‘हकप्रद सेयर’को सुविधामा एक दर्जन बीमा कम्पनी, कसलाई कतिको अनुमति ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले झन्डै एक दर्जन कम्पनीहरूलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको छ ।
प्राधिकरणले विभिन्न चरणमा १० वटा बीमा कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो । त्यसमध्ये जीवन बीमा र निर्जीवन बीमा तर्फ ५/५ वटा गरी १० वटा कम्पनीले हकप्रद सेयर जारी गर्न पाउने भएका छन् ।
हालसम्म लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, सानिमा रिलायन्स, सूर्य ज्योति लाइफ, प्रभु र एशियन लाइफले हकप्रद सेयर जारी गर्न पाउने भएका छन् । निर्जीवन बीमा तर्फ भने एनएलजी, नेको, हिमालयन एभरेष्ट, सानिमा जिआईसी र युनाईटेड अजोडले हकप्रद सेयर जारी गर्न पाउने भएका हुन् ।
हकप्रद सेयर जारी गर्नका लागि एनएलजी इन्स्योरेन्सले गत असार १८ गते प्राधिकरणबाट स्वीकृत पाएको थियो । यता, एलआईसी नेपालले पनि केही समय अघि नै हकप्रद सेयर निष्कासनको स्वीकृति पाइसकेको छ ।
प्राधिकरणले पछिल्लो पटक थप आठ वटा बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति प्रदान गरेको छ । भदौ ६ गतेको प्राधिकरणका निर्णयअनुसार ४/४ वटा जीवन र निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयरको अनुमति दिएको हो ।
प्राधिकरणले बीमकहरुलाई तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन हकप्रद सेयरको सहुलियत दिएको जनाएको छ । प्राधिकरणले जीवन बीमा कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ भने निर्जीवन बीमालाई २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ। तोकिएको पुँजी पुर्याउन अधिकांश कम्पनीहरू मर्जरमा गएका छन् । मर्जरपश्चात् पनि पुँजी अपुग भएका कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिइएको प्राधिकरणले जनाएको छ ।
५ जीवन बीमा कम्पनीलाई १०–८६ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न अनुमति
बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुर्याउन पाँच वटा जीवन बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । प्राधिकरणले सानिमा रिलायन्सलाई २० प्रतिशत, सूर्य ज्योतिलाई १० प्रतिशत, प्रभु महालक्ष्मीलाई १७, एशियनलाई ४२ र एलआईसी नेपाललाई ८६ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।
२० प्रतिशत हकप्रद सेयर जारी गर्न प्राधिकरण स्वीकृति पाएको सानिमा रिलायन्सको हालको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ । सो बराबरको हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड माथि पुग्ने छ ।
यस्तै, सूर्य ज्योति लाइफको पनि हकप्रद सेयर पश्चातको चुक्ता पुँजी ५ अर्ब बढी हुनेछ । हाल कम्पनीको पुँजी ४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ बढी छ । यस्तै, स्वीकृत हकप्रद सेयर जारीपछि प्रभु महालक्ष्मीको चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख पुग्ने देखिन्छ । हाल कम्पनीको यस्तो पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ ।
त्यसैगरि एशियन लाइफ र एलआईसी नेपालको चुक्ता पुँजी क्रमशः ३ अर्ब १५ करोड ५३ लाख र २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । एशियनको ४२ प्रतिशत हकप्रद सेयर पछि ४ अर्ब ४८ करोड ५ लाख र एलआईसीको ८६ प्रतिशत हकप्रद पश्चात् ४ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ पुग्नेछ । तर, यो प्राधिकरणले तोकेको न्यूनतम पुँजी भन्दा कम नै हो । यद्यपि, हकप्रद सेयर जारीपछि पनि नपुगेको पुँजी कम्पनीले बोनस सेयर वितरण गरेर पुर्याउन सक्ने प्राधिकरणले जनाएको छ।
५ निर्जीवन बीमा कम्पनीले १२–६६ प्रतिशतसम्म हकप्रद जारी गर्न पाउने
प्राधिकरणबाट ५ वटा निर्जीवन बीमा कम्पनीले १२ प्रतिशतदेखि ६६ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्ने अनुमति पाएका छन् । निर्जीवन बीमा कम्पनीलाई न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ पुँजी तोकिएको छ । सोही पुँजी पुर्याउन प्राधिकरणले ती कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।
हाल १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ चुक्ता पुँजी भएको एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद सेयर जारी गर्दैछ । हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।
हिमालयन एभरेष्टले पनि १२ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । सो हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५७ करोड ७७ लाख कायम हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख रुपैयाँ छ ।
यस्तै, नेको र सानिमा जिआइसीले २५/२५ प्रतिशत हकप्रद सेयर जारी गर्न पाउने भएका छन् । यी दुई कम्पनीको हाल कायम चुक्ता पुँजी क्रमशः २ अर्ब १ करोड २३ लाख र २ अर्ब रुपैयाँ छ । हकप्रद सेयरपछि नेको पुँजी २ अर्ब ५१ करोड ५४ लाख र सानिमा जिआइसीको २ अर्ब ५० करोड पुग्नेछ ।
पुजी वृद्धिका लागि मर्जरमा गएको युनाईटेड अजोडले पनि ३२ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ छ । हकप्रद सेयरपछि कम्पनीको पुँजी १ अर्ब ९३ करोड ३० लाख रुपैयाँ पुग्नेछ । जुन, प्राधिरकणले तोकेको न्यूनतम पुँजी भन्दा कम हो ।