विद्युत् र उपभोगमा बढ्यो बैंकको ऋण, लघुवित्त र अटो डिलरमा भने मन्दी

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरु, अटोमोबिल्स डिलर तथा फ्रेञ्चाइजदेखि घरजग्गा र सेयरमा लगानी गर्न खुलेका कम्पनीहरुमाथि बैंकले दिने कर्जामा भारी गिरावट आएको तथ्यांक प्रकाशित गरेको छ । हालै प्रकाशित गत आर्थिक वर्ष २०७९/८० को तथ्यांकले यस्तो देखाएको हो ।
केन्द्रिय बैंकले विभिन्न १३ शीर्षक र ९२ उपशीर्षकमा क्षेत्रगत कर्जाको तथ्यांक प्रकाशित गर्छ । यसमध्ये सबैभन्दा धेरै कर्जा बृद्धि भने विद्युत् क्षेत्रमा भएको देखिन्छ । गत वर्षमात्रै विद्युत् सेवामा बैंकहरुले ६० अर्बभन्दा धेरै थप कर्जा लगानी गरेका छन् । अघिल्लो सालको असार मसान्तसम्म २ खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ विद्युत् क्षेत्रमा कर्जा लगानी भएकोमा गत असारसम्म आउँदा उक्त कर्जा बढेर २ खर्ब ९९ अर्ब नाघेको छ ।
त्यसपछि उपभोग्य क्षेत्रमा बढी कर्जा प्रवाह भएको देखिएको छ । गत एक आर्थिक वर्षमा थपिएको कर्जामध्ये उपभोग्य क्षेत्रमा पनि बढी नै कर्जा विस्तार भएको देखिन्छ । राष्ट्र बैंकको अभिलाषा अनुसार कर्जा बढ्न नसकेको भए पनि अन्य उपभोग्य कर्जा (सुनचाँदी, क्रेडिटकार्ड, ग्यारेन्टी बण्ड र मुद्दति निक्षेप धितो बाहेक) ४२ अर्ब ४४ करोड हाराहारी थप कर्जा प्रवाह भएको देखिन्छ । ६ खर्ब ९८ अर्ब रहेको यस किसिमको कर्जा गत आर्थिक वर्षमा बढेपछि ७ खर्ब ४१ अर्ब नाघेको छ ।
गत आर्थिक वर्षमा सर्वाधिक कर्जा विस्तार भएका १० क्षेत्र :

खुद्रा ब्यापारमा पनि भारी मात्रामा कर्जा बृद्धि भएको देखिएको छ । वर्षैभरी राष्ट्रिय अर्थतन्त्र संकटग्रस्त हालतमा रहेका बेला पनि खुद्रा व्यवसायमा कर्जा बढ्नुले कर्जाको ‘एभरग्रिनिङ’ भएको हुनसक्ने पनि कतिपयले आँकलन गरेका छन् । यस किसिमको कर्जा ४ खर्ब ५४ अर्बबाट झण्डै ५ प्रतिशत बढेर ४ खर्ब ७७ अर्ब नजिक पुगेको छ ।
सरकारले चिप्सलगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाएका कारण खाद्य उत्पादनको प्रशोधन र प्याकेजिङ क्षेत्रमा पनि कर्जा विस्तार राम्रै भएको देखिन्छ । उत्पादन क्षेत्रमा सर्वाधिक कर्जा विस्तार प्याकेजिङ उद्योगमा भएको देखिन्छ । यसतर्फ ९७ अर्बको कर्जा एकै वर्षमा २० अबैभन्दा धेरै बढेपछि १ खर्ब १७ अर्ब नाघेको छ । सुनचाँदीको धितो र खरीदविक्रीका लागी पनि उच्च मात्रामा कर्जा विस्तार भएको देखिन्छ । राजमार्ग तथा पुलजस्ता बृहत निर्माण क्षेत्र, घरजग्गा र होटेलमा पनि बढी मात्रामा कर्जा थपिएको छ । थोक विक्रेता र पशुपालक फार्महरुले पनि बढी कर्जा प्राप्त गरेका छन् ।
तर लघुवित्त संस्थाहरुले परिचालन गर्ने कर्जामा भने ब्यापक गिरावट आएको छ । गत साल एकातिर आर्थिक गतिविधी सुस्त हुनु र तरलता अभावले ब्याजदर चुलिनु महत्वपूर्ण कारण रह्यो । त्यसमाथि लघुवित्त संस्थाहरुले गरिबमाथि जथाभावि लगानी गरेर घरबास उठाइदिएको भन्दै देशब्यापी विरोध प्रदर्शनहरु भए । लघुवित्तको ऋण नतिर्न सार्वजनिक आह्वान हुन थाल्यो । यसले लघुवित्त संस्थाहरु थप कर्जा परिचालन गर्न असमर्थ बनेको देखिन्छ ।
गत सालसम्म बैंकहरुबाट १ अर्ब ८९ अर्ब कर्जा लघुवित्त संस्थाहरुमा प्रवाह भएको थियो । तर यो साल उक्त रकम १० अर्बभन्दा धेरैले घटेर १ खर्ब ७८ अर्बमा झरेको छ । गरिबहरुलाई आर्थिक उन्नयनमा सघाउने र वित्तीय पहूँच बढाउने भनेर खुबै नीतिगत संरक्षण समेत गरिएको लघुवित्त कार्यक्रम अहिले आएर प्रश्नको घेरामा पुगेको संकेत यो तथ्यांकले पनि गर्छ ।
गत आर्थिक वर्षमा सर्वाधिक कर्जा घटेका १० क्षेत्र :

