बागमतीको कब्जामा जीवन बीमा व्यवसायको आधा हिस्सा, सावधिक बीमामा बढ्दो आकर्षण

काठमाडौं । जीवन बीमा व्यवसायको आधा हिस्सा बागमती प्रदेशले ओगटेको छ । कुल व्यवसायको ५१.५५ प्रतिशत हिस्सा बागमतीमा रहेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको पहिलो महिनामा जीवन बीमा कम्पनीहरूले कुल १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । तर, यसको ५१.५५ प्रतिशत हिस्सा भने बागमती प्रदेशले ओगटेको छ ।
समीक्षा महिनामा जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले बागमती प्रदेशबाट १० अर्ब १० करोड ७२ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् । साउनमा जीवन बीमा कम्पनीहरूले कुल १ करोड ४० लाख २१ हजार ५४० वटा बीमालेख बिक्री गरेका छन् । तर, त्यसमा बागमती प्रदेशमा मात्रै ९९ लाख ७२ हजार २४९ वटा बागमती प्रदेशमै बिक्री भएको देखिन्छ ।
व्यवसाय र सक्रिय बीमालेखको सङ्ख्याको आधारमा दोस्रो स्थानमा भने लुम्बिनी प्रदेश रहेको छ । कुल व्यवसायमा लुम्बिनीको हिस्सा १२.६७ प्रतिशत छ । साउनमा कम्पनीहरूले ९ लाख ५९ हजार २३१ वटा बीमालेख लुम्बिनीमा बिक्री गरेका छन् । सो बीमालेख बिक्री गरे बापत २ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।
जीवन बीमा व्यवसायमा कोशी प्रदेशको हिस्सा ११.३३ प्रतिशत छ । कोशीमा कम्पनीहरूले१२ लाख ८८ हजार ५५० वटा बीमालेख बिक्री गरी कुल २ अर्ब २२ करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
साउन महिनामा गण्डकी प्रदेशमा कुल १ अर्ब ८० करोड ४१ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । सो प्रदेशमा कम्पनीहरूले कुल ६ लाख ३२ हजार ५५४ वटा बीमालेख बिक्री गरेका हुन् । जीवन बीमा व्यवसायमा गण्डकीको हिस्सा ९.२० प्रतिशत मात्रै रहेको छ ।
यस्तै, जीवन बीमाको कुल व्यवसायमा मधेस प्रदेशको हिस्सा ७.६२ प्रतिशत, सुदूरपश्चिमको ५.०६ प्रतिशत र कर्णाली प्रदेशको २.५६ प्रतिशत मात्रै हिस्सा छ । गत साउनमा मधेशमा ५ लाख १४ हजार ७७१ वटा बीमालेख बिक्री गरी कम्पनीहरूले १ अर्ब ४९ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यता, सुदूरपश्चिममा भने कम्पनीहरूले ४ लाख ८६ हजार ५४१ वटा बीमालेख बिक्री गरेका छन् । सो बराबरको बीमालेख बिक्री गरी कम्पनीहरूले ९९ करोड २९ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।
त्यसैगरि सबैभन्दा कम कर्णाली प्रदेशबाट ५० करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सो प्रदेशमा कम्पनीहरूले १ लाख ६७ हजार ६४४ वटा बीमालेख बिक्री गरेको देखिएको छ।

सावधिक जीवन बीमामा बीमितको आकर्षण, तीन योजनाको हिस्सा १ प्रतिशत तल
बीमितहरुको आकर्षण सावधिक बीमा योजनामा देखिएको छ। जीवन बीमा कम्पनीहरूले बिक्री गर्ने योजनामध्ये सावधिक जीवन बीमा योजनामा सर्वाधिक आकर्षण देखिएको हो । कम्पनीहरूको कुल व्यवसायमा सावधिक बीमा योजनाको योगदान ४७.१४ प्रतिशत रहेको छ ।
साउनमा सावधिक जीवन बीमा योजना मार्फत कुल ९ अर्ब २४ करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । यस योजना तर्फ कम्पनीहरूले कुल २० लाख २७ हजार ८५६ वटा बीमालेख बिक्री गरेका छन् ।
यस्तै, कुल व्यवसायमा अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाको योगदान २२.१४ प्रतिशत रहेको छ । यस योजना मार्फत कम्पनीहरूले ४ लाख ४७ हजार ११४ वटा बीमालेख बिक्री गरी ४ अर्ब ३४ करोड ९ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन् ।
बालबच्चा सम्बन्धी सावधिक जीवन बीमा योजनाको १३.१२ प्रतिशत मात्रै हिस्सा छ । गत साउनमा यस्तो योजना मार्फत कम्पनीहरूले २ अर्ब ५७ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरूले यस योजनामा ९ लाख ३९ हजार ६३८ वटा बीमालेख बिक्री गरेको देखिएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार रूपान्तरित जीवन बीमाको १२.११ प्रतिशत, आजीवन जीवन बीमाको २.५५ प्रतिशत र वैदेशिक रोजगार म्यादी जीवन बीमा १.२६ प्रतिशत योगदान रहेको छ ।
समीक्षा महिनामा रूपान्तरित योजनामा कम्पनीहरूले ५ लाख २३ हजार ७२३ वटा बीमालेख बिक्री गरी २ अर्ब ३७ करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस्तै, आजीवन जीवन बीमा योजनामा १ लाख ७८ हजार २२ वटा बीमालेख बिक्री गरी ५० करोड ९ लाख रुपैयाँ बीमा शुल्क र वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत १६ लाख ७६ हजार २९६ वटा बीमाले बिक्री गरेर २४ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
तर, तीन बीमा योजनाको योगदान भने १ प्रतिशतभन्दा तल देखिएको छ । लघु जीवन बीमा, म्यादी जीवन र एकल बीमा शुल्क जीवन बीमा योजनाको हिस्सा १ प्रतिशत भन्दा तल नै छ ।
लघु जीवन बीमाको ०.७० प्रतिशत र म्यादी जीवन बीमाको ०.५४ प्रतिशत योगदान रहेको छ । लुघबीमा मार्फत कम्पनीहरूले ३९ लाख ५३ हजार ८६७ बीमालेख बिक्री गरी १३ करोड ६६ लाख, म्यादी जीवन बीमा तर्फ भने ४२ लाख ४४ हजार ५२१ वटा बीमालेख बिक्री गरी १० करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
एकल बीमा शुल्क जीवन बीमा योजनामा सबैभन्दा कम आकर्षण देखिएको छ। यस योजनाको हिस्सा ०.४५ प्रतिशत मात्रै छ । साउनमा यस योजना मार्फत ३० हजार ५०३ बटा बीमालेख बिक्री गरी ८ करोड ७७ लाख रुपैयाँ मात्रै बीमा शुल्क उठेको छ।
