अहिले संख्याको आधारमा वैदेशिक लगानी प्रतिवद्धता ल्याउने उद्योगका बढेका छन् । तर, रकम भने घट्को हो ।
पछिल्लो समय देखिएको विश्वव्यापी संकटका कारण नेपालमा बैदेशिक लगानी प्रतिवद्धता तथा आप्रवाह नै घटेको छ । विश्वका अन्य मुलुकहरुमा पनि बैदेशिक लगानी प्रतिवद्धता घटेको छ । त्यसको असरले लगानी प्रतिवद्धता घटेको हो । कोेराना कालमा घटेको वैदेशिक लगानी प्रतिवद्धता आव ०७८/७९ देखि पुन: बढ्न थालेको थियो । तर, समिक्षा वर्षमा त्यो पुन: घटेको हो ।

नेपालमा आव २०७६/७७ सम्म वैदेशिक लगानी प्रतिवद्धता बढ्दो क्रममै थियो । तर, कोरोना महामारीका कारण आव २०७७/७८ मा भने बैदेशिक लगानी प्रविद्धतामा कमी आएको थियो । त्यसपछि गत आव २०७८/७९ मा वैदेशिक लगानी प्रतिवद्धता पुन: बढ्न थालेको थियो ।
विभागका अनुसार आव २०७६/७७ नेपालमा ३७ अर्ब ८० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । त्यसपछि आव २०७७/७८ मा भने त्यो १५ प्रतिशतले घटेर ३२ अर्ब ७ करोड रुपैयाँमा सिमित भएको थियो । त्यसपछि आव २०७८/७९ मा वैदेशिक लगानी प्रतिवद्धता झन बढेर ५० अर्ब हारहनारी पुगेको थियो । अहिले त्यो ३८ अर्ब रुपैयाँ हारहारीमा सिमित भएको हो । विशेषगरि विश्व आर्थिक मन्दीका कारण वैदेशिक लगानी प्रतिवद्धता घटेको बताइएको छ । कोरोना महामारी, रुस–युक्रेन युद्द, विश्वव्यापी महंगी लगायतका कारण पछिल्लो समय विश्व अर्थतन्त्र नै समस्यामा परेको छ । सोही कारण नेपालमा बैदेशिक लगानी प्रतिवद्धता घटेको अर्थविद् बताउछन् ।
कोरोना महामारीका कारण विश्व अर्थतन्त्र यसैपनि संकुचनमा गएको थियो । कोरोना महामारी लगत्तै रुस–युक्रेनका युद्दका कारण विश्व अर्थतन्त्र थप प्रभावित बन्यो । सोहीका कारण विश्व व्यापी रुपमा महंगी बढ्ने, सप्लाई चेन बिग्रदै जाने समस्या देखियो । फलस्वरुप पछिल्लो समय विश्व अर्थतन्त्र नै अफ्ठ्यारो परिस्थीतिमा छ । त्यो अवस्थामा विदेशमा लगानी गर्दा मुनाफा आउने सम्भावना न्यून भएपछि यस्तो समस्या आएको विज्ञहरु बताउछन् । विश्व आर्थिक मन्दीलाई दृष्टिगत गर्दै अमेरिका लगायतका मुलुकहरुले विदेशमा नभएर आफ्नै देशमा लगानी प्रोत्साहन गर्ने नीति ल्याएका छन् । त्यसको कारण पनि वैदेशिक लगानी प्रतिवद्धता घटेको बताइन्छ ।