लघुवित्त संस्थाहरु अधिक नाफा कमाउने दौडधूपमा लाग्दा उनीहरको निर्धारित उद्देश्य भने अन्योलमा परेको धेरैको बुझाई छ । यसपछि सबैभन्दा ठूलो मार अटोमोबाइल डिलर्सहरुले भोगेका छन् । गत साल गाडी तथा मोटरसाइकलको विक्रीमा भारी कमी आउँदा यस क्षेत्रमा कर्जाको विस्तार खुम्चिएको छ । अघिल्लो वर्षसम्म ९५ अर्ब कर्जा प्रवाह भएको यस क्षेत्रमा यो असार मसान्तसम्म आउँदा ८६ अर्बमा सीमित भएको देखिएको छ । लगानीका लागि खोलिएका संस्थाहरु र कतिपय सेवा उद्योगमात्रै होइन, मुद्दति निक्षेपको आधारमा लिइने कर्जा पनि खुम्चिएको छ । आवासीय घर कर्जा पनि भारी मात्रामा कम भएको छ । सार्वजनिक सवारी साधनमा प्रवाह हुने कर्जा पनि घटेको छ । मनोरञ्जन तथा चलचित्र क्षेत्रमा प्रवाह हुने कर्जा, बचत तथा ऋण सहकारीले लिने कर्जा र ट्रक सेवा एवम् भण्डारण व्यवस्थापनका निम्ति प्रवाह हुने कर्जा पनि उल्लेख्य मात्रामा घटेको छ ।
कहाँ गयो बढी कर्जा ?
गत आर्थिक वर्षमा ९२ मध्ये ५३ उपशीर्षकमा प्रवाह भएको कर्जाको आकार अघिल्लो सालभन्दा बढेको छ । ५ उपशीर्षकमा कर्जा प्रवाह भएको छैन भने बाँकी ३६ उपशीर्षकमा प्रवाह भएको कर्जाको आकार खुम्चिएको छ ।
कर्जाको आकारको हिसाबले उपभोग्य कर्जा नै सबैभन्दा धेरै प्रवाह भएको देखिन्छ । गत असारसम्म यस प्रकारको कर्जा ७ खर्ब ४१ अर्ब प्रवाह भएको छ । त्यसपछि खुद्रा व्यापार कर्जामा ४ खर्ब ७७ अर्ब हाराहारी प्रवाह भएको छ । विद्युत् क्षेत्रमा २ खर्ब ९९ अर्ब र ड्युरेबल्सको थोक ब्यापारमा १ खर्ब ८१ अर्बभन्दा धेरै कर्जा प्रवाह भएको छ । लघुवित्त संस्थाहरुमा कर्जा घटे पनि कुल कर्जा आकारका हिसाबले यो क्षेत्र अझै उत्कृष्ट ५ भित्र पर्छ ।
लघुवित्तमा १ खर्ब ७८ अर्ब, होटेलमा १ खर्ब ७५ अर्ब, घरजग्गामा १ खर्ब ६५ अर्ब, कृषिजन्य सेवामा १ खर्ब ६० अर्ब, पशुपालनमा १ खर्ब ५५ अर्ब, फलाम उद्योगमा १ खर्ब ३० अर्ब र सिमेण्ट उद्योगमा पनि १ खर्ब ३० अर्ब नै कर्जा प्रवाह भएको देखिन्छ । नन–ड्युरेबल्सको थोक ब्यापारमा १ खर्ब २० अर्ब, आयात ब्यापारमा १ खर्ब १८ अर्ब र खाद्य उत्पादन (प्रशोधन र प्याकेजिङ)मा १ खर्ब १७ अर्बभन्दा धेरै कर्जा प्रवाह भएको छ ।